काठमाडौँ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रको केबलकार परियोजनामा खटाइएका सशस्त्र र जनपथ प्रहरीलाई फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन्। उनले प्रहरी मुख्यालयलाई परियोजनास्थलमा तैनाथ सुरक्षाकर्मी हटाउन भनेका हुन्। पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरुको सेवामा खटिने फेदीको चौकी भने यथावत रहनेछ।
केबलकार परियोजनाका सञ्चालक चन्द्र ढकालले अघिल्लो सरकारसँग समन्वय गरेर खटाएका सुरक्षाकर्मी भने अब फिर्ता हुने भएका छन्। पाथीभरा जस्तो धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्रमा जबरजस्ती केबलकार निर्माण गर्न खोजिएको भन्दै स्थानीय किरात समुदायले लामो समयदेखि विरोध गर्दै आएका छन्।
अघिल्लो सरकारको समयमा परियोजना अघि बढाउने क्रममा प्रहरी परिचालन गरी स्थानीयमाथि गोली चलाइएको घटनाले थप विवाद सिर्जना गरेको थियो। नयाँ सरकार गठन भएसँगै उक्त घटनाको छानबिन हुने र पीडितले न्याय पाउने अपेक्षा स्थानीयले गरेका छन्। निर्वाचनअघि पाथीभरा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहसँग स्थानीयले जंगल फँडानीको विषयमा गुनासो गरेका थिए। पछिल्लो समय वन फँडानीका लागि फर्जी कागजात प्रयोग गरिएको आशंका पनि उठेको छ।
गृह मन्त्रालयमा पीडितहरुसँग भेटपछि मन्त्री गुरुङले तत्काल कदम चाल्दै सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएका हुन्। साथै, गोलीकाण्ड र वन फँडानी सम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न स्थानीयले माग दोहोर्याएका छन्।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया