६- बैशाख काठमाडौं– ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।
गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) द्वारा आयोजित ‘एनसिएम डे–२०८२’ का अवसरमा राईलाई उनको पछिल्लो कृति ‘सिमयोन सिम्फोनी’ का लागि पुरस्कृत गरिएको हो। देशभर र विदेशबाट प्राप्त नेपाली भाषी स्रष्टाहरूका कृतिमध्येबाट उत्कृष्ट ठहरिएका राईले पुरस्कार स्वरूप नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेका छन्।
पुरस्कार ग्रहण गर्दै कवि राईले सिक्किमको माटोमा घाँसदाउरा गर्दागर्दै कविता लेख्न सिकेको स्मरण गर्दै सीमानापारि आएर यो सम्मान पाउँदा थप जिम्मेवारीबोध भएको बताए।
यस वर्षको पुरस्कारका लागि अन्तिम ४ को सूचीमा उमेश अवस्थी आदर्शको ‘सन्ध्यामा सूर्य’, सबिना राईको ‘घामको जरा’ र दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ मनोनयनमा परेका थिए। गत वर्ष यो पुरस्कार युवा कवि सिजन श्रेष्ठको कृति ‘हावामा अल्झिएको स्वर’ ले प्राप्त गरेको थियो।
स्व. क्षेत्रप्रताप अधिकारीको साहित्यिक योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रोत्साहित गर्न यो पुरस्कार स्थापना गरिएको संयोजक अमनप्रताप अधिकारीले जानकारी दिए।
पुरस्कारका लागि ३५ वर्षभन्दा कम उमेरका कवि र २०८१ फागुन १ देखि २०८२ फागुन १ सम्म प्रकाशित कृतिहरूलाई समावेश गरिएको थियो। ललितपुरको धोबीघाटस्थित कलेज प्राङ्गणमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति र बाक्लो उपस्थितिबीच सम्पन्न उक्त कार्यक्रमले साहित्यिक माहोललाई उत्सवमय बनाएको थियो।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

प्रतिक्रिया