काठमाडौँ । याक्थुङ् चलचित्रको समालोचना लेखनलाई व्यवस्थित, प्राज्ञिक र वैचारिक बनाउन याक्थुङ् मुन्चइत चोक सयङ्ले ‘याक्थुङ् सिनेमा क्रिटिसिजम राइटिङ’ तालिम सञ्चालन गरिरहेको छ । गत २०८३ साल असोज १ गतेदेखि जुम अनलाइनमार्फत सञ्चालन भइरहेको तालिम आगामी मङ्सिर १ गतेसम्म चल्नेछ ।
तालिममा वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बालगायतले सहजीकरण गरिरहेका छन् । चलचित्र क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका, अध्ययन–अनुसन्धानमा संलग्न तथा चलचित्रसम्बन्धी लेखन र पत्रकारितामा सक्रिय व्यक्तिहरू तालिममा सहभागी छन् ।
तालिममा डा. मधुराज केरुङ, प्राध्यापक कर्णहाङ सुब्बा, सिर्जना मेन्याङ्बो सुब्बा, युन्छोक ताम्लिङ, प्राज्ञ यासेली योङ्हाङ, एमफिल स्कलर इन्दु फोम्बो, बसन्ता सम्बाहाम्फे, सागर केरुङ, स्वप्निल स्मृति, देवेन्द्र खापुङ, अतित योङ्हाङ, सेसेफुङ सेर्मा, लाल अन्जान सम्बाहाम्फे, वनेम विक्रम फागो, सन्देश सुब्बा, कविता सुब्बा, सुनुहाङमा सुब्बा, सुनिल सेर्मा, बालिका मादेन, बुद्धिदास पन्धाक, भीमसेन योङ्हाङ र अमित थेबे गरी २२ जना सहभागी छन् ।
तालिमको मुख्य उद्देश्य सहभागीलाई याक्थुङ् चलचित्रको सौन्दर्य, कथ्य, भाषा, संस्कृति, इतिहास, मुन्धुम, समाज र समकालीन सन्दर्भलाई आधार बनाएर आलोचनात्मक तथा प्राज्ञिक ढङ्गले चलचित्र समालोचना लेख्न दक्ष बनाउनु रहेको आयोजकले जनाएको छ ।
तालिम सम्पन्न भएपछि सहभागी २२ जना समालोचकले २२ भन्दा बढी याक्थुङ् अर्थात् लिम्बू चलचित्रको समालोचना लेख्नेछन् । ती समालोचनालाई सङ्ग्रहका रूपमा प्रकाशन गर्ने तयारीसमेत याक्थुङ् मुन्चइत चोक सयङ्ले गरेको छ ।
याक्थुङ् चलचित्र निर्माणलाई व्यवस्थित, प्राज्ञिक तथा वैचारिक बनाउन र विश्व चलचित्र बजारसँग प्रतिस्पर्धा गर्न सक्ने आधार निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सयङ्ले जनाएको छ । चलचित्र निर्माणसँगै त्यसको गम्भीर अध्ययन, विश्लेषण र समालोचनाको परम्परा विकास गर्न आवश्यक रहेको आयोजकको भनाइ छ ।
शुक्रबारको अनलाइन कक्षामा वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बाले सहजीकरण गरेका थिए । उनले विश्व चलचित्र बजारमा याक्थुङ् चलचित्रको गतिलो उपस्थिति हुन सक्ने प्रशस्त सम्भावना रहेको बताए । याक्थुङ् चलचित्रमा आफ्नै मौलिक भाषा, संस्कृति, समाज, इतिहास र जीवनदर्शन भएकाले त्यसलाई सिर्जनात्मक तथा प्राज्ञिक ढङ्गले विश्वसामु प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।
याक्थुङ् चलचित्र क्षेत्रमा पछिल्लो समय निर्माणको सङ्ख्यासँगै विषयवस्तु, शैली र प्रस्तुतीकरणमा समेत विविधता देखिन थालेको छ । यस्तो अवस्थामा चलचित्र निर्माणसँगै त्यसको अध्ययन, अभिलेखीकरण, आलोचना र विमर्शलाई पनि समान रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको आयोजकको भनाइ छ ।
याक्थुङ् चलचित्रको व्यवस्थित समालोचना लेखनको अभ्यासले चलचित्रकर्मी, अध्येता, लेखक, पत्रकार र दर्शकबीच चलचित्रसम्बन्धी गम्भीर बहसको वातावरण निर्माण गर्ने तथा याक्थुङ् चलचित्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र विमर्शसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

प्रतिक्रिया