आयोजक समितिका अध्यक्ष सन्तवीर थामीका अनुसार पहिलो पुरस्कारका लागि ‘उरमाल’ छनोट गर्नुको प्रमुख आधार कृतिले चियाबगान र त्यहाँको श्रमजीवी जीवनलाई साहित्यिक संवेदनासहित प्रस्तुत गर्नु हो ।
काठमाडौं ३ अक्टोबर । चियाबारीको श्रम, माटोको गन्ध र पहाडे जनजीवनका अनुभूतिलाई आख्यानमा उतारेको छुदेन कविमोको कृति उरमालले पहिलो रसिक पुरस्कार प्राप्त गर्ने भएको छ।
अच्छा राई ‘रसिक’को स्मृतिमा स्थापना गरिएको पुरस्कार आगामी १२ अक्टोबरमा दार्जिलिङमा आयोजना हुने रसिक जयन्ती विशेष समारोहमा प्रदान गरिने आयोजक समितिले जनाएको छ।
दार्जिलिङको सामाजिक जीवन, यहाँको भूगोल र मानिसका अनुभूतिलाई साहित्यमा स्थापित गर्ने रसिकको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रसिक जयन्ती मनाइँदै आएको छ। यही साहित्यिक परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि रसिकको नाममा पुरस्कारसमेत प्रदान गर्न लागिएको हो।
आयोजक समितिका अध्यक्ष सन्तवीर थामीका अनुसार पहिलो पुरस्कारका लागि ‘उरमाल’ छनोट गर्नुको प्रमुख आधार कृतिले चियाबगान र त्यहाँको श्रमजीवी जीवनलाई साहित्यिक संवेदनासहित प्रस्तुत गर्नु हो।
‘उरमाल’ले आफ्नो माटो, समाज र जीवनका अनुभूतिलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरेको छ। पाठकको मनमा लामो समयसम्म बसिरहने यस कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपेको छ,” थामीले पत्रकार सम्मेलनमा बताए।
रसिक जयन्तीको अवसरमा साहित्यकार शरद छेत्रीका कृतिमाथि शोध गरी विद्यावारिधि हासिल गरेका शोधकर्तालाई पनि सम्मान गरिने भएको छ। नेपाली साहित्यमा ४० वटा पुस्तकमार्फत योगदान दिएका छेत्रीका कृतिमाथि भएको अनुसन्धानलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले उक्त निर्णय गरिएको आयोजकले जनाएको छ।
डा. वीणा हाङखिमलाई शरद छेत्रीका खण्डकाव्यमाथि गरिएको शोध तथा डा. नमिता थापालाई उनका मिथक कथामाथि गरिएको शोधका लागि सम्मान गरिनेछ। अन्य दुई शोधकर्तालाई पनि समारोहमा सम्मान गरिने आयोजकले जनाएको छ।
रसिक जयन्ती तथा पुरस्कार वितरण समारोहलाई साहित्य, अनुसन्धान र दार्जिलिङको स्थानीय जीवनसँग जोडिएका सिर्जनालाई सम्मान गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने तयारी भइरहेको आयोजक समितिले जनाएको छ।
पत्रकार सम्मेलनमा सचिव नवीन पी. लिम्बु, सहसचिव शैलीका छेत्री, उपाध्यक्ष रूपेश तामाङ, कोषाध्यक्ष दीपेश प्रधान, हुपेन थामी तथा कार्यकारी सदस्यहरू सचिन्द्र प्रधान र रञ्जु प्रधानलगायतको उपस्थिति थियो .
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

प्रतिक्रिया