यसमा नाम्सामी मानिस र केसामी बाघ दुई फरक अस्तित्वका प्रतीक हुन् । मानिसको बुद्धि, विवेक र सामाजिक चेतना एकातिर छ भने बाघले प्रकृतिसँग जोडिएको आदिम शक्ति, स्वभाव र स्वतन्त्र अस्तित्वको प्रतिनिधित्व गर्छ ।
साउन १०– काठमाडौं । लिम्बू समुदायको मौलिक मुन्धुममा आधारित नाटक केसामी नाम्सामी मुन्धुम’ले मानव जीवन, प्रकृति र मानिसभित्र अन्तर्निहित विभिन्न प्रवृत्तिबीचको द्वन्द्वलाई सांकेतिक रूपमा यहीँ साउन १८ गतेदेखि भदौं १३ गते सम्म मञ्चमा उतार्ने भएको छ। निर्देशक अनिल सुब्बाको निर्देशनमा तयार भइरहेको नाटकले तङ्सिङ तीन दिन तीन रात मुन्धुमको महत्वपूर्ण खण्डलाई समकालीन रंगमञ्चको भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छ।
‘केसामी –नाम्सामी मुन्धुम’लाई केवल मानिस र बाघबीचको संघर्षका रूपमा बुझिँदैन। यसमा नाम्सामी मानिस र केसामी बाघ दुई फरक अस्तित्वका प्रतीक हुन्। मानिसको बुद्धि, विवेक र सामाजिक चेतना एकातिर छ भने बाघले प्रकृतिसँग जोडिएको आदिम शक्ति, स्वभाव र स्वतन्त्र अस्तित्वको प्रतिनिधित्व गर्छ। त्यसैले केसामीलाई केवल नकारात्मक पात्रका रूपमा प्रस्तुत गर्नु यसको मूल सांकेतिकतालाई साँघुरो बनाउनु हुनेछ।
मुन्धुमको कथामा तिगेन्जङ्नाका दुई छोरा केसामी र नाम्सामी आफ्नै प्रकृति र प्रवृत्तिसहित हुर्कन्छन्। नाम्सामी बुद्धि र सत्कर्मको बाटोमा अघि बढ्दै जान्छ भने केसामी आफ्नो स्वभाव र शक्तिको बाटोमा। यही फरक प्रवृत्तिबीचको दूरी विस्तार हुँदै अन्ततः संघर्षमा परिणत हुन्छ। तर यहाँको द्वन्द्व ‘असल मानिस र खराब बाघ’बीचको सरल विभाजन होइन। बरु मानिसले आफ्नो अस्तित्व स्थापित गर्ने क्रममा प्रकृति र आफ्नो आदिम शक्तिसँग कसरी सम्बन्ध बनाउँछ भन्ने गहिरो प्रश्न यस मिथकले उठाउँछ। बाघ आफैँमा खराब होइनस उसको आफ्नै स्वभाव, शक्ति र अस्तित्व छ। संघर्ष त्यसबेला जन्मिन्छ, जब फरक अस्तित्वहरूबीच सहअस्तित्वको सम्भावना कमजोर हुँदै जान्छ ।

निर्देशक अनिल सुब्बाको
कथामा अन्ततः केसामी र नाम्सामीबीच युद्धको अवस्था सिर्जना हुन्छ। युद्धका लागि सिमलको रुखलाई स्थल तोकिन्छ। नौ तला हाँगामाथि धनुकाँणसहित बसेको नाम्सामी र केसामीबीच भीषण संघर्ष हुन्छ। अन्ततः नाम्सामीले केसामीलाई पराजित गर्छ। तर त्यसलाई केवल एउटा पक्षको विजयका रूपमा नलिई एउटा अस्तित्वमाथि अर्को अस्तित्वको विजयपछि उत्पन्न हुने शोक, रिक्तता र मानवीय प्रश्नका रूपमा समेत हेरिएको छ । केसामीको मृत्युमा आमाको शोकले यही भावलाई अझ गहिरो बनाउँछ। आखिर दुवै उनका सन्तान हुन् ।
त्यसैले विजयपछि पनि दुःख बाँकी रहन्छ। सेल्लरी फूल र बाबरी फूलसँग जोडिएको प्रसंगले पनि जीवन, मृत्यु, सम्बन्ध र प्रकृतिबीचको जटिल सम्बन्धलाई सांकेतिक रूपमा उजागर गर्छ । तङ्सिङ अनुष्ठानमा प्रयोग हुने विभिन्न वस्तु र क्रियाले पनि यही अर्थलाई विस्तार गर्छन्। थानमा राखिने नौ तले घुङरिङ सिमलको रुखको प्रतीकका रूपमा आउँछ। मुन्धुम वाचनसँगै गरिने अनुष्ठानिक प्रक्रियाले परिवार र समाजमा रहेको अशान्ति, द्वन्द्व तथा नकारात्मक प्रभावलाई हटाउने भाव बोकेको हुन्छ। मांगेन्ना उठाउने, दशाघरा काट्नेलगायतका प्रक्रियाले मानिस, परिवार र समाजको आत्मिक सन्तुलन पुनःस्थापित गर्ने सांकेतिक अर्थ राख्छन् ।
मुन्धुममा व्यभिचार, आँखाडाही, झैँझगडा र विभाजनजस्ता सामाजिक विकृतिको चर्चा भए पनि यसको मूल भाव मानिसभित्रको सत्य–असत्य, सत्कर्म–कुकर्म, विवेक–आदिम प्रवृत्ति र प्रकृति–मानव सम्बन्धको सूक्ष्म अध्ययनमा भेटिन्छ। त्यसैले ‘नाम्सामी–केसामी मुन्धुम’ एउटा पुरानो मिथकको पुनर्कथन मात्रै नभई आजको समाजलाई हेर्ने सांकेतिक ऐना बन्न खोजेको छ । निर्देशक अनिल सुब्बाले यही मिथकीय संसारलाई रंगमञ्चमा उतार्दा अनुष्ठान, विम्ब र प्रतीकलाई विशेष महत्व दिएका छन्। नाटकमा प्रयोग हुने प्रतीकात्मक संरचना, अनुष्ठानिक क्रिया र मुन्धुम वाचनले दर्शकलाई कथा सुनाउने मात्र नभई मिथकभित्र लुकेका अनेक अर्थ खोज्ने ठाउँसमेत दिने अपेक्षा गरिएको छ ।

नाट्य रुपान्तकार-यासेली योङहाङ
मिथक आफैँमा एउटै अर्थमा सीमित हुँदैन। चौबाटोमा उभिएको शालिकझैँ यसलाई हेर्ने कोण अनेक हुन्छन्। त्यही बहुअर्थी सम्भावनालाई रंगमञ्चमा उतार्दै ‘नाम्सामी–केसामी मुन्धुम’ले लिम्बू मुन्धुमको सांस्कृतिक स्मृति, प्रकृतिसँगको सम्बन्ध र मानिसभित्रको अन्तरद्वन्द्वलाई नयाँ मञ्चीय भाषामा प्रस्तुत गर्न खोजेको छ। नाटकप्रति उत्साह व्यक्त गर्दै अनिल सुब्बाले “तङ्सिङ उठाउने । काम गर्न साह्रै मन परेको भन्दै यसका मिथकीय विम्ब र प्रतीकप्रति आफ्नो उत्साह व्यक्त गरेका छन्। त्यस्तै यासेली योङहाङ तुम्याहाङले अनुष्ठानलाई मञ्चमा हेर्न आफू आतुर रहेको बताएका छन् ।
एक थिएटर नेपाल सँग जोडिएको यो प्रस्तुति लिम्बू मुन्धुमको अनुष्ठानिक सौन्दर्य र मिथकीय चेतनालाई समकालीन रंगमञ्चमा पुनःअर्थ्याउने प्रयास हो। जहाँ केसामी र नाम्सामी बीचको द्वन्द्व केवल दुई पात्रको संघर्ष होइन मानिस र प्रकृति, विवेक र स्वभाव तथा अस्तित्व र सहअस्तित्वबीच चलिरहने अनन्त संवाद रूपमा मञ्चमा देखिनेछ ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

प्रतिक्रिया