बसन्त सम्बाहाम्फेले वि.सं. २०७७ मा पालामसम्बन्धी विषयमा स्नातकोत्तर तहको अनुसन्धान गरेकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेकी उनी फेसन डिजाइनमा समेत स्नातक हुन्। ललितपुरस्थित निर्वाण कलेजकी पूर्वप्राध्यापक सम्बाहाम्फेले विभिन्न जर्नल, पुस्तक तथा पत्रपत्रिकाको सम्पादनसमेत गरेकी छन् ।

२० असोज २०८३, काठमाडौं । याक्थुङ–लिम्बू समुदायको मौखिक परम्परा, लोकसाहित्य र सांस्कृतिक जीवनको महत्वपूर्ण पक्ष मानिने ‘पालाम’माथि केन्द्रित अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) सार्वजनिक भएको छ।

लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा बिहीबार अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा मुन्धुमविद् तथा वरिष्ठ साहित्यकार येहाङ लावतीले कृतिको विमोचन गरे।

कृतिमाथि प्राज्ञ यासेली योङहाङले लिम्बू भाषामा तथा साहित्यकार एवं चलचित्रकर्मी सागर केरुङले नेपाली भाषामा समीक्षा गरेका थिए। कार्यक्रममा साहित्यकार, भाषाविद्, प्राज्ञ, कलाकार, पत्रकार तथा याक्थुङ–लिम्बू समुदायका प्रतिनिधिको उपस्थिति थियो।

लेखिका बसन्त सम्बाहाम्फेले पालामलाई प्रेम वा मनोरञ्जनका लागि गाइने लोकगीतमा मात्र सीमित नगरी लोकछन्द, लोकलय, प्रस्तुति–परम्परा र सांस्कृतिक अभिव्यक्तिको विशिष्ट विधाका रूपमा अध्ययन गरेकी छन्। कृतिमा पालामको परिभाषा, संरचना, तत्त्व, स्वरूप, प्रकार, सौन्दर्यशास्त्र तथा सैद्धान्तिक आधारलाई अनुसन्धानपरक ढङ्गले प्रस्तुत गरिएको छ।

सम्बाहाम्फेले वि.सं. २०७७ मा पालामसम्बन्धी विषयमा स्नातकोत्तर तहको अनुसन्धान गरेकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेकी उनी फेसन डिजाइनमा समेत स्नातक हुन्। ललितपुरस्थित निर्वाण कलेजकी पूर्वप्राध्यापक सम्बाहाम्फेले विभिन्न जर्नल, पुस्तक तथा पत्रपत्रिकाको सम्पादनसमेत गरेकी छन्।

उनले वि.सं. २०६६ मा कुटुम्बसँग सहकार्य गर्दै ‘निसिम सिगाङ्बा मिक्वाहा’ पालामको अभिलेखीकरण गरेकी थिइन्। ‘नादङ’, ‘तुम्दङ’, ‘फुङ्वामा’, ‘थिबोङ्तुक हिङ्मन’, ‘मिक्वा चुरुरु’ र ‘लुङ्वा तरेबे’ लगायतका पालाम तथा म्युजिक भिडियोमा समेत उनको प्रस्तुति रहेको छ।

कृतिमा पालामलाई सामूहिक स्मृति, भू–स्मृति, भावनात्मक चेतना, सौन्दर्यबोध, सामाजिक सम्बन्ध, मौखिक ज्ञान–परम्परा र सांस्कृतिक दर्शनका रूपमा समेत व्याख्या गरिएको छ। यसले याक्थुङ लोकसाहित्यको अध्ययन तथा अध्यापनका लागि आधार तयार गर्ने लेखकको अपेक्षा छ।

समीक्षक सागर केरुङले कृति लिम्बू भाषा विषयको स्नातक तथा स्नातकोत्तर तहको अध्ययन–अध्यापनका लागि उपयोगी हुने बताए। उनका अनुसार पालामलाई याक्थुङ सौन्दर्यशास्त्र र विश्वदृष्टिकोणसँग जोडेर हेर्न आवश्यक छ।

केरुङले याक्थुङ सौन्दर्यशास्त्रका आधारका रूपमा समग्रता, सम्पूर्णता, सामुदायिकता, सह–अस्तित्व र स्वाभिमानलाई लिन सकिने बताए। पालामले संसारलाई हेर्ने र बुझ्ने याक्थुङ दृष्टिकोणलाई समेत अभिव्यक्त गर्ने उनको भनाइ थियो।

उनले पालामले मानव, प्रकृति, भू–स्मृति, समुदाय, पूर्वज र संस्कृतिबीचको अन्तरसम्बन्धलाई अभिव्यक्त गर्ने उल्लेख गरे। उनका अनुसार पालाम संवाद, सम्बन्ध, प्रेम, स्मृति, प्रकृति र सामुदायिक सहभागितामा जीवन्त रहने सांस्कृतिक माध्यम हो।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले कृतिको महत्त्वबारे धारणा राखेका थिए। सम्बाहाम्फे उत्थान संघका उपाध्यक्ष धिरेन्द्र सम्बाहाम्फे, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति राजेन्द्र कुमार जबेगु ‘हाङ्वासाङ’, संघीय सांसद सचिवालयकी सहसचिव बबिता मिश्र, लोकवार्ताविद् तथा समालोचक प्रा. डा. कुलराज निरौला, नेपाल आदिवासी जनजाति महासंघका संघीय महासचिव बिमल सारु मगर र किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङलगायतले शुभकामना तथा धारणा व्यक्त गरेका थिए।

प्रमुख अतिथि येहाङ लावतीले याक्थुङ–लिम्बू समाजको मौखिक ज्ञान, संस्कृति र परम्परालाई अध्ययन तथा अनुसन्धानमार्फत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पुस्तक प्रकाशक प्रितिका सम्बाहाम्फे र प्रितम बेघालाई धन्यवादपत्र प्रदान गरिएको थियो। पुस्तकको डिजाइन गरेका विवस हेल्लोक लिम्बूलाई समेत सम्मानसहित धन्यवादपत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन मादेनले जानकारी दिए। उनका अनुसार हेल्लोकले हालसम्म सयौं लिम्बू भाषाका कृतिको डिजाइन गरिसकेका छन्।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com