काठमाडौँ, चैत – २९ गते । नेपाली साहित्यमा पहिचानको आवाजलाई सशक्त बनाउँदै आएको ‘पहिचान पुरस्कार कोष’ ले यस वर्ष वरिष्ठ साहित्यकार वैरागी काइँला र युवा स्रष्टा गेलु रातोसलाई सम्मानित गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा काइँलालाई पाँच लाख रुपियाँसहित ‘पहिचान विशेष सम्मान’ तथा रातोसलाई ५० हजार रुपियाँ राशिसहित ‘पहिचान युवा सम्मान’ प्रदान गरिएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका काइँला नेपाली साहित्यमा ‘आयामेली आन्दोलन’ का प्रमुख सर्जकमध्ये एक मानिन्छन् । उनले साहित्य, भाषा र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय छ । उनका दर्जनौँ कृतिहरूले नेपाली समाजको विविधता, पहिचान र सांस्कृतिक चेतनालाई उजागर गरेका छन् ।
त्यसैगरी, युवा स्रष्टा रातोसले कविता, गीत तथा नाट्य विधामा सक्रिय रहँदै , समकालीन समाजका विषयलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै आएका छन् । उनको लेखनमा विशेषगरी नेपाली समाजभित्रका विभिन्न समुदायको पहिचान, संघर्ष र आत्मीयताको विषय झल्किने गरेको छ ।
कार्यक्रममा कोषका अध्यक्ष नरेश काङमाङ राईले विगत एक दशकदेखि पहिचानको सवालमा कलम चलाउने स्रष्टाहरूलाई सम्मान गर्दै आइएको जानकारी दिनुभयो। उहाँका अनुसार, यो पुरस्कारले नेपाली समाजको विविधता र बहुलतालाई साहित्यमार्फत् संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा साहित्यकार खगेन्द्र सङ्ग्रौला ले काइँलाको योगदानमाथि विस्तृत चर्चा गर्दै पहिचान पुरस्कारको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “पूर्वका राई, लिम्बू लगायतका समुदायले आफ्नो पहिचानका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। यस्तो आन्दोलनलाई साहित्यले बलियो बनाएको छ, र पहिचान पुरस्कारले त्यसलाई अझ अघि बढाउने काम गरिरहेको छ।
सम्मान ग्रहण गर्दै काइँलाले आफूले पहिचानका क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली भाषामा लेखिएका आफ्ना कृतिहरूलाई लिम्बू भाषामा अनुवाद गरिएको अनुभव पनि साझा गर्नुभयो, जसले भाषा र संस्कृतिबीचको सेतु निर्माणमा सहयोग पुगेको बताउनुभयो ।
यसै कार्यक्रममा अघिल्लो वर्ष सम्मानित राजु स्याङ्तानलाई पनि पाँच लाख रुपियाँ नगदसहितको पुरस्कार हस्तान्तरण गरिएको थियो । परिवारका सदस्यका स्वास्थ्य समस्याका कारण गत वर्ष पुरस्कार ग्रहण गर्न नसकेका स्याङ्तानले यसपटक औपचारिक रूपमा सम्मान ग्रहण गर्नुभएको हो ।
पहिचान पुरस्कार कोषले निरन्तर रूपमा समाजका विविध समुदायको अस्तित्व, भाषा, संस्कृति र आत्मसम्मानलाई साहित्यमार्फत उजागर गर्ने स्रष्टाहरूलाई प्रोत्साहन गर्दै आएको छ । यस प्रकारका सम्मानले नेपाली साहित्यमा समावेशी चेतना विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

प्रतिक्रिया