
काठमाडौँ — अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला पात्र केन्द्रीय भूमिकामा रहेको फिल्म ‘एक मुठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति सार्वजिनक गरेको छ । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको यो फिल्म आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले जनाएको हो ।
गौंथली इन्टरटेनमेन्टका अनुसार यो फिल्मका अधिकांश काम महिलाको नेतृत्त्वमा गरिएको थियो । सहारा शर्मा निर्देशित यो फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले मिलेर निर्माण गरेका हुन् । फिल्ममा तीन पुस्तादेखिको भावनात्मक उतारचढावसँगै नेपाली समाजको परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षाको कथा समावेश गरिएको छ । फिल्मको कथा सहाराले नै लेखेकी हुन् । अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि ‘चेजिङ रेन्बोज’ निर्देशन गरेकी थिइन् । सन् २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को ओपनिङ फिल्मका रुपमा देखाइएको सहाराको फिल्मले नेपाली पानारोमातर्फको शीर्ष पुरस्कार जितेकी थिइन् ।
‘एक मुठी बादल’ले विभिन्न विदेशी अनुदान प्राप्त गर्नुका साथै यही फिल्मबाट निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडीसी फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड नै प्राप्त गरेका थिए । फिल्ममा आँचलसँगै अन्य कलाकारहरु निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतको अभिनय छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया