सिक्किममा रहेर निरन्तररुपमा कविताकर्म गरिरहेकी युवाकवि अबिगेल राई युवापुस्ता माझ लोकप्रिय छन्।उनको कविताको केन्द्रिय खासियत भनेको आवाज बिहिनहरुको आवाज बोल्नु हो।कविता लेखन मार्फत सिक्किमलाई प्रतिनिधित्व गरिरहेकी राई भविष्यको सम्भावित स्टार कवि हुन् सम्पादक विशाल नाल्बो ।
चमत्कार
कस्तो रहर थियो
हर्के दाई र सानुमति भौज्यूलाई
आँगनमा बसेर भुकुल्ले छोरा खेलाउँने
संसारभरिको खुशी र जीतहरु
आफ्नै आँगनमा थुपार्ने।
कठ सबैको हेला होंचो
सबैको कटाक्ष
जिस्काउँनेहरु।
बिहान बाटोमा भेट्दा रिसाउँनेहरु
साईत बिगारिदियो भन्ने
अबगाल लाउँनेहरु।
खै साग सिमी फलायौ
ईस्कुस फर्सि फलायौ
मकै कोदो फलायौ
तर एउटा सन्तान फलाउँनु सकेको?
निराश निराश हर्के दाई
हताष हताष सानी भौजु
कुल देव पुकार्छन् हर्के दाई
ईष्ट देव गुहार्छन् सानी भौजु
डाक्टर जचाउँछन् दुवै।
अहो एक दिन सूर्य उदायो आधा रातमा
हर्के दाईको अँध्यारो घरमा।
बर्षहरु बितेर गए
हर्षहरु बितेर गए
आजकल सुदुर शहरमा सूर्य अफिसर छन्
हर्के दाई र सानुमति भौज्यू
बृद्धाश्रमको तकदीरमा छन्।
प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया