धरानबाट सक्रिय रंगयात्रामा रहेका विश्वकर्माका लागि यो प्रस्तुति विशेष महत्वको मानिएको छ। राजधानीको प्रतिष्ठित रंगमञ्चमा उनको निर्देशन र परिकल्पनामा तयार भएको नाटक मञ्चन हुनुलाई व्यक्तिगत उपलब्धि मात्र नभई पूर्व नेपालको रंगकर्मले राष्ट्रिय रंगमञ्चमा थप मजबुत उपस्थिति जनाएको संकेतका रूपमा पनि हेरिएको छ।
११-असार काठमाडौँ। नेपाली रंगमञ्चमा पूर्व नेपालको सिर्जनात्मक उपस्थिति थप सशक्त बन्दै गइरहेका बेला धरानका रंगकर्मी तीर्थराज विश्वकर्मा आफ्नो नयाँ नाट्य ‘स्याल सिंह’ मार्फत राजधानीको रंगमञ्चमा प्रवेश गर्दैछन्। एक थिएटर नेपालको प्रस्तुतिमा यही असार १२ गतेदेखि काठमाडौँस्थित एक थिएटर नेपालमा मञ्चन हुन लागेको यो नाटकले मानवीय संवेदना, करुणा र सामाजिक उत्तरदायित्वका विषयलाई केन्द्रमा राखेको छ।
कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश चर्चित कथामा आधारित यस नाटकको परिकल्पना तथा निर्देशन तीर्थराज विश्वकर्माले गरेका हुन्। समाजमा क्रमशः क्षीण बन्दै गइरहेका मानवीय भावना, सहानुभूति र संवेदनशीलतालाई रंगमञ्चीय भाषामार्फत जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास नाटकले गरेको छ।
धरानबाट सक्रिय रंगयात्रामा रहेका विश्वकर्माका लागि यो प्रस्तुति विशेष महत्वको मानिएको छ। राजधानीको प्रतिष्ठित रंगमञ्चमा उनको निर्देशन र परिकल्पनामा तयार भएको नाटक मञ्चन हुनुलाई व्यक्तिगत उपलब्धि मात्र नभई पूर्व नेपालको रंगकर्मले राष्ट्रिय रंगमञ्चमा थप मजबुत उपस्थिति जनाएको संकेतका रूपमा पनि हेरिएको छ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहनेछ। युवा कलाकारहरूको ऊर्जा र निर्देशकको दृष्टिकोणले नाटकलाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।
यसअघि असार ५ गतेदेखि मञ्चन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले मिति सारिएको थियो। अब भने सम्पूर्ण तयारी पूरा गरी असार १२ गतेदेखि नियमित मञ्चन गरिने आयोजकले जनाएको छ।
मानवीय संवेदनाको कथा बोकेको ‘स्याल सिंह’सँगै तीर्थराज विश्वकर्माले राजधानीको रंगमञ्चमा आफ्नो सिर्जनात्मक हस्ताक्षर प्रस्तुत गर्न लागेका छन्। यस अर्थमा ‘स्याल सिंह’ केवल नाटक मात्र नभएर पुर्वको उपस्थिति पनि हो ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया