मैले महसुस गरेँ – यदि यस्तो समयमा केवल टिप्पणी मात्र गरेर बसियो भने इतिहासले माफ गर्नेछैन ।
-मनोज बोगटी
आज म औपचारिक रूपमा पत्रकारिताबाट सन्यास लिएको घोषणा गर्दैछु। हालै मात्र जर्नलिष्ट एसोसिएसन अफ कालिम्पोङको अध्यक्ष पदमा निर्वाचित भएको थिएँ, तर सक्रिय राजनीतिमा प्रवेश गर्ने निर्णयसँगै नैतिकताको आधारमा उक्त पदबाट पनि हिजै राजीनामा दिएको छु।
आजदेखि म पत्रकार रहिन। मसित मेरो पत्रकारिताको इतिहास सँधै रहनेछ। र यसलाई पनि म कुनै समय किताबकोरुपमा अवश्य ल्याउनेछु।
पत्रकार बनिबसेर, पत्रकारहरूको एसोसिएसनमा बसिबसेर मैले संस्थागत राजनीति गर्नु हुँदैन। मैले मात्र होइन, कसैले पनि गर्नु हुँदैन।
यसैले नैतिकता र जिम्मेवारीको आधारमा म पत्रकारिता र एसोसिएसन छोडिरहेको छु।
यो सन्यासको निर्णय सहज थिएन।
पत्रकारिता मेरो लागि केवल पेशा थिएन। यो मेरो विश्वास थियो। मेरो संघर्ष थियो। मेरो जनतासँगको सम्बन्ध थियो। मैले पत्रकारितालाई कहिल्यै केवल समाचार लेख्ने कामका रूपमा लिएनँ। मैले यसलाई आवाजविहीनहरूको आवाज बनाउने माध्यमका रूपमा बुझेँ। अन्यायविरुद्ध बोल्ने साहसका रूपमा बुझेँ। सत्ताको अगाडि सत्य बोल्ने जिम्मेवारीका रूपमा बुझेँ।
तर म केवल पत्रकार मात्र थिइनँ। म लेखक पनि हुँ। म कवि पनि हुँ।
मैले हजारौं कविताहरू लेखें – ती कवितामा जनताको पीडा थियो, पहाडको मौनता, सङ्घर्ष र सपना थियो, श्रमिकको पसिना थियो, युवाहरूको बेचैनी थियो, हाम्रो जातिको असुरक्षा थियो। मैले सयौं निबन्धहरू लेखें – ती निबन्धहरूमा हाम्रो अस्तित्वका प्रश्नहरू थिए, हाम्रो राजनीतिक अधिकारका सवालहरू थिए, हाम्रो इतिहासमाथि भइरहेका अन्यायका प्रतिवादहरू थिए।
मेरो लेखन कहिल्यै मनोरञ्जनको लागि मात्र भएन। त्यो सधैं जनताको पक्षमा उभिने एउटा सांस्कृतिक प्रतिरोध थियो।
साहित्यले दिएको मायाका रूपमा मैले युवा अकादमी पुरस्कार प्राप्त गर्ने सौभाग्य पाएँ। त्यो केवल एउटा पुरस्कार थिएन, त्यो पाठकहरूले ममाथि गरेको विश्वास र प्रेमको अभिव्यक्ति थियो। पत्रकारितामा रहँदा सत्ताको प्रचण्ड दबाब, धम्की, मुद्दा र हमलाका बीच पनि मैले आफ्नो शिर ठाडो राख्न सकेँ त्यो मेरो व्यक्तिगत साहस मात्र थिएन – त्यो जनताले दिएको प्रेम र भरोसाको शक्ति थियो।
आज राजनीतिमा प्रवेश गर्दा पनि म त्यही प्रतिबद्धता दोहोऱ्याउन चाहन्छु – म आफ्नो शिर झुकाउने छैन र आफ्नो जातिको शिर पनि झुक्न दिने छैन।
पत्रकारिताको यात्रामा मैले धेरै कुरा देखेँ। मैले सत्ता कसरी काम गर्छ भन्ने देखेँ। मैले जनताको पीडा कसरी दबाइन्छ भन्ने देखेँ। मैले आन्दोलनलाई कसरी बदनाम गरिन्छ भन्ने देखेँ। गोर्खाल्याण्डको व्यापार कसरी हुन्छ भन्ने देखें। नेताहरूको सम्झौतावादी चेत र सत्तालोलुपता देखें। मैले गोर्खा समुदायको पहिचान, अस्तित्व र अधिकारलाई क्रमशः कसरी कमजोर बनाइँदैछ भन्ने आफ्नै आँखाले देखेँ।
सत्य बोलेको कारण मैले कुटाइ खाएँ। धम्की पाएँ। मेरो आवाज दबाउन सत्तामा बस्नेहरूले ममाथि केसै केस लगाए। मलाई डर देखाउने प्रयास गरियो। चुप गराउने प्रयास गरियो। झुकाउने प्रयास गरियो।
तर म डगमगाइनँ।
किनकि म केवल आफ्नो लागि बोलिरहेको थिइनँ। म ती मानिसहरूको लागि बोलिरहेको थिएँ, जसको आवाज कहिल्यै सत्ता र प्रशासनसम्म पुग्दैन। म ती गरीबहरूको लागि बोलिरहेको थिएँ, जसको दुःख समाचार बन्नुअघि नै दबाइन्छ। म ती श्रमिकहरूको लागि बोलिरहेको थिएँ, जसको पसिनाले अर्थतन्त्र चल्छ तर जसको जीवन कहिल्यै बदलिँदैन। म आफ्नो जातिको लागि बोलिरहेको थिएँ, जसको इतिहासलाई बारम्बार अस्वीकार गर्ने प्रयास गरियो। म हाम्रा गोर्खे सन्तानको नाल गाडिएको माटोमाथि बोलें, जसलाई लुट्न सत्ता हरदम तयार थियो।
मैले पत्रकारितामा रहँदा गणतन्त्रलाई केवल संविधानको शब्दका रूपमा होइन, संघर्षले जोगाइरहनुपर्ने चेतनाका रूपमा बुझेँ। जबजब सत्ता अहंकारी बन्यो, जबजब प्रश्न सोध्ने अधिकारमाथि हमला भयो, जबजब जनताको आवाजलाई अपराध बनाइयो, त्यतिबेला मैले आफ्नो ठाउँबाट प्रतिरोध गर्ने प्रयास गरेँ।
तर समयसँगै मैले एउटा कठोर सत्य अनुभव गरेँ – हाम्रो समाजको समस्या केवल गलत सरकार वा गलत नीति मात्र होइन। समस्या त्यो राजनीतिक संस्कृतिमा पनि छ, जसले जनतालाई सधैं कमजोर बनाइराख्न चाहन्छ। आफ्नो स्वार्थको लागि प्रयोग गरिरहन चहान्छ।
आज पनि गरीब मानिस राजनीतिमा केवल भीडका रूपमा प्रयोग हुन्छन्। कमजोर मानिसको आवाज चुनावपछि फेरि हराउँछ। गोर्खाहरूको पहिचानलाई केवल चुनावी भाषणमा सम्झिने र पछि बिर्सिने काम दोहोरिरहन्छ। हाम्रो माटो, हाम्रो भूगोल र हाम्रो अस्तित्वमाथि योजनाबद्ध हस्तक्षेप भइरहेका छन्। हाम्रो चिन्हारी नै मेटाउने षड्यन्त्रहरू भइरहेका छन्।
मैले महसुस गरेँ – यदि यस्तो समयमा केवल टिप्पणी मात्र गरेर बसियो भने इतिहासले माफ गर्नेछैन।
त्यसैले मैले संस्थागत राजनीति रोजेको हुँ।
तर म परम्परागत राजनीति गर्न राजनीतिमा आएको होइन। म कुर्सीको राजनीति गर्न आएको होइन। म लम्पसारवादी राजनीति गर्न आएको होइन। म जनताको नाम बेचेर सत्ता नजिक पुग्ने राजनीति गर्न आएको होइन।
म यस्तो राजनीति निर्माण गर्ने सपना बोकेर आएको हुँ, जहाँ गरीबभन्दा गरीब मानिसले पनि आफ्नो हकको कुरा निर्भीक भएर बोल्न सकोस्। जहाँ कमजोरभन्दा कमजोर नागरिकले पनि प्रश्न गर्न सकोस्। जहाँ राजनीति केही परिवार, केही नेताहरू, केही धनीमानि पैसावाला, केही ठेकेदारहरूको व्यापार मात्र नबनोस्, केही दलहरूको निजी सम्पत्ति नबनोस्।
म यस्तो गणतन्त्रको पक्षमा उभिन चाहन्छु, जहाँ जनता केवल भोटर होइन, वास्तविक मालिक होऊन्। जहाँ जनताले जनता भएर बाँच्न पाऊन्। जहाँ मानिसले डर होइन, स्वतन्त्रताको सास फेर्न पाओस्।
मेरो लक्ष्य अब राजनीतिको गरिमा र चरित्र दुवै बदल्ने पनि हो। हामीले वर्षौंसम्म यस्तो राजनीति देख्यौं, जहाँ सिद्धान्तभन्दा स्वार्थ ठूलो बनाइयो, जनताभन्दा पद ठूलो बनाइयो। अब त्यो राजनीति बदलिनुपर्छ।
म यस्तो राजनीति चाहन्छु, जहाँ गोर्खा समुदायले आफ्नो अस्तित्वको प्रमाण दिनुपर्ने बाध्यता अन्त्य होस्। जहाँ हाम्रो इतिहासलाई सधैं शंकाको आँखाले नहेरियोस्। जहाँ हाम्रो मातृभूमिको भूगोललाई बारम्बार टुक्र्याउने खेल बन्द होस्। जहाँ पहाडका युवाहरूले आफ्नो भविष्य खोज्न सधैं पलायन हुनुपर्ने अवस्था समाप्त होस्।
आज म स्पष्ट रूपमा घोषणा गर्न चाहन्छु – मेरो राजनीति जातिको मुक्तिको राजनीति हुनेछ। आत्मसम्मानको राजनीति हुनेछ। सामाजिक न्यायको राजनीति हुनेछ। जनताको अधिकारको राजनीति हुनेछ।
कतिपयलाई मेरो यो निर्णय सही नलाग्न सक्छ। कतिपयले पत्रकारिता छोडेर राजनीतिमा आउनुलाई आलोचनाको दृष्टिले हेर्न सक्छन्। म सबैको मतको सम्मान गर्दछु।
तर यत्रो वर्ष पत्रकारिता, साहित्य, आन्दोलन र जनताबीच बाँचेर मैले एउटा कुरा गहिरोसँग महसुस गरेको छु – जनताले चाहेकोजस्तो राजनीतिक समाज आफैं बन्दैन। त्यसको लागि कसैले न कसैले पहल गर्नैपर्छ। कसैले न कसैले जोखिम लिनैपर्छ। कसैले न कसैले आफ्नो व्यक्तिगत सहजता त्याग्नैपर्छ।
आज मैले त्यही गरेको हुँ।
म भुइँमान्छे हुँ, यसैले भुइँमान्छेकै लागि राजनीति गर्नेछु। म आम नागरिक हुँ, आम नागरिककै लागि राजनीति गर्नेछु।
यो यात्रा सजिलो हुनेछैन भन्ने मलाई थाहा छ। फेरि मुद्दा लाग्न सक्ला। फेरि हमला हुन सक्ला। फेरि बदनाम गर्ने प्रयास हुन सक्ला। तर मैले पत्रकारितामा रहँदा जस्तै, राजनीतिमा पनि डरभन्दा माथि उठेर उभिने निर्णय गरेको छु।
र एउटा कुरा म स्पष्ट भन्न चाहन्छु – राजनीतिमा लागे पनि मेरो लेखन रोकिने छैन। बरु अझ तिखारिनेछ। मेरो कलम अझ धारिलो हुनेछ। किनकि लेखन मेरो आत्मा हो। कविता मेरो प्रतिरोध हो। शब्दहरू मेरो संघर्षका साक्षी हुन्।
आज म पत्रकारको परिचयभन्दा बाहिर निस्केर जनताको संघर्षको अर्को मोर्चामा उभिएको मात्र हुँ। अब मेरो कलम मात्र होइन, मेरो सम्पूर्ण जीवन नै मेरो जाति, मेरो माटो र जनताको पक्षमा समर्पित हुनेछ।
हो, धेरैले प्रश्न उठाउनु हुनेछ – फेरि अर्को राजनीतिक पार्टी? फेरि अर्को झण्डा? फेरि गोर्खाल्याण्डको नाममा व्यापारी?
हामी यो प्रश्नबाट भाग्न चाहँदैनौं। बरु, हामी स्वीकार गर्छौं – जनतामा आज चिड छ, अविश्वास छ, शंका छ। गोर्खाल्याण्डको नाम उच्चारण हुनेबित्तिकै धेरैको मनमा थकान र तिक्तता पैदा हुन्छ। किनकि दशकौंसम्म यही मुद्दाको नाममा राजनीति भयो, सम्झौता भयो, धोका भयो। जनताको बलिदानलाई पदसँग साटियो। आन्दोलनको भावनालाई कुर्सीसँग साटियो। त्यसैले जनताले शंका गर्नु स्वाभाविक हो। यो मनोविज्ञान कुनै एक दिनमा बनेको होइन, परम्परागत राजनीति र नेतृत्वले वर्षौंसम्म गरेको विश्वासघातले बनाएको हो।
तर अब फेरि पहाड, तराई र डुवर्सलाई त्यही मानसिकता बोकेका, सरकारका उपकरणझैं बनेका, कुनै स्पष्ट विचारधारा नभएका र जनताको पीडाभन्दा सत्ताको सुविधालाई प्राथमिकता दिने शक्तिहरूको हातमा सुम्पिन सकिँदैन।
पचास वर्षको राजनीति पछि पनि यदि हाम्रो अस्तित्व, हाम्रो भूगोल, हाम्रो भाषा र हाम्रो राजनीतिक अधिकार असुरक्षित नै छ भने, हामीले साहसका साथ स्वीकार गर्नुपर्छ -पुरानो राजनीतिक शैली असफल भइसकेको छ।
आज जनताको जीवनमा संकट छ, तर धेरै नेताहरूको अनुहारमा उत्सव देखिन्छ। जनता निराश छन्, तर नेताहरू सत्ताको समीकरणमा व्यस्त छन्। यस्तो राजनीति रहेसम्म हाम्रो भविष्य सुरक्षित हुँदैन। त्यसैले हामीजस्ता युवाहरू राजनीतिमा आउन बाध्य भएका हौं।
हामीले विगतका सबै दलहरूलाई नियाल्यौं। बिस्तारै मुद्दा छोड्दै गएको देख्यौं। संघर्षको भाषाबाट सम्झौताको भाषातिर गएको देख्यौं। गोर्खाल्याण्डको मूल प्रश्नलाई नै असहज विषयजस्तो व्यवहार गरिएको देख्यौं। नेताहरूमा मुद्दाको लागि जुझारू निर्णय, स्पष्ट रणनीति र ऐतिहासिक प्रतिबद्धता हराउँदै गएको देख्यौं।
हिजो राज्य सरकारको कठपुतली बनेका केही दल र नेताहरूले एउटा खतरनाक न्यारेटिभ निर्माण गरे ‘गोर्खाल्याण्ड अब सम्भव छैन’ भन्ने। तर हामीले खोज्यौं, केन्द्र सरकारले कहिले, कहाँ र कसरी गोर्खाल्याण्ड असम्भव छ भनेर औपचारिक रूपमा भनेको छ? हामीले त्यस्तो कुनै स्पष्ट घोषणा र दस्तावेज भेटेनौं।
बरु, हामीले देख्यौं – समस्या मुद्दामा होइन, मुद्दा बोक्ने राजनीतिक इच्छाशक्तिमा छ।
हामीले देख्यौं, केही नेता र बुद्धिजीवीहरू जनतालाई नसोधी सम्झौताको दिशातिर अघि बढिरहेका छन्। भोलि फेरि जनताको बलिदानलाई बंगालभित्रकै अर्को व्यवस्थासँग साट्ने खेल हुन सक्छ भन्ने खतरा हामीले महसुस गऱ्यौं।
हामीले आन्दोलनको इतिहास बिर्सेका छैनौं। यो संघर्ष केवल कुनै परिषद, कुनै प्रशासनिक टुक्रा वा कुनै सीमित व्यवस्थाको लागि भएको थिएन। यो संघर्ष हाम्रो आत्मसम्मानको लागि थियो। हाम्रो पहिचानको लागि थियो। हाम्रो राजनीतिक भविष्यको लागि थियो। सहिदहरूले आफ्नो रगत बंगालभित्रकै कुनै अर्को सम्झौताका लागि बगाएका थिएनन्।
तर आज फेरि धेरै दल र बौद्धिक शक्तिहरू बंगालभित्रकै व्यवस्थालाई अन्तिम सत्यझैं स्वीकार गर्ने दिशातिर दौडिरहेका देखिन्छन्। फेरि पनि सरकारले तयार पारेका शक्तिहरू नै हाम्रा मुद्दाका निर्णायक बन्ने खतरा देखिन्छ। कोही केवल विकासको नारामा अल्झिएका छन्, कोही दिशाहीन विचारधारामा हराइरहेका छन्। भोलि फेरि जिटिएजस्तै कुनै व्यवस्था आयो भने त्यसलाई स्वीकार गर्न तयार नेताहरूको भीड मात्र देखिन्छ। अब भरोसालायक कुनै दल र नेता रहेनन्। यसैले हामीले कम्मर कस्यौं।
हामीले धेरै वर्षसम्म प्रतीक्षा गऱ्यौं- फलानाले पो गर्ला कि, ढिस्काले पो गर्ला कि भनेर। तर अन्ततः हामीले महसुस गऱ्यौं- यदि जनताको पक्षमा नयाँ पहल कसैले गर्दैन भने इतिहास फेरि दोहोरिनेछ।
हामी डरायौं – फेरि पनि सहिदहरूको बलिदानलाई सम्झौतासँग साटिनेछ कि भनेर। फेरि हाम्रो भूगोल टुक्रिनेछ कि भनेर। फेरि हाम्रो भाषा, हाम्रो क्षेत्रीयता, हाम्रो अस्तित्व कमजोर बनाइनेछ कि भनेर।
त्यसैले अब हामी चुप बस्न सकेनौं।
भूमि बचाउन, मुद्दा फत्ते गर्न, जाति बचाउन, भाषा बचाउन, क्षेत्रीयता र क्षेत्रीय आकांक्षाहरू जोगाउन प्रतिबद्ध भएर अगाडि आउनुपर्ने बाध्यता हामीमाथि आएको छ। समयले नै हामीलाई आह्वान गरेको छ – नयाँ युवा बौद्धिक नेतृत्वको राजनीतिक शक्ति निर्माण गर्न।
हामीले निर्णय गरिसकेका छौं। अब पछि हट्ने ठाउँ छैन।
हामी कसैलाई जबरजस्ती बोलाइरहेका छैनौं। यदि हाम्रा कुरा तपाईंलाई सही लाग्छन् भने साथ दिनुहोस्। यदि लाग्दैन भने आज पनि चारैतिर सत्ताका ढोकाहरू खुल्लै छन् – त्यहाँ पस्न सकिन्छ, सुविधा लिन सकिन्छ, मौनताको पुरस्कार पाउन सकिन्छ।
तर हामी त्यो बाटो हिँड्न सक्दैनौं।
हामीलाई फेरि लम्पसारवादी राजनीति गर्नु छैन, र गर्न दिनु पनि छैन।
आज संघर्ष गर्ने सही समय यही हो। केन्द्रमा पनि छुट्टैराज्य दिन सक्ने सरकार छ, राज्यमा पनि राजनीतिक परिस्थिति छ, तर हामीसँग छुट्टैराज्यको प्रश्नलाई इमानदारीपूर्वक बोक्ने शक्ति नै कमजोर बनाइएको छ। यस्तो समयमा हामी फेरि कटौरा बोकेर साना–साना सुविधाको राजनीति गर्न सक्दैनौं। मागिखाने राजनैतिक बाटो हिँड्न सक्दैनौं।
हामी दार्जिलिङको राजनीतिक गरिमा फर्काउन चाहन्छौं। हामी क्षेत्रीयतावाद बचाउन चाहन्छौं। हामी रैथाने संसाधनहरूको मालिक रैथाने जनता नै हुन पाउनुपर्छ भन्ने अधिकारको लडाइँ लड्न चाहन्छौं।
यदि कसैलाई फेरि त्यही पुरानो लम्पसारवादी राजनीति स्वीकार्य छ भने त्यो उहाँहरूको अधिकार हो। तर हामी स्पष्ट भन्न चाहन्छौं – हामीलाई त्यो राजनीति अब स्वीकार्य छैन।
हामी संघर्षको कठिन बाटो रोजिरहेका छौं, किनकि इतिहासले कहिल्यै सजिलो बाटो हिँड्नेहरूलाई होइन, समयको जिम्मेवारी बोक्नेहरूलाई सम्झन्छ।
यसैले समयले बोकाएको जिम्मेवारी काँधमा लिएका हौं।
यो माटोमा जन्मिएका कुनै पनि बौद्धिक, सचेत सन्तान आफू उभेको आधार भूमि नै नष्ट गर्ने दिशामा हिँड्न सक्दैन। यदि कोही सक्छन्, भने उनीहरू हाम्रा होइनन्। जो हाम्रा होइनन्, उनीहरूलाई कसैको केही पर्वाह हुँदैन।
हामी जाति र माटोको पर्वाह गर्नेमा पऱ्यौं र यो जोखिम लियौं।
तपाईँ पनि हामीजस्तै हुनुहुन्छ भने रमिता हेरेर बस्नुहुन्न बरू काँधमा काँध दिनुहुनेछ भन्ने विश्वास हामीलाई छ। किन भने हामीलाई गोर्खा हुनुमा विश्वास छ।
आऔं, एकसाथ हिँडौं।
एउटा भाटा जोसुकैले भाँच्न सक्छन्, हामी बिटा परौं। कसैले केही गर्न सक्दैनन्।
यी बाहेक पनि म व्यक्तिगत रूपमा एउटा कुरा स्पष्ट भन्न चाहन्छु, हिजोसम्म पत्रकारितामा रहँदा मैले सत्ता, संस्था, दल वा नेतृत्व जसको पनि गलत देखेँ, खुलेर आलोचना गरेको छु। कहिलेकाहीँ त्यसकै कारण कुटाइ खाएँ, मुद्दा खेपें, धम्की सहें, तर चुप बसिनँ। किनकि लोकतन्त्रमा प्रश्न उठाउनु अपराध होइन, जिम्मेवारी हो भन्ने विश्वास मैले सधैं बोकेँ।
हामीले पनि आफूलाई आलोचनाभन्दा माथि राख्ने छैनौं। जसरी मैले अरूलाई प्रश्न गरेको थिएँ, भोलि जनताले, युवाहरूले, बुद्धिजीवीहरूले र सञ्चारमाध्यमहरूले हामीलाई पनि त्यही कठोरताका साथ प्रश्न गरून्। हाम्रो गल्तीमा पनि त्यसरी नै खुलेर आलोचना होस्।
किनकि कोही पनि पूर्ण हुँदैन। गल्तीहरू हुन्छन्। तर सबैभन्दा ठूलो गल्ती भनेको आफूलाई गल्तीभन्दा माथि ठान्नु हो।
हामी विश्वास गर्छौं – आन्दोलन, राजनीति र समाज आलोचनाबाट कमजोर हुँदैन, बरु अझ परिपक्व बन्छ। प्रश्नबाट भाग्ने संस्कृतिले तानाशाही जन्माउँछ, तर प्रश्नलाई स्वीकार गर्ने संस्कृतिले गणतन्त्र बलियो बनाउँछ।
त्यसैले हामी यस्तो राजनीतिक संस्कृति निर्माण गर्न चाहन्छौं, जहाँ नेताहरूलाई देवता बनाइँदैन, जहाँ आलोचनालाई दुश्मनी मानिँदैन, जहाँ प्रश्न गर्ने युवालाई दबाइँदैन। बरु, आलोचना र प्रश्नमार्फत आफूलाई निरन्तर सच्याउने, सम्पादन गर्ने र अझ जिम्मेवार बनाउने संस्कृतिलाई स्थापित गरिनेछ।
यदि हामी पनि भोलि जनताबाट टाढा भयौं, मुद्दाबाट विचलित भयौं भने जनताले हामीलाई पनि कठोर रूपमा खबरदारी गर्नुपर्छ। किनकि राजनीति कुनै व्यक्तिको पूजा होइन – जनताको भविष्यप्रतिको उत्तरदायित्व हो।
हाम्रा मुद्दाहरूमा आलोचनात्मक बहस गर्नुहोला। तपाईँहरूले निकाल्नु भएका निचोडहरू सुनाउनु होला। हामी त केवल माध्यम हौं, हामी विचारहरूको एकिकरणमा विश्वास गर्छौं। उपयुक्त विचारको निर्माणमा सबैको बराबरी बौद्धिक लगानी जरुरी छ।
हजुरहरूले सुझाव, दिशा निर्देश र भरोसालाई हामी हमेसा सम्बोधन गर्नेछौं।
आज चाहीँ म सबै पत्रकार साथीहरू, पाठकहरू, साहित्यप्रेमीहरू, शुभेच्छुकहरू र संघर्षमा साथ दिने सम्पूर्ण जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंहरूको प्रेम, विश्वास र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
त्यो शक्ति बनिरहोस्। हाम्रो सामुहिक संघर्ष त अब शुरु भयो।
अब सङ्घर्षमा भेटौंला।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया