डुवर्सबाट नेपाली गीत–संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउन प्रधानले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको समितिले जनाएको छ ।
११ भदौं काठमाडौं। नेपाली गीत–सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा गीतकार पुष्पन प्रधान ‘डुवर्स गौरव सम्मान–२०२६’ बाट सम्मानित हुने भएका छन् ।
डुवर्स नेपाली साहित्य विकास समितिले जुरीबाट छनोट भएको नाम अनुमोदन गर्दै प्रधानलाई यस वर्षको सम्मान प्रदान गर्ने निर्णय गरेको हो। समितिका मूलसचिव रविन खवासद्वारा जारी विज्ञप्तिअनुसार आगामी ६ सेप्टेम्बरमा सामसिङमा आयोजना हुने विशेष समारोहमा प्रधानलाई सम्मान प्रदान गरिनेछ। सम्मानमा अङ्गवस्त्र, प्रशस्तिपत्र र नगद राशि रहने जनाइएको छ ।
डुवर्सका कवि अनन्त श्रेष्ठले आफ्नी आमा कृष्णमाया श्रेष्ठको स्मृतिमा स्थापना गरेको ‘कृष्णमाया श्रेष्ठ स्मृति केन्द्र’ले यो सम्मान प्रायोजन गर्दै आएको छ। डुवर्स नेपाली साहित्य विकास समितिको मातहतमा प्रदान हुँदै आएको यो सम्मान सन् २०२३ बाट सुरु भएको हो। यसअघि इतिहासकार सोनाम बी। वाङ्गेल, गायक इन्द्जीत मिजार र साहित्यकार बिर्ख खड्का डुवर्सेली सम्मानित भइसकेका छन् ।
डुवर्सको चिलाउने चियाकमानमा जन्मिएका प्रधानले नेपाली संगीतमा लामो संघर्षपछि आफ्नो स्थान बनाएका हुन्। सन् २००३ मा ‘मन’ एल्बममार्फत संगीत यात्राको सुरुवात गरेका उनले त्यसपछि ‘बचन भो’, ‘भरजन्म घासतिर’, ‘आह्वान’ र ‘ईन्दुरे मिन्दुरे’ लगायतका एल्बममार्फत दर्शक तथा श्रोतामाझ आफ्नो प्रभाव विस्तार गरे ।
‘एउटा सपना छ’, ‘तिमीलाई हेर्ने बानी पऱ्यो’, ‘पंक्षी’, ‘बाबुको जुङ्गो’, ‘गुनासो छैन कसैलाई’, ‘म तिम्रै हुँ’, ‘सानी’, ‘भरजन्म घाँसतिर’, ‘ए बुढा बा’, ‘साया’ र ‘धिन धिना’ लगायत उनका गीत नेपाली भाषी श्रोतामाझ चर्चित छन्। गायनसँगै उनी गीत लेखन र संगीत सिर्जनामा पनि सक्रिय छन् ।

पुष्पन प्रधान
प्रधानले नेपाल र भारतका विभिन्न सांगीतिक तथा चलचित्र परियोजनामा काम गरिसकेका छन्। ‘जिन्दगी रक्स’, ‘समर लभ’, ‘सरौतो’, ‘ए मेरो हजुर–२’, ‘हनी–बनी’ र ‘धागो’ लगायत चलचित्रमा पार्श्वगायक, गीतकार तथा संगीतकारका रूपमा उनको योगदान रहेको छ ।
बानिका प्रधान, अञ्जु पन्त, मेलिना राई, रचना रिमाल तथा एलिना चौहानलगायतका चर्चित गायिकासँग उनले युगल गीतसमेत प्रस्तुत गरेका छन्। उनी विभिन्न गायन प्रतियोगिता तथा सांगीतिक कार्यक्रमका निर्णायकका रूपमा समेत आबद्ध हुँदै आएका छन् ।
संगीत क्षेत्रको यात्रासँगै प्रधानले आफ्नो जन्मथलो र समुदायसँगको सम्बन्धलाई पनि निरन्तरता दिँदै आएका छन्। चिलाउने चियाबगानमा उनले ‘गुरु छहारी’ तथा ‘श्री वृन्दावन म्युजिक स्टुडियो’ स्थापना गरेका छन्। त्यहाँ स्थानीय बालबालिकालाई ध्यान, संगीत, चित्रकला र मातृभाषालगायतका विषयमा सिकाइँदै आएको छ ।
डुवर्सबाट नेपाली गीत–संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउन प्रधानले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको समितिले जनाएको छ। समितिका अध्यक्ष अबीर खालिङले प्रधानलाई डुवर्सको वास्तविक गौरवका रूपमा उल्लेख गर्दै उनको संगीतप्रतिको निरन्तर समर्पणले नेपाली गीत–संगीतलाई थप उचाइ दिएको बताएका छन् ।
प्रकाशित मिति: ११ भदौ २०८३, बिहिबार

प्रतिक्रिया