
– विशाल नाल्बो
-बिचार र बहस
प्रश्नदेखि पर– पर राजनीति
आजको भारतीय राजनीतिलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ,सुनिन्छ । यहाँ विचारको आवाजभन्दा बलियोगरी उभिएको छ पार्टीको नारा आलाप । प्रश्नभन्दा प्रचार प्रभावशाली देखिएको छ, र नागरिकभन्दा समर्थक बढी उपयोगी , किन ? यही प्रश्न र संरचनाभित्र एउटा अनौठो कुरा तर स्वाभाविक शब्दको जन्म भएको छ व्यङ्ग्य अर्थात् कक्रोज जनता पार्टी । तर यो फगत व्यङ्ग्य मात्र होइन, यो वर्तमान राजनीतिक व्यवस्थाप्रतिको गहिरो असन्तुष्टीको प्रतिरोद्धात्मक गुञ्जन हो। जसलाई ख्याल गर्नु ।
समाजले गलत रुपमा अथ्याई दिएको छ कि ? कक्रोज शब्द आफैंमा घृणा र तिरस्कारको प्रतिनिधि अर्थ हो । तर जब समाजका युवाहरू आफैंलाई त्यही शब्दमा पहिचान गर्न थाल्छन् भने तब बुझ्नुपर्छ अपमानले अब सहनशीलताको सीमा नाघिसकेको छ । यो आत्मपहिचान त हुँदै होइन, यो राज्य र समाजले थोपरेको अपमानको उल्टो जवाफ चाहिँ पक्का हो। यसको अर्थ ।
प्रश्नबाट भाग्दै भारतीय जनता पाटी
आजको भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा राष्ट्रवादको जुन खोक्रो राजनीतिक संरचना निर्माण भएको छ, त्यसले एक शक्तिशाली पार्टीको रुपमा आफ्रनो माहोल त सिर्जना गरेको छ, तर त्यसकै छायामा केही गम्भीर प्रश्नहरू दबिएका छन् । बेरोजगारी, बढ्दो असमानता, विश्वविद्यालयहरूको कमजोर स्वतन्त्रता, र युवाहरूको भविष्यप्रतिको अनिश्चितता । यी सबै विषय प्रश्न र मुद्दा राष्ट्रिय गौरव भनिने ठूलो स्केचभित्र गुमनाम भइरहेका छन् ।
राजनीति जब प्रश्नसँग डराउन थाल्छन् । तब त्यो प्रश्नहरुदेखि भाग्छ र त्यसको स्वरुप आर्दशहरुमा प्रचारहरुमा बदलिन्छ । र प्रचार र आर्दश जब लामो समय शोषक जस्तो भएर चल्न थाल्छ । तब समाजले सोच्ने क्षमता नै गम्भीर हुँदै जान थाल्छ जस्तो पड्किनु अघिको बन्दुक । यही प्रक्रियाहरुको बीच समाजको सचेत युवाहरू अघि आउँछन् । असन्तोषहरुमा संगठनहरुमा राजनीतिहरुमा आन्दोलनहरुमा सडकहरुमा सिर्जनाहरुमा र विस्फोट हुन थाल्छन् । कक्रोज जनता पार्टी त्यसैको एउटा स्वरूप हो ।
कक्रोज एउटा यस्तो जीव हो जसलाई प्रणालीले घृणा गर्छ, मार्न खोज्छ, ऊ बसेको ऊ हिँडेको ठाँउ सफा गर्न खोज्छ, तर त्यो अझै बाँचिरहन्छ बाँचिरहन्छ । यो केवल जीवविज्ञान होइन, यो राजनीतिक रूपक हो प्रणाली जति कठोर हुन्छ । अपमानित वर्ग त्यति नै अनुकूलित भएर बाँच्न सिक्छ।
दार्जिलिङ र अस्तित्वको संघर्ष
तर प्रश्न यो हो कि ? के यो बाँचाइ सम्मानजनक छ त ? कि केवल अस्तित्वको संघर्ष मात्र छ ?
दार्जिलिङ पहाडबाट सुरु भएको यो असन्तुष्टीको फेहरिस्त दिल्लीसम्म फैलिएको छ प्रश्नहरु भएर । दार्जिलिङ दशकौँदेखि पहिचान, स्वायत्तता र गोर्खा अस्मिताको आन्दोलन बोकेको क्षेत्र हो। तर त्यो आन्दोलनको इतिहास हेर्दा एउटा निरन्तर लामो निराशा मात्र देखिन्छ । आन्दोलन उठ्छ, जनताले बलिदान दिन्छन्, तर अन्ततः निर्णयहरू सधैं केन्द्रको राजनीतिक गणनाभित्र हराउँछन्।
दार्जिलिङमा गोर्खाल्याण्डको माग केवल प्रशासनिक संरचनाको कुरा थिएन, होइन । यो सम्मान र प्रतिनिधित्वको प्रश्न थियो माग थियो । तर वास्तविकतामा आन्दोलनहरू बारम्बार राजनीतिक सम्झौताहरुमा रूपान्तरित भए, र जनताको माग र प्रश्न स्थगित हुँदै गए । यहाँका युवाहरूका लागि राजनीति अब मुक्तिको माध्यमभन्दा बढी एक चक्रभ्यु जस्तो मात्र देखिन थालेको छ । जहाँ आशा उठ्छ, तर परिणाम फेरि उही खालीपनतिर फर्किएर जान्छ शुन्य।
यही निराशाको विस्तार प्रश्न बोकेर दिल्लीसम्म पुग्छ। केन्द्रमा राष्ट्रवादी पार्टीको सरकार छ, तर नागरिक ? आफूलाई लगातार किनारीकृतको महसुस गरिरहेका छन्। उनीहरूलाई भाषण सुनाइन्छ, उनीहरूलाई सपना देखाइन्छ । तर संरचना दिइँदैन आकार दिइँदैन ।
यही विसंगतिको मझधारबाट कक्रोजहरु जन्मिन्छ । जो यो समयलाई अवश्यक हो ।
यो कुनै राजनीतिक दल होइन, तर राजनीतिक असफलताको टिप्पणी हो । यो कुनै संगठन होइन, तर संगठित समुह प्रतिको खबरदारी हो । यो कुनै विचार होइन, तर विचारहीन पुस्ता प्रतिको लाखेस् हो ।
जब राज्यले नागरिकलाई कम्तिमा समर्थकमा मात्र सीमित गर्छ । जब प्रश्नलाई देशभक्तिको मापनले तौलिन्छ, जब असहमति शत्रुतामा बदलिन्छ तब समाजभित्र व्यङ्ग जन्मिनु स्वाभाविक हुन्छ। कक्रोज जनता पार्टी त्यसैको व्यङ्गात्मक रूप हो खबरदारी हो ।
लोकतन्त्र र व्यङ्ग्य
यसको सबैभन्दा ठूलो आलोचना यही हो । कि आजको लोकतन्त्र बाह्य रूपमा जीवित देखिए पनि, भित्री रूपमा प्रश्न गर्ने क्षमता कमजोर हुँदै गएको छ। संसद छ, तर संवाद कमजोर छ। चुनाव छ, तर विकल्प सीमित छन्। पार्टीहरू छन्, तर विचारहरूको विविधता साँघुरिँदै गएको छ।
यही सन्दर्भमा कक्रोज एउटा असहज प्रश्न बन्छ । के हामी यस्तो समाजतर्फ गइरहेका छौं जहाँ अपमान नै राजनीतिक पहिचान बन्न बाध्य हुन्छ ?
यदि हो भने, त्यो मात्र युवाको असन्तष्टी होइन, त्यो प्रणालीगत असफलताको संकेत हो र यही कारण, कक्रोज जनता पार्टीलाई केवल व्यङ्ग भनेर पन्छाउन सकिँदैन। यो एक चेतावनी हो । कि जब लोकतन्त्रले आफ्ना नागरिकलाई सुन्न छोड्छ । तब नागरिकहरूले व्यङ्ग्यलाई नै आफ्नो भाषा बनाउँछन्।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया