पाँचथर – पाँचथरको फिदिमस्थित होटल सरगमको सभाहलमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा ‘याक्थुङ साहित्यको सिन्थेसिस’ शीर्षकको ऐतिहासिक साहित्यिक महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरियो । लक्ष्मीकुमार सेर्माको मुन्धुम ग्रन्थ ‘युमा?साम्माङ–थेबा?साम्माङ थान्छिङमा मुन्धुम’, नरेन्द्रराज केरुङको कविता सङ्ग्रह ‘चो?लुङबा लाङगाङहा’, भीम कुरुम्बाङको ‘थाङबेन्’, पुष्पहाङ लोवाको ‘मिराक्को केभेक्पा फुङ’, योगी एल.वि. नेम्बाङको निबन्ध ‘मुयेङ केएप्पा याप्मिहा’, मचिन्द्र लोवा ‘सेमी’को गजल ‘पक्कन्दी’ तथा सागर केरुङका बहुआयामिक कृतिहरू ‘मुन्चइत्–हेन्जिला, मुक्सी नु परिक्हा’, ‘थङ’, ‘सिलाम्साक्मा’, ‘आबु साम्लो–हेन्जिला, मुक्सी नु परिक्हा’, ‘याक्थुङ पाङ–पाङवाइला’ र बालगीत सङ्ग्रह ‘फुङ’ सार्वजनिक गरिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङले सामूहिक लोकार्पण गर्दै मातृभाषा साहित्यले इतिहास, अस्तित्व र सांस्कृतिक स्मृतिलाई जीवन्त राख्ने बताए । कार्यक्रमलाई भाषा–संस्कृति संरक्षण र मातृभाषा साहित्य पुनर्जागरणसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिइएको छ ।
प्रकाशन अभियानमा बबिता फोम्बो, राजु तुम्बापो, पवित्रा लावती तुम्बापो, अमृता जबेगु, निमा तामाङ, डिल्ली लोवा, चन्द्रकला साँवा, संगीता सेरेङ, बद्रीप्रसाद सेनेहाङ, कमला केरुङ, देवमान आङबो र रुकमान केरुङलगायतको योगदान रहेको छ । यस्तै किरात याक्थुङ चुम्लुङका माल्टा, बेल्जियम, पोर्तुगल, जर्मनी शाखा, नेपाल किरात समावेशी सेवा समाज रोमानिया तथा सुक्खिम याक्थुङ मुन्चइत चोक सयङको पनि सहयोग रहेको छ ।
वक्ताहरूले विश्वव्यापीकरणबीच मातृभाषा र मुन्धुम संरक्षण चुनौतीपूर्ण बनेको भन्दै यो अभियानलाई सांस्कृतिक आन्दोलनका रूपमा व्याख्या गरेका छन् । कुलपति राजेन्द्रकुमार जबेगुले सागर केरुङको पहलमा २०८२ सालमा प्रकाशन अभियान सफल भएको बताए । कार्यक्रमलाई याक्थुङ साहित्यिक आन्दोलनको नयाँ अध्यायका रूपमा लिइएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

प्रतिक्रिया