
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी छात्रा प्राथमिक विद्यालयमा भएको आक्रमणको जिम्मा लिन अस्वीकार गरेका छन् । मिनाब शहरमा भएको बम आक्रमणमा १७५ जनाको मृत्यु भएको थियो । यसमध्ये अधिकांश बालबालिका थिए । उनले इरानले आफैं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरे ।
जबकी एपी, सीएनएन, न्यूयोर्क टाइम्स र वाशिंगटन पोस्टले स्याटेलाइन तस्बिर र अन्य दृश्य प्रमाणहरूको विश्लेषण गर्दै अमेरिकी सेनाले बम खसालेको निष्कर्ष निकालेका थिए । अमेरिकाले २८ फेब्रुअरीमा यस विद्यालयनजिक रहेको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सको अखडामा बमबारी गरेको थियो । त्यसक्रममा छात्रा प्राथमिक विद्यालय पनि ध्वस्त भएको थियो ।
स्कुलमा भएको हमलाको लागि अमेरिका जिम्मेवार छ की छैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मेरो विचारमा, मैले देखेको प्रमाणको आधारमा, त्यो इरानले गरेको हो ।’ त्यसपछि एक पत्रकारले अमेरिकी युद्ध मामिलासम्बन्धी पिट हेग्सेथलाई सोधे, ‘के यो सत्य हो, त्यो इरानले गरेको थियो ?’ हेग्सेथले भने, ‘हामी यसको अनुसन्धान गरिरहेका छौं,’ उनले थपे, ‘नागरिकहरूलाई लक्षित गर्ने एक मात्र पक्ष इरान हो ।’
बिहीबार, रोयटर्सले २ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि अमेरिकी सैन्य अनुसन्धानकर्ताहरूले मिनाबको स्कुलमा भएको हमलाको लागि अमेरिकी सेना जिम्मेवार भएको विश्वास गर्छन् । अनुसन्धान जारी रहेकोले कुनै अन्तिम निष्कर्षमा पुग्न नसकेको रोयटर्समा उल्लेख छ । संयुक्त राष्ट्र संघले उक्त आक्रमणलाई ‘बालबालिका, शिक्षा र सम्पूर्ण समुदायको भविष्यमाथिको गम्भीर आक्रमण’ भनेर निन्दा गरेको छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया