८ – बैशाख काठमाडौं-बागबजारको युनिटी फुड एन्ड क्याफेमा ’कविता एन्ड द कप’ को तेस्रो शृङ्खला सम्पन्न भयो ।
यस शृङ्खलामा कविता वाचन, टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि, आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भयो । श्रेष्ठले ‘भोलिको गीत’ प-या कविता ‘सतरूपा’जस्ता दुई बेजोड कविता वाचन गर्दै कवितालाई सस्तो र सजिलो बुझ्नु हुँदैन । पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो । अहिले झन् लेख्न सकिन्छ । मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो । संसार मान्छेको मात्रै होइन, सबै प्राणीको हो । कविता अब वातावरणमैत्री भएर सबैका लागि लेखिनुपर्छ । कवितामा जादुमय शक्ति हुन्छ’ भन्ने धारणा राखे ।
‘कविता एन्ड द कप’का सूत्राधार प्रसिद्ध युवाकवि केशव सिलवालले यसको उद्देश्यबारे प्रष्ट पार्दै “दशकौँ पुरानो पुल’’ शीर्षकको कविता वाचन गरे । यस्तै प्राज्ञ चेतनाथ धमलाले ‘भ्रम’ र एक टुक्रा गरी दुईवटा लघुकविता र कृष्णकिसु न्यौपानेले “सहरको रङ्ग र सडकको आँसु’’ जस्ता कविता वाचन गरे ।
यसैगरी कविहरू मिथोच, रीमा केसी, सीता तुम्खेवा, प्रकाश गुँरागाई, युग सर्वनाम, सञ्जित फलाना, रजनी मिला लगायतले कविता वाचन गरे । कवि चन्द्रवीर तुम्बापोले कवितामा प्रयुक्त भएका जारजन र कवित्वबारे प्रकाश पारे । साथै, कवि मोक्तान थेबाले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गरे । एकआपसमा वाचित कवितामाथि विशद् विमर्श समेत भयो ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया