काठमाडौं, जेठ २१ ।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सम्पन्न ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ विभिन्न आदिवासी समुदायका चलचित्र, लघु चलचित्र र वृत्तचित्र प्रदर्शन तथा पुरस्कार वितरणसँगै सम्पन्न भएको छ ।
काठमाडौंस्थित चलचित्र विकास बोर्डमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आदिवासी समुदायका भाषा, संस्कृति, इतिहास, लोकज्ञान, सामुदायिक स्मृति तथा जीवनदर्शनलाई केन्द्रमा राखेर निर्माण गरिएका चलचित्रहरू प्रदर्शन गरिएको थियो ।
समापन समारोहमा बोल्दै महोत्सव निर्देशक सागर केरुङले आदिवासी चलचित्र केवल मनोरञ्जनको माध्यम नभई समुदायको इतिहास, भाषा, ज्ञान–परम्परा, सांस्कृतिक अस्तित्व र सामूहिक स्मृतिको जीवित अभिलेख भएको बताए । उनले आदिवासी चलचित्र आन्दोलन सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण तथा ज्ञान–उपनिवेशवादविरुद्धको सशक्त सांस्कृतिक अभियानका रूपमा विकसित भइरहेको धारणा व्यक्त गरे ।

नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा करिब डेढ हजारभन्दा बढी चलचित्र निर्माण भइसकेको उल्लेख गर्दै केरुङले आदिवासी चलचित्रले मातृभाषा, भूमि, पूर्वजहरूको स्मृति, लोक–ज्ञान तथा समुदायको विश्वदृष्टिलाई संरक्षण र प्रवर्द्धन गरिरहेको बताए । “यो महोत्सवमा केवल चलचित्र प्रदर्शन भएनन्, यहाँ भाषा बोले, इतिहास बोले, भूमि बोले र समुदायको जीवित आत्माले आफ्नो उपस्थिति जनाएको छ,” उनले भने ।
महोत्सवमा गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट चलचित्र तथा उत्कृष्ट पटकथा घोषित भयो । लिम्बू चलचित्र ‘रीत’ बाट दिनेश लिङ्देन उत्कृष्ट निर्देशक बने भने यही चलचित्रले पब्लिक चोइस अवार्ड पनि जित्यो । मगर चलचित्र ‘दिलसरा’ बाट कल्याण राना मगर उत्कृष्ट अभिनेता र नेपाल भाषाको चलचित्र ‘स्वयनगु’ बाट भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भइन् ।
केरुङले आगामी वर्षहरूमा अझ बढी आदिवासी समुदायका चलचित्रलाई महोत्सवमा समेट्दै नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया