काठमाडौँ । याक्थुङ समुदायको भाषा, पहिचान र सामाजिक जीवनलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘मिम्लेन फुङ’को विशेष प्रदर्शन हुने भएको छ । आगामी २०८३ साल जेठ १६ गते चलचित्र विकास बोर्ड, चावहिल, काठमाडौँमा उक्त चलचित्र प्रदर्शन गरिनेछ ।

आइतबार कोटेश्वरस्थित पूर्वेली भान्साघरमा आयोजित कार्यक्रममा ‘पोस्टर सार्वजनिक’ गर्दै निर्माण पक्षले प्रदर्शनको औपचारिक घोषणा गरेको हो । चलचित्र प्रदर्शन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा फिल्मसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।

याक्थुङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक रणवीर लिम्बू (रवी सेर्मा) हुन् । याक्थुङ समुदायको मौलिक जीवनशैली, भाषा र सांस्कृतिक पहिचानलाई आदिम स्वरूपमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘मिम्लेन फुङ’को कथा आशाराज बोखिमले लेखेका हुन् ।

चलचित्रको छायाङ्कन ताप्लेजुङ जिल्लाका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा लगायतका प्राकृतिक तथा सांस्कृतिक रूपमा समृद्ध स्थानहरूमा गरिएको छ । ती क्षेत्रहरू केवल छायाङ्कनका लागि चयन गरिएका स्थल मात्र नभई याक्थुङ समुदायको जीवित सांस्कृतिक स्मृतिसँग जोडिएका महत्वपूर्ण भूगोलसमेत हुन् । गाउँका कच्ची भिरालो बाटो, पाखापखेराका खेत, यालाङ–केलाङजस्ता सांस्कृतिक अभ्यास हुने चौर तथा परम्परागत घरसंरचनाले चलचित्रको मौलिकता र कलात्मकता अझ सुदृढ बनाएको निर्देशक सेर्माले बताएका छन् ।

चलचित्रमा जीवन केदेम, हरिमाया मादेन, रेन्सा आङखेवालगायत कलाकारहरूको अभिनय रहेको छ । गीततर्फ सुवर्ण नेम्बाङका शब्द तथा आशाराज बोखिम र मनु नेम्बाङको स्वर समावेश गरिएको छ ।

निर्देशक सेर्माका अनुसार चलचित्रलाई उक्त दिन बिहान ११ बजे, दिउँसो २ बजे र अपराह्न ४ बजे गरी तीन चरणमा प्रदर्शन गरिनेछ ।

यसैबीच, वरिष्ठ सल्लाहकार यासेली योङहाङको अध्यक्षतामा बसेको बैठकले चलचित्र ‘मिम्लेन फुङ’को सफल प्रदर्शनका लागि आयोजक समिति गठन गरेको छ ।

समितिमा निर्देशक रवी सेर्मा संयोजक रहेका छन् भने अर्थ संयोजकमा रत्ना लिङदेन लावती र सचिवमा अर्जुन मादेन चयन भएका छन् । सदस्यहरूमा मनु थक्लुङ, शनि लिम्बू, लोकेन साँवा, बिमला इवारम, सिता तुम्खेवा, राम तिलिङ, नितुरानी नेम्बाङ, तारा थेबे, याम नेयोङ, जेपी नेम्बाङ र इन्द्र शेर्पा रहेका छन् । यसैगरी, सल्लाहकारमा यासेली योङहाङ र मनु नेम्बाङ रहेका छन् ।

भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=SAQfRf7-W3o

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com