यो कविता कृतिको आत्मा जस्तै छ। सडक भनेको केवल बाटो होइन-जीवन, इतिहास, आन्दोलन, साक्षी र हिंसाको संग्रहालय हो।

अर्जुन शर्मा निरौला


गीतखोला-कालेबुङ

समय अनुसार हरेक पुस्ताले आफ्नै समयको आवाज खोज्छ । कहिले त्यो आवाज मौन रहन्छ, कहिले  बिस्फोट भएर "विद्रोहका  आवाजहरू " जन्मन्छन्। कवि प्रेम शर्मा ‘एकान्तप्रेमी’ को दोस्रो कृति ‘विद्रोहका आवाजहरू’ त्यही मौनताको भित्तामा बज्रिएको चोटिलो प्रहार हो। जहाँ कविका शब्दहरू केवल पंक्तिमा मात्र सीमित छैनन् तर सधैं दबाइएका तप्काका मान्छेहरूको पीडा,वेदना  र  आक्रोश विष्फोट भएका छ।

कभरमा प्रयोग गरिएको रातो र कालो रंगले प्रतीकात्मक रूपमा पुस्तकको भावनात्मक संरचना झल्काउँछ जहाॅ रातो रक्त, आगो, विद्रोह र प्रतिरोधको रंग हो । कालो रङ्ग अँध्यारो, विभेद, अन्याय र निरन्तर पीडित व्यक्तिहरूको आत्मको आवाज हो भन्ने लागेको छ। यी दुई रंगको संयोजन अनि कृतिको नामले नै कृति पढ्नु अघावै पाठकले कृतिभित्र के कस्ता सामग्री छन् भन्ने संकेत पाउॅनेछ ।कृति पढ्नु हतार गर्नेछन्।

कविता शब्दहरूका  थुप्रो होइनन्, कविता कविका  मनका अनुभूति हुन् । विद्रोहका आवाज केवल भाव होइन तर विद्रोहको  शंखनाद  हो  । प्रेम शर्मा ‘एकान्तप्रेमी’ले आफ्ना  कविताहरूमा भुक्तभोगीका भाषा असाध्यै स्पष्ट रूपमा  उजागर  गरेका छन्। भारत देश, पश्चिम बङ्गाल राज्य कालेबुङ जिल्लामा जन्मिएका तथा  उनका  वासभूमि  वरिपरिका दैनिक जीवन भोगाई, शहर र गाउले परिवेश, मजदुरवर्ग, राजनैतिक सत्ता अनि सडकका आवाजसँग चिरपरिचित छन् । पुस्तकमा लेखिएका  उनका  विभिन्न कविताहरू एक  क्रान्तिकारी  कविका  आँखामा  अटाॅएका प्रत्यक्ष साक्षी र एक भुक्तभोगीका भोगाइधारी कवितारूपी  दस्तावेज हो ।

यस कृतिमा रहेका कविताहरू मझौले छन् तर भावनात्मक घनत्व अत्यन्त गहिरो छ। कविताहरू विषयगत रूपमा यथार्थवादी साहित्यसँग जोडिएका छन् जहाॅ पृथ्वी, चन्द्रमा, प्रकृतिक सौन्दर्य , प्रेम प्रसंग वा कल्पनाभन्दा केही बेग्लै परिपाठीमा लेखिएका यी कविताहरूभित्र कविले संघर्ष, भोक र नागरिकहरूको आवाज यस कृतिको केन्द्रबिन्दु वा विशेषता हुन्। उनका कृतिले कविताको बेग्लै उचाई कायम गरेको छ। उनका केही कविताहरूलाई सयसर्ती हेरौॅ:
१/हल्लो दिल्ली!म दार्जीलिङ बोल्दैछु।

आज गोर्खाले
तिम्रो देश मागेको छैन
तिम्रो भेष मागेको छैन
मागेको छ त केवल
छुट्टै सपना, छुट्टै संस्कृति
हेल्लो दिल्ली! म दार्जीलिङ बोल्दैछु।
(पन्ना संख्या- २६-२७-२८)

यो कविता दार्जिलिङको आवाज र पहिचानलाई केन्द्र सरकार अर्थात् ‘दिल्ली’समक्ष प्रस्तुत गरिएको एउटा साहित्यिक घोषणा हो। कवितामा दार्जिलिङले आफ्नो सुन्दरता र समृद्ध संस्कृतिको गर्व बोल्छ, तर त्यससँगै इतिहासभरि भोगिएको उपेक्षा, अधिकारको अभाव र अन्यायको पीडा पनि स्पष्ट रूपमा उजागर हुन्छ। ‘हैलो दिल्ली!’ भन्ने संबोधन दोहोरिँदा कविता एउटा विन्तीभन्दा बढी प्रतिवाद र चेतनाको स्वरमा रूपान्तरण हुन्छ। यसले दार्जिलिङ केवल पर्यटकीय गन्तव्य होइन, आत्मगौरव, पहिचान र अधिकार माग्ने समुदाय भएको सन्देश दिन्छ। अन्ततः, कविता दार्जिलिङको आवाजलाई राष्ट्रको केन्द्रमा सुन्न र स्वीकार्न माग गर्ने एक शक्तिशाली अभिव्यक्ति बनेर उभिन्छ।

२/ ‘सडकको आवाज’ —
धनी गरिब, सुखी- दुखीको आवाज
हरेक दिन यही सडकमा गुञ्जिन्छ ।
फूलैफूलको फूलबारीमा
रङ्गिन बनी रमाउॅछ सडक।
कहिले खुनको होली खेल्दै
चित्कार र कोलाहलमा रमाउॅछ सडक
(सडकको आवाज-पाना संख्या- ६२-६३)

यो कविता कृतिको आत्मा जस्तै छ। सडक भनेको केवल बाटो होइन-जीवन, इतिहास, आन्दोलन, साक्षी र हिंसाको संग्रहालय हो।

कविताले एउटा तथ्य खोतल्छ जहाॅ सडक तटस्थ छैन। यहाँ न्याय खोज्नेहरू पनि हुन्छन्, न्याय चोर्नेहरू पनि भेटिन्छन्।
जुलुस, संघर्ष ,हत्या ,बलात्कार र राम्रा-नराम्रा क्रियाकलापको निम्ति सडक एउटा खुला मञ्च हो।

३/ कविता “कलम”

“कलम” कविता एउटा साधारण वस्तुको वर्णन होइन,
यो साक्षरताको प्रतीक, परिवर्तनको माध्यम र प्रतिरोधको हतियार हो।
कविता एक प्रश्नबाट सुरु हुन्छ,

कलम तैॅले मान्छेको औंलाबीच चेपिएर
नचेप्टिएको अनि नचोइटिको
एउटा निक्खुर भाग्य लेख्नुपर्छ अब
बुझिस्?
(कलम-पन्ना संख्या-३५)

कविले यहाँ कलमलाई व्यक्तित्व (Personification) दिएका छन्।
कलम अब मौन रहने वस्तु होइन, भाग्य लेख्ने शक्ति भएको पात्र हो।
कविता भन्छ,
कलमले शक्ति, सम्पत्ति, पद र प्रभाविमा मात्र होइन, पीडित, उत्पीडित र मौन वर्गको भाग्य पनि लेख्नुपर्छ।
“कलम” कविता केवल एक साहित्यिक अभिव्यक्ति होइन,
यो घोषणा-पत्र, चेतावनी र निम्तो हो।
दुनियाँ बदल्ने शक्ति कलमसँगै छ तर यो कलम तटस्थ बस्न छुट छैन।
यो चल्नैपर्छ, अन्यायविरुद्ध र मानवताको पक्षमा।

४/चियाको बोट

चियाको बोटमा पसिनाको
सुगन्ध मिसिएको छ
अनि
उसलाई टिपेको चियापत्ती
फ्रान्स पुग्छ
जर्मनी पुग्छ
सिङ्गापुर पुग्छ
तर
उसका सपनाहरू कहिले पूरा हुॅदैनन्।
(पन्ना संख्या- ११६)

यो कविता चियाको बोटमार्फत दार्जिलिङको पहिचान, इतिहास र श्रमको कथा बोलिएका छन्। कवितामा चियाको बोट केवल एउटा बोट होइन, दार्जिलिङको अर्थतन्त्र, पहाडी जनजीवन र मेहनतको प्रतीक बनेर उभिन्छ। नयाँ दिनसँगै चियाको बोटले वर्षौंदेखि श्रमिकहरूको पसिना, घाम-पानी र धैर्यलाई आत्मसात गर्दै आएको छ। चियाबारीमा काम गर्ने श्रमिक, महिलाहरूको पसिना र संघर्षबाट बनेको चिया विश्वभर प्रसिद्ध छ, तर उनीहरूको जीवन भने अझै कठिनाइ, उपेक्षा र न्यून अधिकारले भरिएको छ। आधुनिकता, पर्यटन र चियाको सौन्दर्य बाहिर चम्किए पनि भित्री कथामा पीडा, शोषण र मौन संघर्ष लुकेको छ। कविता चियाको बोटका माध्यमबाट श्रमिकहरूको त्यो मौन इतिहासलाई आवाज दिन खोज्छ। अन्ततः, कविता भन्छ:
दार्जिलिङको चिया मात्र स्वाद होइन, पुस्तौंको आँसु, श्रम र अस्तित्वको स्वाद हो।

'विद्रोहका  आवाजहरू ʼ यो सङ्ग्रह  भित्र  ४४ वटा  कविताहरू  समावेश  गरिएका  छन्।  सङ्ग्रहका  सबै  कविताहरूले  विद्रोहका आवाजहरू  बोकेका  छन

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com