आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ को प्रथम पुरस्कार खोटाङका कवि शुभचन्द्र राईले जितेका छन्

काठमाडौं साउन १०– साहित्यिक पत्रकार संघले आयोजना गरेको दोस्रो विश्वव्यापी खुल्ला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ को प्रथम पुरस्कार खोटाङका कवि शुभचन्द्र राईले जितेका छन् समसामयिक विषयमा लेखिएका कविताबीच भएको प्रतियोगितामा मकवानपुरका तुलसी घिमिरे दोस्रो र भरतपुरका परिवेश मुन्द्रे तेस्रो भएका छन्। त्यस्तै सिन्धुलीका रमेश दाहाल र काठमाडौंकी संगीता खरेल उत्कृष्ट दुई कविका रूपमा छनोट भएका छन् ।


वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित निर्णायक समितिले प्रतियोगिताको अन्तिम नतिजा तय गरेको हो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । प्रतियोगितामा प्रथम हुने राईले ३० हजार रुपैयाँ, दोस्रो हुने घिमिरेले २० हजार रुपैयाँ र तेस्रो हुने मुन्द्रेले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट २५ कविलाई समेत प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


विश्वका विभिन्न स्थानबाट प्राप्त १०८ कवितामध्ये उत्कृष्ट २५ कविता यसअघि नै छनोट गरी सार्वजनिक गरिएको थियो। ती कवितामा जागौँ वीर युवा, कवितामा देश, प्रेमका परम गणितहरू, आवाजहरूको विद्रोह, मुखौटाहरूको महोत्सव, बलिदानीहरूको आवाज, गाउँ जाने बाटो, मान्छे हरायो, के गर्व गर्नु छ रु, शून्यहरूको आत्मकथा अनन्तसम्म, फूलकुमारी, भित्तेपात्रोहरू, म र झोला, के म नेपाली होइन र रु, क्षमायाचना, जेनजेड पुस्तासँग प्रकृति र वातावरण संरक्षणका कुरा, मैले कविता लेख्न सकेको छैन, मान्छे एक अनन्त अन्वेषण, परिवर्तन, युवालाई आह्वान, एकलव्यको दोस्रो प्रहार र लग्दै छ वृद्धाश्रम लगायत छन्।


प्रतियोगिताका लागि अमेरिकामा रहेकी समाजसेवी सपना राउतले पुरस्कार रकम प्रायोजन गरेकी हुन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन ४० वर्ष उमेर ननाघेको, कविता समसामयिक विषयमा आधारित र अप्रकाशित हुनुपर्ने सर्त राखिएको थियो। कविता पठाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकिएको थियो। साहित्यिक पत्रकार संघले यसअघि पनि निबन्ध प्रतियोगिता आयोजना गरिसकेको छ। नयाँ पुस्ताका कविलाई लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले नेपाली कविताको समकालीन स्वरलाई विश्वव्यापी रूपमा जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com