लस एन्जलस (भेराइटी) । अमेरिकी गायिका टेलर स्विफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच आफ्नो पहिचान सुरक्षित गर्न नयाँ कानुनी कदम चालेकी छन् ।

उनले अभिनेता म्याथ्यु म्याककोनाहेको बाटो पछ्याउँदै यस्तो पहल गरेकी हुन् । अप्रिल २४ मा स्विफ्टको कम्पनीले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा तीनवटा ट्रेडमार्कका लागि आवेदन दिएको छ ।

तीमध्ये दुईवटा ध्वनिसम्बन्धी ट्रेडमार्क हुन्, जसमा ‘हे, इट्स टेलर स्विफ्ट’ र “हे, इट्स टेलर’ जस्ता वाक्यांश समावेश छन्, जुन उनको आवाजसँग सम्बन्धित छन् ।

तेस्रो आवेदन दृश्य (भिजुअल) ट्रेडमार्कसँग सम्बन्धित छ । यसमा गुलाबी गितार बोकेकी, बहुरंगी चम्किलो पोशाक र चाँदी रंगका बुट लगाएकी स्विफ्टको तस्बिर समावेश गरिएको छ, जहाँ उनी गुलाबी मञ्चमा उभिएकी देखिन्छिन् र पछाडि बहुरंगी माइक्रोफोन तथा बैजनी बत्ती देखिन्छ ।

यी आवेदन स्विफ्टको ‘टिएएस राइट्स म्यानेजमेन्ट’ का तर्फबाट दर्ता गरिएका हुन् । बौद्धिक सम्पत्ति सम्बन्धी कानुनका वकिल जोश गर्बेनका अनुसार मनोरञ्जन क्षेत्रमा एआईले कलाकारको आवाज र छविलाई बिना अनुमति प्रयोग गर्न सक्ने जोखिम बढेपछि यस्तो चिन्ता देखिएको हो ।

परम्परागत रूपमा ट्रेडमार्कले व्यक्तिको सामान्य आवाज, अनुहार वा व्यक्तित्वलाई जोगाउने उद्देश्य राख्दैन । तर म्याककोनाहेको कानुनी टोलीले अपनाएको रणनीतिअनुसार यस्तो ट्रेडमार्कले एआईबाट हुने दुरुपयोगविरुद्ध थप कानुनी आधार दिन सक्छ ।

पछिल्लो समय स्विफ्टको छवि विभिन्न एआई सामग्रीमा बिना अनुमति प्रयोग भएको देखिएको छ । सामाजिक सञ्जालका च्याटबोटदेखि अश्लील तस्बिरसम्ममा उनको नक्कली प्रयोग भएको थियो । सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावअघि डोनाल्ड ट्रम्पले समेत एआईबाट बनाइएका केही तस्बिर सार्वजनिक गरेका थिए, जसले स्विफ्टले उनलाई समर्थन गरेको जस्तो देखाइएको थियो ।

यसअघि म्याककोनाहेका वकिलले पनि यस्तै प्रकारका ट्रेडमार्क सुरक्षित गरिसकेका छन् । सन् २०२५ मा उनलाई आठवटा ट्रेडमार्क दिइएको थियो, जसमा ‘अलराइट, अलराइट, अलराइट !’ भन्ने उनको चर्चित संवाद पनि समावेश छ, जुन उनले सन् १९९३ को चलचित्र ‘डेज्ड एन्ड कन्फ्युज्ड’ मा बोलेका थिए ।

कानुनविद्का अनुसार यस्तो ‘आफैलाई ट्रेडमार्क गर्ने’ रणनीतिले एआईले कसैको अनुहार वा आवाज प्रयोग गरेर नाफा कमाउन खोजेमा त्यसविरुद्ध कडा कारबाही गर्न सहयोग पुर्‍याउन सक्छ । यस्ता मुद्दा संघीय अदालतमा दायर गर्न सकिने भएकाले यसको प्रभाव देशभर लागू हुन सक्छ ।

यद्यपि एआई सन्दर्भमा यस्तो रणनीति अदालतमा पूर्ण रूपमा परीक्षण भइसकेको छैन । तर सिद्धान्ततः यसले एआई प्लेटफर्मविरुद्ध सामग्री हटाउन दबाब दिन सक्ने देखिन्छ । उदाहरणका लागि, सन् २०२५ मा डिज्नीले गुगललाई एआईमार्फत आफ्ना पात्रहरूको दुरुपयोग भएको भन्दै चेतावनी दिएको थियो, जसपछि विवादित सामग्री हटाइएको थियो ।

यसैबीच, स्विफ्टविरुद्ध अर्को कानुनी विवाद पनि सुरु भएको छ । लस भेगासकी कलाकार मारेन वेडले स्विफ्टको सन् २०२५ को एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ले आफ्नो पुरानो ‘कन्फेसन्स अफ अ शो गर्ल’ ट्रेडमार्क उल्लंघन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी छन् ।

अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयले यसअघि स्विफ्टको आवेदनमा सम्भावित भ्रम हुने भन्दै अस्वीकारसमेत गरेको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com