भाद्र २७, २०८२

काठमाडौँ — शीतल निवासमा जारी छलफल तीन घन्टाभन्दा लामो समय भइसक्दा पनि निष्कर्ष निस्कन सकेको छैन ।  शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलका अलावा प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल जारी छ । शीतल निवासमै कानुनविद् ओमप्रकाश अर्याल पनि रहेका छन् ।

स्रोतका अनुसार शीतल निवासमा संविधानको धारा ६१ (४) मा रहेको बाधा अडाकाउ फुकाउको व्यवस्थामै लामो छलफल भइरहेको बुझिएको छ । यसमा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रप्रमुखको प्रथम कर्तव्य रहेको मानिनेछ’ उल्लेख छ । यो विषयमा राष्ट्रपतिलाई भीमार्जुन आचार्य र विपिन अधिकारीले पनि सुझाव दिएका थिए ।

संविधानको विद्यमान व्यवस्थाअनुसार प्रधानमन्त्री हुन पहिलो सर्त नै प्रतिनिधिसभा सदस्य हुनुपर्छ । पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन आपत्ति नभए पनि राष्ट्रपति पौडेलले सांसद नभएको व्यक्तिलाई कुन प्रक्रियाबाट नियुक्ति गर्ने भन्ने सवालमा संविधानविद्‍सँग लामो परामर्श गरिरहेको देखिन्छ ।

नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख र केही प्रमुख नेताहरूसँग पनि छलफल गरिरहेको बुझिएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने जानकारी राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेमार्फत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि पुर्‍याएको सभामुख निकट स्रोतको दाबी छ ।

प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com