प्रणय शंकर।

कविता मार्फत आफूलाई स्थापित गराएका प्रणय शंकर मूलभूत रुपमा कवि हुन्।पछिल्लो समय उनको वैचारिक औंलाहरु निर्ममतापुर्वक प्रेमले सुम्सुम्याउँदै आलोचना नाउँको अक्षरहरु माथि पनि कुँदेका छन्।यस मानेमा शंकर नेपाली साहित्यले पाएको खँडो आलोचक पनि हुन्।

यति बेला भारतमा नेपाली भाषा लिपिलाई लिएर बौद्धिक सर्कल बीच चर्को बहस भइरहेको छ।यो कतिको सान्दर्भिक हो?वा होइन?शंकर आफ्नो वैचारिक अवधारणा यसरी अघि राख्छन्।सम्पादक विशाल नाल्बो

यहाँ दार्जिलिङ बुझ्दा ‘८६’ अघिको दार्जीलिङ बुझ्ने छौँ।

भारतमा नेपाली भाषामा ‘ड़’, ‘ढ़’ वर्ण सम्बन्धित केही एकेडेमीकिसहरूले फैलाएका केही भ्रमहरू:

१) ‘ड़’, ‘ढ़’ व्यतिरेकी/ध्वन्यात्मक ( contrastive) छैन ।ड़ वर्ण शब्द शुरुमा राखेर शब्दजोड़ा ‘ लगुतम युग्मग’ (minimal pair) बनाउन सकिँदैन । यसैले ‘ड़’ ‘ढ़’लाई वर्णको स्थान दिन सकिन्दै। ‘ड़’, ‘ढ़’ शब्द शुरुमा राखेर शब्द बनाऊ त ?

यो नियम भारतीय आर्यभाषा समूह भित्र पर्ने नेपाली भाषाको ध्वनि विज्ञान/ वर्ण विज्ञानमा आधारित नयाँ व्याकरणमा मात्र बनाइएको छ ।

विज्ञानमा आधारित व्याकरणमा पाईन्दैन

अन्य भारतीय आर्यभाषाको ध्वनि विज्ञान/ वर्ण विज्ञानमा आधारित व्याकरणमा पाईन्दैन । कुनै पनि अक्षर, त्यस भाषाको वर्ण ( Phoneme) बनिन शब्दको शुरूमै व्यतिरीकी ( contrastive/ phonemic ) भएर मात्रै हुनु पर्छ भन्ने छैन । यदि कुनै ध्वनि परिवर्तन गर्दा शब्दको अर्थ नै बदलिन्छ भने त्यो भिन्नता ध्वन्यात्मक (phonemic) हुन्छ। शब्दको मध्य र अन्तमा आएर व्यतिरेकी भए अथवा शब्दको अर्थमा भिन्नता ल्याए त्यस अक्षरलाई वर्णको दर्जा दिन सकिन्छ । दिएको पनि छ । अङ्ग्रेजीमा ( velar nasal ) ङ /ŋ ( IPA symbol) ध्वनि कुनैपनि शब्दको शुरूमा व्यतिरेकी भएर आउँदैन र पनि अङ्ग्रेजी वर्णमालामा कण्ठ्य नासिक्य/velar nasal ‘ङ’ ( ng) लाई वर्णको ( / / )सम्मान दिएको छ । उदाहरण sing / sin ( गाउँनु/पाप) । यहाँ / ङ / र / न / phonemic ( व्यतिरेकी) छ। अर्थात एउटा वर्णको जग्गामा अर्को वर्ण लेख्दा त्यस ध्वनि परिवर्तनले शब्दको अर्थमा भिन्नता ल्याउन पर्छ । जस्तै नेपालीमा ‘मल’ र ‘कल’ दुइ शब्द जोड़ा‌हरू छन् । यहाँ /म/ र /क/ वर्णहरू हुन् । किनभने यहाँ /म/ र /क/ को उच्चारण फरक मात्र छैन, ‘म’ र ‘क’ को स्थान बद्ली गर्दा शब्दजोड़ा ( (minimal pair) ले शब्दको नयाँ अर्थ दिन्छ । शब्द जोड़ाको परिवेश एउटै हुन पर्छ तर एउटा वर्णको स्थान मात्र परिवर्तन गर्दा त्यस शब्द जोड़ाहरूले‌ शब्दको नयाँ अर्थ लगाइएको हुन पर्छ । अर्थभिन्नता ( Phonemicity) ल्याउने क्षमता सृजना भएको हुन पर्छ।

Kenneth L Pike

यो Kenneth L Pike को बिचार हो। ( हेर्नु होला Phonemics, A Technique for Reducing Languages to Writing,by Kenneth L Pike. University of Michigan Press.)

/ ङ / शब्दशुरूमा नआउनु भारोपेली भाषाको विशेषता हो । इण्डो- युरोपियन/ इण्डो इरानियन/ इण्डो आर्यन भाषाहरूको विशेषता हो ।

अब भन्नेले भन्लान् ,नेपाली भाषाको कुरामा अंग्रेज़ी भाषाको उदाहरण किन दिएको । जान्नेले भन्लान् नेपाली र अङ्ग्रेजी एउटै जरा भारोपेली भाषाको हाँगा हो ।

यी भाषाहरूको Phonotactic Constraint (ध्वन्यात्मक प्रतिबन्ध) को कारणले ‘ङ’ र ‘ञ’ शब्द शुरूमा आउँदैन ।

Phonotactic constraint भन्नाले कुनै भाषामा ध्वनिहरू (phonemes) कसरी क्रमबद्ध (sequence) भएर आउन सक्छन् वा आउन सक्दैनन् भन्ने नियमलाई जनाउँछ । नेपालीमा /ह/कुनै पनि शब्दको अन्तमा आउँदैन । बठ्ठे भएर कसैले लेख्लान् ‘ मह’ के हो उसो भए ? लेख्दा ‘मह’ लेखिन्छ नेपालीको मौलिक/ क्षेत्रीय उच्चारणमा उच्चारण ‘मअ’ हुन्छ भनेर बुझ्नेले बुझेकै होलान् । भारतीय आर्य भाषामा /ड/ , /ढ/ ( retroflex plosive stops ) वर्णहरू शब्दको मध्य अनि अन्तमा आउँदैन ( केही अपबाद बाहेक) । एउटा उदाहरण (अडिक) पाउँछौ । अझै छन् । त्यसको ठीक विपरीत /ड़/अनि /ढ़/ ( ध्वनिविज्ञानमा / / ले वर्ण बुझाउँछ,) शब्दशुरूमा व्यतिरेकी भएर आउँदैन । सजिलो भाषामा भन्नुपर्दा कुन ध्वनि कहाँ आउन सक्छ, कुन ध्वनि कहाँ आउन सक्दैन, कुन ध्वनिहरू सँगै आउन सक्छन् वा आउन सक्दैनन् भन्ने नियमलाई ध्वनि विज्ञानमान त्यस भाषाको ध्वन्यात्मक प्रतिबन्ध (Phonotactic constraint) भनिन्छ ।

अब संस्कृत वर्णमालामा /ङ/ र /ञ/ लाई वर्णको स्थान दिएको छ । संस्कृतमा /ङ/ र /ञ/ वर्णबाट शब्दशुरूमा आएर कुनै शब्द बनाउन सकिन्न । हिन्दीमा /ङ/ ध्वनि शब्दशुरूमा न आएपनि वर्णको सम्मान दिएको छ/कतिले दिएका छैनन् ( हेर्नु होलान्Manjari Ohala) । भनौ भने, /ङ/ र /ञ/ शब्दशुरूमा व्यतिरेकि ( contrastive ) भएर नआउनु भरोपेली ( Indo-European) भाषाको विशेषता हो । संस्कृत, हिन्दी अनि अन्य भारतीय आर्य भाषाहरूको विशेषता होइन ।

यसैले नेपाली वर्णमालामा वर्णको स्थान पाउनको निम्ति कुनै पनि अक्षर शुरूमा आएर व्येतिरेकी भए मात्र वर्णमालामा वर्णको सम्मान दिन सकिन्छ भन्ने नियम नेपालको व्याकरणमा बनाइएको ( कृतिम ? ) नियम मात्र हो ।

यो नियम ध्वनिविज्ञान अनि वर्णविज्ञान अनुरूप छैन यस अर्थमाकी कुनै पनि ध्वनि (phone) / वर्ण ( त्यस ध्वनिको लेख्य रूप) शब्दको शुरूमा व्यतिरेकी वा अर्थभेदक ( contrastive phonemic ) भएर आए मात्र कुनै पनि भाषाको वर्णमालामा वर्ण ( phoneme) को सम्मान दिन सकिन्छ भन्ने नियम Universal Truth (सार्वभौमिक सत्य, सबै ठाउँमा, सबै समयमा, र सबै परिस्थितिमा ) समान रूपमा सत्यापित गर्न सकिनँ । यो नियम सार्वभौमिक सत्य हो, भनेर नेपाली वर्णविज्ञानलाई ( सरसल्लाह गरेर) बोकाइएको कृतिम नियम बाहेक केही होइन । ( हेर्नुहोला Nepali Segmental Phonology: C.M. Bandhu and B.M Dahal et el Summer Institute of Linguistics Tribhuvan University Kirtipur 1971 ) । वर्णको बिषयमा (मोटा-मोटी) यति नियम जाने पछि, नेपाली वर्णमाला आधारित नयाँ नियमलाई आधार बनाएर ‘माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा पुष्कर पराजुली ) ‘उच्च माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा कविता लामा) / ‘कालेबुङ प्रस्तावना’ ( प्रा डा घनश्याम नेपाल अनि अन्य ) ले नेपालबाट आयात गरेर भारतमा लागु गरेको हाे भन्न कोही पनि हिच्किचाउँदैन । जसको स्पष्ट असर दार्जिलिङमा /ड़/, /ढ़/ वर्णको अस्तित्व माथि परेको छ ।( यति भन्दैमा ड़, ढ़ वर्ण बनी हाल्दैन अन्य नियमहरूलाई हेर्न पर्ने हुन्छ )।

ध्वन्यात्मक प्रतिबन्ध

नेपाली भाषाको (Phonotactic Constraint (ध्वन्यात्मक प्रतिबन्ध) ले गर्दा /ड़/, /ढ़/ कुनै पनि नेपाली भाषाको शब्दशुरूमा आउँदैन । दार्जिलिङमा अहिले /ड़/, /ढ़/ लाई झरेर नयाँ व्याकरणहरूले [ड़], [ढ़] बनाइएको छ ( यहाँ [ ] symbol ले संवर्ण/ संध्वनि ( allophone) बुझाउँछ ) । एउटै वर्णको अर्को ध्वनि । अर्थात / ड/ /ढ/ लेख्दा नै [ड़] , [ढ़]‌ बुज्छ भनेको हो । अझ स्पष्टसँग बुझाउनु पर्दा डाँडा लेख्दानै डाँड़ा हुन्छ भनेको हाे। अब मैले यहाँ “ नेपालबाट आयातित बिचार “ भनेर जिम्मावरीसँग लेखको छु । ( ‘त्यो किन र कसरी’ कुनै समय विस्तार सँग हेर्ने छौ, किन भने यसले ठूलो लेखन-स्पेसको माग राख्दछ ।)

थोप्ला’ संस्कृत भाषाको वर्णमालामा त छैन

“ /ड़/’,‘/ढ़/’ ( retroflex tap) मुनि ‘थोप्ला’ संस्कृत भाषाको वर्णमालामा त छैन नेपाली भाषाको वर्णमालामा ‘थोप्ला’ चै किन चलाउनु “ भन्नेले यो कुरा बुझुन् – कुनै पनि अक्षरलाई वर्णको मान्यता प्राप्त गर्न शब्द शुरूमै व्यतीरेकी हुनपर्छ भन्ने नियम संस्कृत भाषामा नै छैन भने नेपालीमा पनि यो कुनै ‘हार्ड एण्ड फास्ट रूल ‘ छैन । यो सर्वभौमिक सत्य होइन । यहाँ /ड/ , /ढ/ मुनि थोप्ला लाउने कि नलाउने कुराको बहस होइन । /ड/ , /ढ/ मुनिको थोप्लाले /ड़/ , /ढ़‌/ बनिएको होइन । नेपाली भाषामा उछिप्त ध्वनि मौलिक छ । त्यस ध्वनिलाई लेख्य चिन्ह ( diacritic ) दिएर वर्णको (Phoneme) को सम्मान दिन सकिन्छ कि सकिन्न त्यो बहसको विषय हो । उत्क्षिप्त ध्वनि व्यतिरेकी ( phonemic ) छ कि छैन त्यो मुद्दाको विषय हो । ब्यतिरेकी भए कस्तो लेख्य चिन्ह दिएर वर्णको स्थान दिनुपर्ने हो त्यो मूल मुद्दा हो । नेपालीमा हामी केही शब्द जोड़ाहरू पाउँछौ ।‌ जस्तै माड़ र मार अनि पढ़ र पर । जट्ट हेर्दा यी शब्द जोड़ाहरूमा /ड़/ र /ढ़/ अनि /र/ सँग अर्थभेदक देखिन्छ । माड़ ( भातको माड़) अनि मार ( मार्नु) । पढ़ ( पढ्नु) अनि पर ( पर्नु) । यी शब्द जोड़ाहरूमा यहाँ उच्चारण पनि फरक छ ! अनि अर्थमा पनि ब्यतिरेकि छ ! तर पनि Acharya Jayaraj, Phd यहाँ ड़ र ढ़ लाई वर्णको सम्मान दिन मान्दैनन् किनभने उनी मान्छन् यहाँ यी शब्दजोड़ाहरूमा मरको /र /, माड़को /ड़/ र पढ़ /ढ़/ ( retroflex tap ) संग व्यतीरेकि ( phonemic) नभएर असलमा /र/ को ब्यतीरेकी /ड/ र /ढ/ सँगको हो भन्छन् किनभने [ड़] र [ढ़] त यहाँ ड/ र /ढ/ को संवर्ण/ संध्वनि ( allophone) मात्र हाे( भन्छ) । ( हेर्नुहोला A Descriptive grammar of Nepali and analysed Corpus, Acharya Jayaraj, PHD, Georgetown University, 1990 ) तर यहाँ Acharya Jayaraj को ‘ड़’ र ‘ढ़’ को बुझाइसँग असमत राख्ने ठूलो स्पेस बनिन्छ किनभने उनको मुर्धन्य ध्वनी /ड/ र /ढ/ ( retroflex plosives stops) को बुझाइ भाषाविद् बल्लभ मणि दाहाल ( A Description of Nepali Literary and Colloquial , A doctoral thesis, Deccan College, Poona January 1974 अनि प्रा डा माधव प्रसाद पोखरेल ( Experimental Analysis of Nepali Sound System, A doctoral thesis, Deccan College, Pune December 1989 ) कै समान्तरमा छ । दुवै भाषाविदहरूको ( बल्लभ मणि दाहाल अनि प्रा डा माधव प्रसाद पोख्रेल ) नेपाली मूर्धन्य ध्वनि माथिको अवधारणाको मूल्याङ्कन ( re-analysis ) गर्ने अब समय आएको छ । ( त्यो पछि गरौँला ) । साथसाथै ‘माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा पुष्कर पराजुली ) ‘उच्च माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा कविता लामा) / ‘कालेबुङ प्रस्तावना ,’

( प्रा डा घनश्याम नेपाल अनि अन्य ) का मुर्धन्य ध्वनीको बुझाइको समकालीन समयमा भएको मूर्धन्य ( retroflex sound) ध्वनिमाथिको रिसर्चको आधारमा मूल्याङ्कन गरिने समय पनि आएको छ । किनभने यी ‘पुस्तक’हरूले प्रा डा बल्लभ मणि दाहाल अनि प्रा डा माधवप्रसाद पोखरेल कै मूर्धन्य ध्वनिको अवधारणालाई नै दार्जिलिङमा भित्राएका ( copy) छन् ।

“ अग्र वर्त्स्य– जिब्रोको अघिल्लो भाग वा टुप्पोले वर्त्सलाई हुँदा उच्चरित हुने व्यञ्जन अग्र वर्त्य हुन् । ट, ठ, ड, ढ, र, ल, न नेपालीका अग्र वर्त्स्य व्यञ्जन हुन्। संस्कृत व्याकरण र आदेशात्मक नेपाली व्याकरणले पहिलो पाँचलाई मूर्धन्य, अन्तिम दुईलाई दन्त्य वर्ण मानेको देखिन्छ। ” कालेबुङ प्रस्तावना ” को प्रस्तावकहरूको मूर्धन्य ध्वनिहरूको अपूर्ण अध्ययन

लेखक प्रणय शंकर।

साथै ‘ कपिकरण’ कै कारण यहाँ /ड़‌/ र‌ /ढ़/ को अस्तित्व माथि संकट आएको हो ( यसले बहसको ठूलो स्पेसको माग राख्छ) । ( हेर्नु होला कालेबुङ प्रस्तावना र यसका आधारहरू उपमा प्रकाशन, संस्करण: प्रथम २०१७, अप्रैल पृष्ट संख्या २२ ।)

यसर्थ भारतमा तथाकथित कतिपय (नेपालको सुगारटाई ) भाषाविदहरूले ध्वनि अध्ययनको बहसलाई सहि दिशामा नलागेर ‘ड़’, ‘ढ़’ को अस्तित्वलाईनै ‘थोप्ला थोप्लीको’ विवाद बनाएर /ड़/, /ढ़/ लाई थोप्लामा हेर्ने हेय दृष्टिकोण बनाइएको छ यो नेपाली भाषामाविज्ञानमा चासो राख्ने विद्यार्थी अनि आम भाषाप्रेमीहरूको निम्ति सटिक मार्ग निर्देशन होइन ।

ङ/ मै लैजाउँ ।

नेपाली पाठ्यक्रममा अन्तरभुक्त भाषाविज्ञानको किताब सारसंग्रहगरेर फेसबुकमा भाषाज्ञान चलाऊने हरूलाई बुझाउँन अब फेरि कुरा /ङ/ मै लैजाउँ ।

“ हिन्दी भाषामा ङ वर्ण छैन किन भने हिन्दी भाषामा ‘ङ,न ‘म’ लघुतम युग्म भेटिदैन, तर नेपाली भाषामा ङ वर्ण भएकाले लघुतम भेटिन्छ, जस्तै :

सुङला ….

सुन्ला ….

नाङ्लो ….

नाम्लो ….

हिन्दी भाषामा नेपालीमा जस्तै सुरुमै ङ भएको शब्द भेटिंदैन, तर नेपालीमा भेटिन्छ, जस्तै,

ङ्याक्नु

ङ्यारो लेख्छन् भाषाविद् प्रा डा माधवप्रसाद पोखरेल

( डा माधवप्रसाद पोखरेल, डा अपर्णा पोखरेल नेपाली वर्ण व्याकरण / १२८ )

कुकुरको आवाज ङयार्’ ङयार्’, ‘ङुर’ ‘ङुर’ ( बन्धु अनि अन्य 1971) जस्ता अनुकरणात्मक (Onomatopoeic) शब्दहरूमा /ङ/ नेपाली शब्दशुरूमा आउँछ त भन्नेले अझै भन्लान्-

धेरै दिनअघि अनुकरणात्मक (Onomatopoeic) शब्दहरू माथि एउटा कविता लेखेर फेसबुकमा सेयर गरेको थिएँ।

पढ़ेर फेरी एकपल्ट रमाइलो गरौँ ।

“भिन्न क्षेत्रका भाषामा कुकुरहरुले कसरी भुक्छ ?

कविता

हे गुगल,

गुगल:

अंग्रेज़ी: वुफ वुफ

अरबी: हाव हाव

अफ्रिकन: ब्लाफ ब्लाफ

अल्बेनियन: हाम हाम

अर्मेनियन: हाफ हाफ

बालिनिज: कङ कङ्

बंगाली: घेउ घेउ, भ्वाऊ भ्वाऊ

बुल्गेरियन: जाफ जाफ

बर्मेली: वोक् वोक्

चेक: हाफ हाफ

चीनी: वाङ वाङ

डच: वाफ वाफ

स्पेनिस: ग्वाउ ग्वाउ

फ्रेन्च: ओउआफ ओउआफ (ouaf ouaf)

जर्मन: वुफ्फ वुफ्फ

ग्रीक: घाब घाब

हिब्रु: हाब हाब

हिन्दी: भौं भौं

आइसल्यान्डिक: भफ भफ

इन्डोनेसियन: गुक गुक

जापानी: वान वान

इटालियन: बाउ बाउ

रूसी: गाव गाव

सिनहाली: बुह बुह

स्वीडिश: वूफ वूफ (vov vov)

तमिल: वाल वाल

थाई: होन होन

भियतनामी: आङ आङ

कोरियाली: मिओंग मिओंग

नेपाली: भ्वाऊ भ्वाऊ

ओके गुगल

तर दार्जिलिङका नेपालीभाषी कुकुरहरूले किन कलकत्ता र नेपालकै भाषिकामा भुकेको होला ?

धेरैले यस कवितालाई सारै सकारात्मक ( positive way) मा हेरेनन् । चरम व्यंग्य र कटाक्षको रूपमा हेरे । तर यसको मूल आशय ध्वनिविज्ञान सम्बन्धित छ । कुकुरले भूकेको एउटै आवाज विभिन्न भाषा बोल्ने भाषीहरूले किन भिन्न भिन्नै ‘सुनेको’ कुरा ‘रजिष्टर’ गरेका होलान् ? ध्वनिविज्ञान (Phonetics) को आधारभूत फैलावट केवल “मुखले ध्वनि कसरी उच्चारण गरिन्छ” भन्ने कुरा सम्म मात्र सीमित छैन । यसले “त्यो ध्वनि कानले कसरी सुन्छ र मस्तिष्कले कसरी बुझ्छ” भन्ने पक्षलाई पनि समेट्छ । यदि हामीले केवल “मुखले कसरी ध्वनि बनाइन्छ” भन्ने पक्षलाई मात्र हेऱ्यौं भने, हामीले “श्रोताले त्यो ध्वनि कसरी सुनिन्छ” भन्ने अध्ययनलाई छुटाउँछौँ । उच्चारणात्मक (Articulatory) मुखका विभिन्न ध्वनि निर्माणका अव्ययहरूले ध्वनि कसरी बनाउँछन् अनि यसरी उत्पादन भएको ध्वनिको ध्वनिक ( acoustic ) तरङ्गको भौतिक गुण ( physical properties) हावामा कसरी बिस्तार वा प्रसारण हुन्छ अनि त्यसरी हावामा विस्तार भएको ध्वनिक तरङ्लाई श्रोताको कान र मस्तिष्कले कसरी बुझ्छ वा ग्रहण र बोध ( auditory perception) गर्छ । ध्वनिविज्ञान केवल उच्चारणको विज्ञान मात्र होइन, तर सम्पूर्ण श्रव्य–संवाद प्रक्रियाको विज्ञान हो । ध्वनिविज्ञान उच्चारणात्मक ( Articulatory ), ध्वनिक ( acoustic) अनि श्रवणात्मक ( auditory) अध्ययनको एउटा सिङ्गो परिवेश ( eco system) हो । यसैले ध्वनिविज्ञानलाई उच्चारणात्मक ( Articulatory ) अध्ययनसम्म मात्र सीमित राखेर हेर्नु उचित ठहर्दैन ।

कोही सिनो-भोट परम्पराबाट छन्

फेरि कुरा अनुकरणात्मक (Onomatopoeic) शब्दहरूमै लिएर आउँ । नेपालमा १२३ वटा भाषा छ। त्यति नै बोल्ने जात-जाति पनि होलान् । सबैको मोटामोटी आफ्नै ध्वनी परम्परा छ । आफ्नै लेख्य परम्परा छ । आफ्नै लिपि छ । कतिको छैन । कतिको बनिन्दैछ । दार्जिलिङमा मोटा मोटी १४ जात-गोष्ठी छ अनि त्यसभित्र अन्य हाँगाबिगा छन् । अघि माथि नै भनियो ध्वनि-विज्ञान उच्चारणात्मक ( Articulatory ) मात्र हैन श्रवणात्मक ( auditory) पनि हो । भाषिक तहमा कोही आर्य-खस परम्पराबाट छ । कोही भोट-बर्मेली । त कोही सिनो-भोट परम्पराबाट छन् । नेपालमा थाहा भएन, तर दार्जिलिङमा कुनै एउटा कुकुरले भुक्दा किन सबैले नेपाली भाषाकै ‘भ्वाऊ भ्वाऊ’( Onomatopoeic words ) सुनेको ? किन आफ्नै जात गोष्ठीको भाषाको ध्वनि परम्परा अनुसार कुकुर भुकेको आवाज ( नेपालीमा ) बेग्ला बेग्लै ( माथि कवितामा भने झैँ ) नसुनेको ? के दार्जिलिङमा सबै भाषाका जात-गोष्ठीले यहाँ कुकुर भुकेको आवाज आफै भाषाको ध्वनि परम्परा‌ अनुसार श्रवण (auditory perception) गर्न छाड़ि सके ? छाड़ि सके भने कुकुर भुकेको आवाज नेपालीमै ‘भ्वाऊ भ्वाऊ’ ’ सुन्ने क्षमता यी गोष्ठीहरूले कसरी विकसित गरे त ? – यस ( A comprehensive study of speech production (articulatory science), sound transmission (acoustic science), and language perception ( auditory perception) and meaning mapping in the human mind.) प्रक्रियाको अध्ययन-परीक्षण गर्ने परम्परा भारतीय विश्वविद्यालयहरूको नेपाली विभागहरूमा बनिन्दैछ ? नेपालमा ? अहँ मेरो खोजाई अनुसार भेटिनँ । ( छ भने मलाई बुझाइ दिनु होला । अनुकरणात्मक शब्दहरू (Onomatopoeic words) मा हामी वस्तु वा घटनाबाट उत्पन्न वास्तविक ध्वनिलाई ‘मानव कानले सुनेको र मस्तिष्कले बुझेको’ रूपमा आफ्नो भाषाको ध्वनि परम्परा अनुसार पुनः-प्रतिरूपित ( re encoded/reconstructed गर्छौं । अनि त्यसरीनै उच्चारण गर्न खोज्छौँ। सहज भाषामा भन्न पर्दा हामीले उच्चारण गर्ने अनुकरणात्मक शब्द जसरी प्रकृति परिवेश ( natural world) मा ध्वनि उत्पन्न हुन्छ त्यसमा भरपर्दैन तर हामीले जसरी सुन्छौँ र त्यस ध्वनिको नकल वा मनमा पुनः-प्रतिरूपित (। Mental re reconstruction ) गर्छौं , त्यसमा भर पर्छ । सारा संसारमा कुखराको भाले एउटै प्रकारले कराउँछ ( आवाज निकाल्छ) । दार्जिलिङमा किन हामी भालेको डाकलाई “ कुकु…री काँ ” सुन्छौं । बेलायती भाषामा भालेको डाकलाई उनीहरू “cock-a-doodle-doo” सुन्छन् । अचम्मैपाराले त चाइनिज भाषामा भाले बस्दा रहेछ (wō wō wō) ।

गाउँको सम्झना

धेरै बर्ष अघि पहाड़बाट पलायन भएर म कोलकाता बस्थेँ । कोलकाताको शहरको आउटस्कर्टमा ‘बाटानगर’ जाने बाटोमा ‘जिन्जिरिया बजार’ नामको एउटा सानो बजार । त्यहाँँदेखि अलि उता ‘सरकारपुल’ भन्ने सानो गाउँ । त्यस गाउँमा एउटा सानो भाड़ाको घर । घरको उतापट्टि बाँसघारी । त्यस बाँसघारीमा रातभरि ‘बिउ छर’-बिउ छर’, बिउ-कुहियो’

‘बिउ -कुहियो’ भन्दै रात भरी कराइरहने एउटा कोइली चरा । त्याे चरा करायोकी म गाउँको सम्झनाले सतिइन्थेँ । घरमा हुँदा बोजुले भन्थिन् – ‘ बिउ छर’ भन्दा बारीमा बीउ छर्नु पर्छ, ‘बिउ -कुहियो’ भन्दा सम्झनु पर्छ, जमीनमा परेको बिउ’ कुहिएर उम्रिने बेला भयो। अहिले ‘सरकारपुल’मा त्याे बाँसघारी त्यहाँ अवश्यै छैन होलान् । त्यो चरा पनि छैन होला । अहिले म पहाड़मा छु । रातमा तल बाँसघारीमा ‘बिउ छर’-बिउ छर’, बिउ-कुहियो’ ‘बिउ -कुहियो’’ गर्दै यहाँको कोइली चरा कराएको सुन्छु । म कहिलेकाँही सम्झनामा पहाड़बाट फेरि कोलकाताको त्यही बाँसघारीमा पुग्छु । अनि सम्झन्छु त्यो चरालाई । अनि सम्झन्छु त्यो चराले कराएको आवाजलाई । मनमा चुक चुक खाँदै ओछ्यानमा छटपटिन्छु

त्यस समय मैले सोध्न बिर्सेको त्यहाँको बङ्गाली भाषीहरूलाई – ‘के तिमीहरूले पनि कोइली चराले गएको आवाजलाई ‘बिउ छर’,‘बिउ -कुहियो’ नै सुन्छौँ’ ।

अहिले मेराे सानो दुई वर्षे छोरा युट्युवमा हेर्दै – कुकुर भुकेको आवाजको अनुकरण गरेर ‘ हाम हाम ‘ गर्दै लठ्ठ पर्छ । तर म त्यो आवाजलाई ‘भ्वाऊ भ्वाऊ’ सुन्छु । गिज्याएर ‘मिसेस्’लाई चिड़ाउँछु “ हन यो हाम्रो सानो त ‘भियतनाम’मा पाे जन्म्यो क्या हाे ! ‘हाम’ ‘हाम’ गरेर त कुकुरहरूले भियतनामी भाषामा भुक्छ ! यस तथ्य यहाँ लेख्न अघि पुष्टि गर्न गूगलमा पुनः खोजेँ । ‘हाम, ‘हाम’ ‘त रोमानियन/अलबेनियन भाषामा कुकुरहरूले भुक्दरहेछ । भियतनामी भाषामा कुकुरहरूले ‘गाँउ गाउँ’ (gâu gâu” ) गरे भूक्दरहेछ । अब भियतनामी कुकुरहरूले ‘हाम हाम’ गरेर भुक्छ भन्ने भ्रमको शिकार म कहिले देखि भएँ थाहा छैन ? म भित्र यो विश्वास कहिले पलायो याद भएन ? तर यदि मैले गुगलमा पुनः नखोजेको भएँ मेरो आउँने तर्कहरू मेरे विश्वास( भ्रम ) कै अनुरूप आउने थियो । म एक भ्रम देखि अर्को भ्रममा सर्ने थिएँ । यसलाई संज्ञात्मक मनोविज्ञानमा ( cognitive psychology) विश्वासपूर्वाग्रह (Belief Bias) ‌बाट पीड़ित भएको भनिन्छ । आफु भित्रको भ्रमबाट लोतपोत भएको विश्वासलाई आधार मानेर लेड़ेढिपी गर्नेहरू अन्य अझै केही पूर्वग्रहहरूबाट ग्रस्त हुन्छन् । Confirmation Bias – एउटा हो । आफुले पालेको भ्रमलाई पुष्टि गर्न आफ्नै विश्वासलाई समर्थन गर्ने प्रमाण मात्र खोज्छ र विपरीत बिचार राख्नेलाई ज्ञान नभएको ठान्दछ । Illusory Truth Effect (भ्रामक सत्य प्रभाव ) अर्को पूर्वाग्रह हो । हामीलाई झुट घरि घरि सुन्दा वा पढ्दा त्यो कुरा परिचित साथै सत्य जस्तै लाग्ने भएकाले त्यसलाई हामी बिना तर्क मानी लिन्छौँ, चाहे त्यो गलत नै किन नहोस् । अनि Dunning–Kruger Effect आफ्नो वास्तविक ज्ञान सीमित भए पनि, आफ्नो समूहगत गोष्ठी वा पेसागत दक्षताले गर्दा हामीले राम्रो बुज्छौं – भन्ने भ्रममा हुन्छ । अब अब यस्ता पूर्वाग्रहहरूबाट कुन गुट ( /ड़/ , /ढ़/ राखौँबादी वा या /ड़/ , /ढ़/ हटाउँबादी ) धेरै ग्रसित छ बुझ्न

अघि फेरि कुरा / ङ‌/ मानै लिएर आउँ ।

अघि माथिनै भनियो, कण्ठ्य नासिक्य/velar nasal ) /ङ / ŋ/( IPA symbol) ध्वनि भारोपेली भाषा परिवारका भाषाहरू जस्तै अंग्रेजी, संस्कृत, हिन्दी, मराठी आदि भाषाहरूको शब्द शुरूमा आउँदैन । आधुनिक भारतीय आर्यभाषाहरू मध्ये नेपाली भाषामा मात्रै कण्ठ्य नासिक्य

(velar nasal ) /ङ /ŋ ( IPA symbol) ध्वनि शब्दको शुरूमा आएको रजिस्टर गरिएको छ । जस्तै ङयार्’’ङयार्’, ङुर्र ङुर्र ( चुडामणि बन्धु अनि अन्य ) । हेर्नु पर्ने कुरा के छ भनेँ, नेपाली भाषामा /ङ/ अनुकरणात्मक (Onomatopoeic) शब्दहरूको शब्दशुरूमा मात्र देखिएको छ हेर्नुहोला (नेपाली बृहत् शब्दकोश) । नेपाली बृहत् शब्दकोशमा /ङ/ शब्द शुरूमा आएर बनेको क्रिया विशेषण बुझाउँने अनुकरणात्मक शब्दहरूले नै अधिकतम प्रविष्ट पाएको देखिन्छ । अब भारोपेली भाषा परिवार भित्र पर्ने आधुनिक आर्यभाषाको ध्वन्यात्मक प्रतिबन्ध (Phonotactic constraint ) को कारण /ङ/ शब्द शुरूमा आउँदैन भने नेपाली ध्वनि परम्परामा चाहिँ /ङ/ शब्द शुरूमा कसरी आयो ? यी शब्दहरू त नेपाली भाषाको झर्रो शब्दहरू हुन् ? यी अनुकरणात्मक शब्दहरू नेपाली भाषामा कुन ध्वनि परम्पराको देन हाे उसो भए ? नेपाली भाषामा खस-प्राकृत सँगसँगै भोट-बर्मेली भाषा समूहको पनि आधारभूत संरचना ( substratum) छ । के यो भोट- बर्मेली भाषा समूहको भाषाहरू मगर, तामाङ, गुरुङ, शेर्पा, भाषाहरूबाट आएको हो ? किन भने यी भाषाहरूमा कण्ठ्य नासिक्य (velar nasal ) /ङ /ŋ ( IPA symbol) शब्दशुरूमा राखेर शब्दहरू बनाउन सकिन्छ । यी भाषाहरूमा (velar nasal ) /ङ /ŋ ( IPA symbol) शब्दशुरूमा आउनु कुनै Phonotactic Constraint (ध्वन्यात्मक प्रतिबन्ध) छैन । जस्तै नेपालीको ‘म’/ मलाई यी भाषाहरुमा ‘ङा’ (ŋa) मा अनुवाद हुन्छ ।

भोटबर्मेली भाषामा /ङ/ बाट शब्द शुरू हुने अनेक छन् ।

भारतका उत्तर पूर्वी भाषाहरू जस्तै गारो, मिजो( लुसी), मैती पूर्व एशियाका भाषाहरू कम्बोडिया, बर्मा, भियतनामको भाषाहरूमा /ङ /ŋ/ शब्दको शुरूमा आउँछ। फुर्सद हुने भाषा विज्ञानका जिज्ञासुहरूले शब्दहरू खोजेर कमेन्टमा लेख्नु होला ।

कुरा अब खुबै चाखलाग्दो बनिन्छ- कुरालाई फेरि कुकुरको ‘भ्वाऊ भ्वाऊ’ मै लैजाउँ । अघि हामीले माथि पढ़े

झैँ “नेपालमा थाहा भएन, तर दार्जिलिङमा कुनै एउटा कुकुरले भुक्दा किन सबैले नेपाली भाषाकै ‘भ्वाऊ भ्वाऊ’ सुनेको ? किन आफ्नै जातगोष्ठीको भाषाको ध्वनि परम्परा अनुसार कुकुर भुकेको आवाज (Onomatopoeic words) बेग्ला बेग्लै नसुनेको ? के दार्जिलिङमा सबै भाषाको जात-गोष्ठीले कुकुर भुकेको आवाज आफ्नै भाषाको ध्वनि परम्परा‌ अनुसार श्रवण (auditory perception) गर्न छाड़िसके ? छाड़िसके भने कुकुर भुकेको आवाज नेपालीमै ‘ ‘भ्वाऊ भ्वाऊ’ ’ सुन्ने क्षमता यी गोष्ठीहरूले कसरी विकसित गरे त‌? ” – के सम्पूर्ण नेपाली भाषीहरूले कुकुरको ‘भाउ’,‘भाउ’ सुन्ने क्षमता खस ध्वनि परम्पराबाट विकसित गरे भने ‘ङयार्’’ङयार्’, ‘ङुर्र’ ‘ङुर्र’ सुन्ने अनि उच्चारण गर्ने ( auditory perception and mental reconstruction of the sound and articulation of thus mentally encoded sound ) क्षमता मगर, तामाङ्ग, गुरुङ, शेर्पा ( भोट बर्मेली) भाषाहरूबाट बिकास ( evolution) गरे त ? कुरा सुन्दा अपत्यारिलो लाग्ला तर जब खसहरूको आगमन नेपालमा भयो खस बाउहरूले रैथाने आमाहरूसँग बिहा गरेको कुरा नेपालको मध्य युगको इतिहास पढ्दा हामी चाल पाउँछौ। ( हेर्नुहोला The khasa Kingdom, A trans- Himalayan Empire of the Middle Age, Surya Mani Adhikary, Nirmala publication 1988 , For Bahadur Bista -People of Nepal , Second edition, Kathamandu: Ratna Pustak Bhandar 1971, Dor Bahadur Bista- Fatalism and Development: Nepal’s Struggle for modernisation. Calcutta: Orient Longman:

कुकुरको भ्वाऊ भ्वाऊ’

1991 etc) अब नेपाली ध्वनि परम्परामा कुकुरको ‘भ्वाऊ भ्वाऊ’ सुन्ने अनि उच्चारण गर्ने क्षमता खस बाउहरूबाट अनि कुकुरको ‘ङयार्’’ङयार्’, ‘ङुर्र’ ‘ङुर्र’ सुन्ने अनि उच्चारण गर्ने क्षमता भोट बर्मेली भाषी आमाहरूबाट आए त ? के नेपाली भाषामा ङ /ŋ ( IPA symbol) शब्दशुरूमा मगर, गुरुङ, तामाङ्ग, शेर्पा भाषाहरू बाट आए त ? ( तर यस विषयले अर्कै भाष्य निर्माण को सम्बोधन निर्माणको माग राख्छ । अन्य कुनै समय बेलिविस्तार सँग केलाएर लेखौँला ) यस प्रकारको अध्ययन भारतीय दार्जिलिङको नेपाली भाषा अध्ययनमा कहीँ भएको छ ?

नेपाली भाषाविदहरूले स्वीकार गर्ला ?

अहँ मैले कहीँ भेटिनँ । यसरी हेर्ने सायद यस लेख नै पहिलाे हुन सक्छ ! तर यसरी भाषालाई हेर्ने ‘एप्रोच’लाई नेपाली भाषाविदहरूले स्वीकार गर्ला ? सारसङ्ग्रहबादीहरूले यसलाई भाषा अध्ययन कै अङ्ग मानीलेला कि ? शंका गर्ने थुप्रै ठाउँ छ । किन भनेँ नेपाली बर्ण वैज्ञानिक/ व्याकरणविदहरूको एप्रोच एकदमै संकीर्ण/ असमावेशी छ ।

किन भाषा सम्बन्धित अध्ययन अनि बहसको परिधि हिन्दी, संस्कृत, नेपाली वरिपरि मात्र नै घुमेको ? यसको राजनीति बुझ्न ध्वनि नेपाली ध्वनि परम्परा देखि बाहिर वर्ण-विन्यास/ वर्तनी ( orthography) को राजनीति बुझ्न नितान्त आवश्यक छ । ध्वनिविज्ञान सम्बन्धित द्वन्द्व अनि त्यस द्वन्द वरिपरिको बहस बौद्धिक बहस हो । यसको बहस “रिसर्च पेपर” सेमिनारसम्म सीमित हुन्छ । तर वर्ण विन्यासको सहमत अनि असहमतको बहस विश्वविद्यालयको कोरिडोर देखी बाहिरिएर बजारको सड़कसम्म आईपुग्छ । किनभने वर्तनी/वर्णविन्यासको (orthography) बहस भाषाको लड़ाई नभएर भाषा आधारित ‘सत्ता निमार्ण’को लड़ाई हो । राजनीतिको लड़ाई हो । पहिचानको अनि ‘आफू हुनुको’ (self and being) अवकासको निर्माणको प्रश्न हो। विचारधारा ( ideology ) को लड़ाई हो । कसको बिचार ( ideology) को वर्चस्व शिक्षा/ साहित्यमा हावी हुन पर्छ भन्ने खिचातानी हो ।

दार्जिलिङको भाषाविदहरूले एक्सुता भाषा अध्ययनमा नयाँ आयाम थपेका छैनन्। एक निश्चित काल अवधिमा नेपालका भाषाविद्हरूले ध्वनी विज्ञानमा अनुसंधान गरेको तथ्यलाई नै आधार बनाएर कालेबुङ प्रस्तावना लेखिएको छ । जब एउटा कालअवधि, घटना, वा रिसर्चको निष्कर्षलाई लिएर कुनै कुराको बखान गरिन्छ त्यहाँ राजनीति त हुन्छ नै । त्याे राजनीति साँधसिमाना ( geopolitical) को राजनीति नभएर कुन गुट ( school of thoughts) को विचारधारा समाजमा स्थापना गर्ने अनि निरन्तरता दिने खालको राजनीति हुन्छ। किनभने भाषाविज्ञान विशुद्ध विज्ञान त होइन । Mathematics जस्तो सार्वभौमिक सत्य ( 2+2= 4) हुन्छ भन्ने जस्तो त होइन । भाषाविज्ञानको अध्ययन त प्रसंग सँगत (context driven) हुन्छ । ध्वनि विज्ञानले एउटा तथ्य दिन्छ तर वर्णविज्ञान वा बर्तनी सम्बन्धित अध्ययनले कुन गुटको वैचारिकी ( ideology) समाजमा राख्न पर्ने त्यसगुटको ( ideology) मा भर पर्छ। ध्वनिको अध्ययन त ध्वनि प्राविधिक विकास अनि त्यको गुणवत्ता माथि धेरै हदतक भरपर्छ । जति ध्वनि प्रविधिकको विकास हुन्छ, त्यति नै ध्वनिको अध्ययन अनि परम्परा परिवर्तन हुँदै जान्छ । ध्वनि आफै पनि विभिन्न भाषाहरूकोको प्रभावमा परिवर्तन भै बस्छ । नयाँ तथ्यहरू प्रकाशमा आउँछन् । तर ध्वनिविज्ञान अनुरूप कुनै पनि भाषाको वर्तनी सजिलै परिवर्तन गर्न सकिनँ। जस्तो उच्चारण गर्छौ त्यस्तै लेख्न पर्छ भन्ने नियम सजिलै लागू गर्न सकिनँ । ध्वनि अध्ययन विकासशील हुन्छ । तर भाषाको वर्ण/बर्तानी ( orthography) स्थूल । वर्तनी ठोस अनि अपरिवर्तनीय ( सजिलै परिवर्तन) गर्न नसक्ने हुन्छ । किनभने वर्णविन्यास जाति, पहिचान, अस्तित्व अनि त्यस भाषाको जातिगत सम्मानसँग जोड़िएको हुन्छ । यसकारण नै /ड़/ /ढ़/ हटाउँदा कोहोलो मच्चिएको हो । नेपालमा शहीद, ( सहिद) आकाशलाई ( आकास) शुरूलाई ( सुरू) लेख्दा कोहोलाे मच्चिएको हो । अब भारतीय नेपाली साहित्य जगतमा अनि नेपालमा भाषासँग सम्बन्धित बहस नै , macro linguistic हाे, micro linguistic को बहस होइन । दार्जिलिङबाट/ ड़ / / ढ़ / हटाउने सुनियोजित भाषागत विचारधारा ( ideology) को देखिन्छ अनि यो macro linguistic को वैचारिकीको आयामबाट हेर्न पर्ने हुन्छ । अघि माथि नै हेरियो “ कालेबुङ प्रस्तावना” को पृष्ठ संख्या 25 मा “ अग्र वर्त्स्य– जिब्रोको अघिल्लो भाग वा टुप्पोले वर्त्सलाई हुँदा उच्चरित हुने व्यञ्जन अग्र वर्त्य हुन् । ट, ठ, ड, ढ, …….नेपालीका अग्र वर्त्स्य व्यञ्जन हुन्।

अब “अग्र वर्त्स्य” /ट/ ,/ठ/,/ड/, /ढ/ …….नेपालीका ‘अग्र वर्त्स्य व्यञ्जन’ हुन् भन्ने अध्ययन कसको हो ?

किन यो कसको अध्ययनको निष्कर्ष हाे भनेर “कालेबुङमा प्रस्तावनाको ” सन्दर्भ सूचीमा छैन । किन ‘माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा पुष्कर पराजुली ) ‘उच्च माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा कविता लामा) / ‘कालेबुङ प्रस्तावना’ ( प्रा डा घनश्याम नेपाल अनि अन्य ) ले माथिबाट दार्जिलिङमा थोप्ने काम गर्यो ? किन यी वर्णहरू ‘मूर्धन्य ध्वनि/व्यञ्जन हुनकी “अग्र वर्त्स्य ” ध्वनी/व्यञ्जन हुन्को दार्जिलिङका भाषा लविदहरूमा बहस छैन ? किनभने नेपाली भाषामा आएका ‘झण्डा’, ‘अण्डा,’ ‘गोर्खाल्याण्ड’ सेण्टर, लण्डन ‘जस्ता आगन्तुक शब्दहरूलाई नेपालीभाषामा नेपालीकरण ‘तद्भविकरण’ गरेर ‘झन्डा’, अन्डा, ‘गोर्खाल्यान्ड’ , ‘सेन्टर’ लेख्ने यहाँ भित्राएको वर्णविन्यासको नियम ध्वस्त हुन्छ ।

तर एउटा कुरा भनी राखौँ नेपाली ध्वनिको मूल ध्वनी ‘स’ र ‘न’ मात्र हो । ‘श’, ‘ष’ ‘ण’, ञ, ,क्ष, त्र, ज्ञ, नेपालीभाषामा मुल ध्वनिहरू ( native sounds) होइनन् । भनेपछि नेपाली ध्वनिको मूल व्यञ्जन ‘स’ र ‘न’ ( dental fricative and nasal ) मात्र हो । ‘श’, ‘ष’ ‘ण’ अनि ,क्ष, त्र, ज्ञ, संयुक्त व्यञ्जन ( consonant clusters) नेपाली वर्णको मुल व्यञ्जनहरू होइनन् । नेपालीको मात्र होइन हिन्दी/उर्दू को पनि होइन । ‘स’ र ‘न’ मात्र हिन्दी/उर्दुको मूल ध्वनी हो । ‘श’, ‘ष’ ‘ण’ अनि ,क्ष, त्र, ज्ञ, संयुक्त व्यञ्जनहरू ( consonant clusters) हिन्दी/उर्दुको मुल ध्वनिहरू होइन् । हेर्नु होला , Indo- Aryan Phonology – Pramod Pandey Center for linguistics Jawaharlal Nehru University , New Delhi. यसमा भाषाविद् प्रमोद पाण्डेले /श/ लाई हिन्दी/ऊर्दुको मुलध्वनी माने पनि मञ्जरी ओहाला भन्छिन् हिन्दीमा /श/ शिक्षित साहित्यकारहरूको उच्चारणमा मात्र देखिएको छ । ( हेर्नु होला Aspects of Hindi Phonology, Manjari Ohala Motilal Banarasi Das 1983. अब (‘ड़’, ‘ढ़’ राखौँवादी अनि ‘ड़’ ‘ढ़’ हटाऊँवादीहरूको दुवै गुट ( school of thoughts) को कान टि …नी …नी बज्ने गरी एउटा तथ्य राखौँ ।, ट, ठ, ड, ढ, स, ष, ण ध्वनिहरू पनि संस्कृतको मूलध्वनी ( original sound) होइनन् । क्ष, त्र, ज्ञ, हरू संस्कृतमा संयुक्त व्यञ्जन ( consonant clusters ) मात्रा हुन् । वर्णहरू होइनन् । यी ध्वनीहरू त द्रविड़ियन ( dravidian) भाषाका मुलध्वनि ध्वनीहरू हुन् । अहिले संस्कृत भाषा अध्ययनमा यी मूर्धन्यध्वनिहरू‘ ट, ठ, ड, ढ, श, ष, ण वर्णहरू संस्कृत ध्वनी हाे कि होइन’ को बहस नै छैन । किनभने संस्कृत ध्वनि अध्ययन परम्परामा यी कुराहरू स्थापित तथ्य हुन् । यी मूर्धन्य ध्वनिहरू द्रविड़ियन ( dravidian) ध्वनीहरूबाट संस्कृत ध्वनीमा कहिले ( at which stage ) अनि कसरी ( how) पस्यो त्यसको मात्र बृहत् बहस चल्दै छ । ( हेर्नु होला Aryan and No Aryan India in India: Madhav M.Deshpande and Peter E. Hook, Editor’s Center for South and Southeast Asian Studies, The University of Michigan.Ann Arbor 1979. INDIA AS A LINGUISTIC AREA by MB Emeneau : 1956 अनि संस्कृत ध्वनि सम्बन्धित अन्य सामग्रीहरू) ।

यी ध्वनिहरू नेपालीको मूल ध्वनि होइनन् । हिन्दी/ उर्दूको पनि होइन / संस्कृतको पनि मुल ध्वनि थिएन । भने पछि यत्रो भाषा विवाद के हो । ध्वनि विज्ञानको हो कि ? वर्ण-विन्यासको हाे ? वर्तनी ( orthography) सधैँ राजनीति हुन्छ । ड़ , ढ़ त्यसै राजनीति ( politics of orthography) भएको हैन । किनभने वर्तनी जातिको पहिचानसँग सम्बन्धित हुन्छ। ड़ , ढ़ लाई

दार्जिलिङ चियाबारी, रेल अनि ड़ , ढ़

दार्जिलिङले पहिचान सँग हेरेको छ । जब दार्जिलिङ बनियो, दार्जिलिङ चियाबारी, रेल अनि ड़ , ढ़ सँगै बनियो । यी संस्कृतिक चिह्नहरु दार्जीलिङको पर्याय नै हाे। यसैले नेपाली वर्णमालाबाट ड़ , ढ़ हटाउँदा दार्जिलिङका साहित्यकारहरू तात्तिनुको मनो वैज्ञानिकता यही हो ।

माथि उल्लेखित संस्कृतध्वनि सम्बन्धित ती महत्वपूर्ण तथ्यहरू नेपाली भाषा विज्ञान किताबहरूमा किन छैनन् ? नेपाली भाषाविज्ञानको अध्ययन संस्कृतका व्याकरणविद पाणिनी अनि उनको ‘अष्टद्यायि’ भन्दा किन अघि जाँदैन ? नेपाली संसारका नामचिन् भाषाविद् प्रा डा माधव प्रसाद पोखरेलको “नेपाली वर्ण व्याकरण”मा ( संस्कृत ध्वनि परम्पराको गहिरो विश्लेषण गरेका छन् ) यस तथ्यको उल्लेख किन छैन ? ( कुरा गहिरो छ, बुझ्न पर्छ ) । अब यहाँ अचानक भाषाविद प्रा डा माधव प्रसाद पोखरेलको चर्चा फेरि किन उठाउँन पर्यो ? किनभने उनै भाषाविदको ‘अग्र वर्त्स्य’– जिब्रोको अघिल्लो भाग वा टुप्पोले वर्त्सलाई हुँदा उच्चरित हुनेझर्रोबाद व्यञ्जन अग्र वर्त्य हुन् । ट, ठ, ड, ढ, …….नेपालीका अग्र वर्त्स्य व्यञ्जन हुन् भन्ने निष्कर्षलाई कालेबुङ प्रस्तावनाले लिएका हुन् तर प्रस्तावनाको यसकुराको सन्दर्भ सूचीमा किन छैन ? तर नेपाली भाषाको “भीष्म पितामाह मानिएको ‘बालकृष्ण पोख्रेल’’ र नेपाली भाषाकै ‘पाणिनी भनेर ‘प्रस्तावना’ले श्रीताज लगाएको भाषाविद “तारानाथ शर्मा” कै झर्रोबादलाई किन प्रस्तावनाको आधार बनाएका हुन् ? जबकी नेपाली वर्ण-विन्यासमा झर्रोबाद त्यागी पुरानै वर्ण – विन्यासलाई सही मानेर फर्कने झर्रोवादीहरू मध्ये ‘बालकृष्ण पोख्रेल’’ अनि तारानाथ शर्मा पहिलो थिएनन् र ? उनीहरू सितै झर्रोबाद त्याग्नेहरू नेपालको पहिलो ध्वनि वैज्ञानिक phonetician बल्लभमणि दाहाल पनि होइनन् र ? नेपाली ध्वनिको मुलध्वनि /स/ अनि /न/ मात्र हो , ‘श’ ‘ष’ ‘ण’ नेपालीको होइन भन्ने झर्रोबादीहरूले ‘ ‘ललितपुर घोषणा’ नेकसुले २०६९ माथि हस्ताक्षर गरेको होइन र ? आफ्नै

हातले २०४० मा तयार पारेको ‘’नेपाली बृहत् शब्दकोष ” लाई हामीले गलत गर्यौं भन्दै त्याग्ने भाषाविद् बालकृष्ण पोखरेल नै होइन र ? “कालेबुङ प्रस्तावना” 2017 आएको हो । तर 2013 तिरै बालकृष्ण पोखरेलले लेखेको “ यो फगत प्रस्तावना मात्रै हो !” “माफिनामा”

“ सरलता र एकरूपताका नाममा नेपाली भाषालाई संकीर्ण, अनुदार, असहिष्णु एवम् एकाधिकारी प्रकृतितर्फ घिच्याउने र भाषिक कलहको बीउ रोप्ने अधिकार कसैलाई छैन ।”………..” २०४० मा हामी झर्रोवादीहरू संस्कृत तत्सम बाहेक अन्य भाषाबाट आएका शहर, कानून, रसीद, जादू, शायद आदि शब्दलाई नेपाली भोटो लगाइदिएर तद्भवीकृत नगरे अशुद्ध घोषित गथ्यौँ । त्यसवेला मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित ‘बृहत् नेपाली शब्दकोश’ को यो पापको ‘नेकशुले- २०६९’ मार्फत मैले प्रायश्चित्त गरेको छु । अघिनै लेखिसकेका थिएनन् र ?

”( हेर्नुहोला कान्तिपुर’ शनिवार, ९ असार २०६९ / ६४ / रचना भदौ-असोज २०८१ पूर्णाङ्क – १९०, काठमाण्डौ । अझ बालकृष्ण पोखरेलको ‘ भाषामा अराजकता चल्दैन ‘( कान्तिपुर’ २४ वैशाख २०७२ पृष्ठ संख्या ७०/ रचना भदौ-असोज २०८१ पूर्णाङ्क – १९०, नेपाली भाषामा संयुक्त अक्षरको महत्व, तारानाथ शर्मा ( हेर्नुहोला अन्नपूर्ण पोस्ट’ ६ कात्तिक २०७३/ १३२/ रचना भदौ-असोज २०८१ पूर्णाङ्क – १९०) ‘बालकृष्ण पोखरेल’ अनि ‘तारानाथ शर्मा’ एक समय

नेपाली भाषा अध्ययनमा नेपालमा “ रकस्टार’ थिए । अनि “कालेबुङ प्रस्तावना” लाई आफ्नो वैधानिकता स्थापना गर्न पनि चाहिएको पनि ‘बालकृष्ण पोखरेल’ अनि ‘तारानाथ शर्माको त्यै रकस्टार’ इमेज मात्रवहो। किनभने दार्जिलिङमा भाषा बहसमा बिक्ने नाम भनेको नै ‘बालकृष्ण पोखरेल’ अनि ‘तारानाथ शर्मा’ नामहरू हुन् । नत्रभने कालेबुङ प्रस्तावना लेखिन १० १२ वर्ष अघिनै कान्तिपुरमा छापिएका ‘बालकृष्ण पोखरेलको “माफिनामा “ अनि नेक्सुले २०६९ मा सहीछाप कालेबुङ प्रस्तावनाका प्रस्तावकहरूलाई थाहा थिएन ? प्रस्तावकहरूले थाहा थिएन भन्न पाउने छैनन्। ( कुरा गहिरो छ। ) जुन झर्रोबादलाई त्यागी पुरानै पारम्परिक वर्ण विन्यासमा फर्केर अन्नपूर्णपोस्ट

कालेबुङ प्रस्तावनामा ‘फोरग्राउन्ड’

अनि कान्तिपुरमा छपाएका नेक्सूले मार्कापरेका बालकृष्ण पोखरेल अनि तारानाथ शर्माका लेखहरूलाई गौण राखी उनीहरू कै झर्रोबादलाई कालेबुङ प्रस्तावनामा ‘फोरग्राउन्ड’ गर्नेको पछि कस्तो राजनीति ( interest) छ ? झर्रोबाद दार्जिलिङले शुरू गरेको हो कि नेपालले ? यसको निम्ति दार्जीलिङभाषिका ( Darjeeling dialects ) कुरा पुनर्जीवित पुनः अवलोकन गर्नु पर्ने हुन्छ ! Darjeeling dialects लाई कसरी किनारिकरण गर्यो अनि भाषाविज्ञानमा अध्ययनमा यस विचारलाई कसरी मारियो ( effectively killed) त्यो अब हेर्ने पर्ने हुन्छ ! 1900 शताब्दीको दार्जिलिङको ध्वनिपरम्परा अध्ययन ( reevaluation) हुन आवश्यक छ। किनभने हामी जे उच्चारण गर्छौ त्यहि लेख्छौंको झर्रोबाद दार्जिलिङ हो।

समावेशी अवधारणा

त्यो “कहाँ र कसरी” हुन्छ भनेर छुन अघि फेरी हल्का हाम्रा “समावेशी अवधारणा दार्जिलिङ़े साहित्यमा” शुरू गर्ने साथीहरूको समावेशी अवधारणालाई हेरौँ ।

अघि माथि लेखियो

“ नेपाली बर्ण वैज्ञानिक/ व्याकरणविदहरूको एप्रोच एकदमै संकीर्ण/ असमावेशी छ । “

शीर्षक “आजको लेखन भनेकै समावेशी हो “ लेख्ने प्रा डा वासुदेव पुलामी लेख्छन् “ आजको लेखन बहुस्वरीय छ । समाजका विभिन्न पाटाहरूबाट अनेक थरी लघु स्वरहरूले शीर उठाउन खोजिरहेको समसामयिकता छ । वर्षोंदेखि थिचिएका लघुस्वरहरू तीव्र रूपमा उच्चारिन वा समानान्तर गतिसित अघि आउन खोजिरहेका छन् । ती स्वरहरू विविध विचारधाराहरूका चौघेराबाट मुक्त छैनन् । एककेन्द्रवादी महाख्यानको अवधारणा अब ध्वस्त हुँदै जाँदो छ, बहुस्वरूपीय लघु आख्यानका विकेन्द्रीकृत स्वरहरू चारैतिरबाट उच्चारिएका छन् ।….. यस्ता प्रश्नहरूले पनि टाउका नउठाएका भने होइनन् । वास्तवमा महाख्यानविरुद्ध उठेका यस्ता लघु आख्यानहरू समावेशी सहअस्तित्वमा चलायमान रहेका छन् । अर्थात् आफैमा समानान्तर केन्द्रकहरूमा समावेशी छन् । समाज-सांस्कृतिक संरचनालाई गहिरिएर अध्ययन गर्दा, त्यसका स्वरहरू सुन्दा यस्ता केन्द्रकहरूका केही पाइतो समात्न सकिन्छ । हाम्रा जातिक संरचना, भाषिक संरचना र सांस्कृतिक संरचनालाई हेर्दा पनि यी घटकहरू महत्त्वपूर्ण रूपमा समावेश भएर आएका छन् । वास्तवमा केन्द्रको निर्मिति भनेकै विकेन्द्रीकृत लघु सङ्कथनहरुको समावेशी अवधारणा हो । विकेन्द्रीकृत लघु आख्यानहरू समावेश भएर मात्रै एकाअर्कामा अस्तित्वमान हुन्छन् ।” (‘समावेशी अंक २ २०१९ )

किन समावेशी अवधारणाका ( केही साथीहरूले ) नेपालीभाषाको वर्ण वैज्ञानिक/ व्याकरणविदहरूले बनाएको भाषिक महाआख्यान ( Kathmandu Centric Linguistic Grand Narrative) हो अनि त्यस भित्र आफै रू मलिएको कुरा बुझ्दै बुझेनन् ? “वास्तवमा केन्द्रको निर्मिति भनेकै विकेन्द्रीकृत लघु सङ्कथनहरुको समावेशी अवधारणा हो” लेखेर समावेशीहरूले समावेशीताको वकालत गर्ने साथीहरूले नेपालमा निर्मित “भाषिक महाआख्यानमा ” आफै पिल्सिएको नबुझ्नु पनि डा इन्द्र बहादुर राईको “ लीला बोध हो ” हो । “ लीला भ्रम” हो । / ड़ /, / ढ़ / को पक्षमा दार्जिलिङमा उठेको आवाज काठमाण्डौमुखी ‘भाषिकमहा आख्यानको’ विपरीत ‘ ‘लघुआख्यान’ ( little narrative) को स्वरको रूपमा हेर्न सकिन्छ ! के भाषा अध्ययनमा हेर्न सकिन्न र यसरी हेर्ने सकिन्न र ? ( पछि बृहत रूपमा हेर्ने छौ ) दार्जिलिङमा समावेशीगुटका साहित्यकार साथीहरूले जुन भाषामा नेपाली साहित्यमा समावेशीताको कुरा उठान गरे, त्यही भाषा नै नेपालमा चरम असमावेशीताको द्योतक हो भन्ने कुरा बुझेकै छैनन् – देशभित्र भाषाको प्रयाेगको रूपमा पनि अनि विश्वविद्यालय भित्र भाषा अध्ययनको एप्रोचमा पनि ।

नेपालमा नेपाली भाषा सिङ्गो देशको मातृभाषा होइन । कुनै समय राष्ट्रिय भाषाको रुपमा मानिएता पनि अहिले नेपालको संविधानमा राजकिय भाषाको रुपमा अंकित छ । नेपालमा नेपाली भाषा सधैँ मुख्य जनसम्पर्कको ( lingua franca) रूपमा रहेको छ। सिक्किमले पनि नेपाली भाषालाई मुख्य साथै आसामका नेपाली भाषीहरूले जनसम्पर्ककै( lingua franca) रुपमा हेरेको छ । हिजअस्ति हिमालय दर्पणका मुख्य सम्पादक शिबु क्षेत्री ज्युकोको एउटा अनलाईन आर्टिकल पढेको थिए नेपालीभाषा दार्जिलिङमा जनसम्पर्क( lingua franca) को भाषा भनेर। तर्कहरू सारै जाँगरिलो छैन, । ( खोजेर पढ्नु होला अनलाईन मा) सिङ्गो नेपालीभाषी बहुल क्षेत्रमा दार्जिलिङमात्र एउता यस्तो क्षेत्र हाे जसले अहिलेसम्म नेपाली भाषालाई आफ्नो मातृभाषा मानेको छ ( पढ्नुहोला डा कुमार प्रधान/ डा इन्द्र बहादुर राई) । दार्जिलिङ, दार्जिलिङ बनेको नैं नेपाली भाषाको धरातल टेकेर हो । नेपालमा नेपाली भाषा बनेको नै अन्य भाषाको परिधि मिचेर हो ।

यदि “इलाम साहित्य महोत्सव २०८०” मा म सहभागी भएर नगएको भए यस कुरालाई बुझ्ने नै थिइन । यताबाट लाने राजा पुन्यानी नेपालबाट बोलाउने कविता गाउँले राई, विमल बैध, प्रकाश थाम्सुहाङ , हाङयुग अज्ञात अनि त्यहाँ भेटिएका ( दिपक लुङ्गेली, बच्चु हिमांशु, सुनिता तामाङ्ग अनि सूर्य किरण ( काठमाडौं) लाई सम्झना) ।

नेपाली भाषा माथि बंगाल सरकारको राजनैतिक दाउपेच

राजनैतिक, सामाजिक अनि साहित्यिक बहस कसरी गरिन्छ /गर्नुपर्छ, इलामको साहित्य महोत्सवले सिकाउँछ । यस्तै एउटा बहस थियो “मातृभाषाको सकस ”। बहसको प्यानलमा थिए, चन्द्रकिशोर ( मैथलीभाषा अभियान्ता/नेपालको तराई), सुरेश किरण ( नेवारी भाषा अभियान्ता/ काठमाण्डौ, गौरी तमु ( गुरुङ भाषा अभियान्ता/पोखरा । सहजकर्ता सुमन लिङ्देनद्वारा चलाइएको त्यस बहसमा नेपालमा नेपाली भाषाले राज्यसत्ताको हातमा बसेर कसरी क्षेत्रीय मसिना भाषाहरूलाई अतिक्रमण गरेको रहेछ, सुनेर अवाक भएँ । म भनेँ २०१७ मा “आफ्नो मातृभाषा” नेपाली माथि बंगाल सरकारले राज्य सत्ताको भाषा बङ्गला निम्न बुन्यादी तहमा थोप्ने राजनैतिक दाउपेचमा सम्पूर्ण पहाड़ जलेको आलो सम्झना लिएर दर्शकदीर्घामा बसेको मान्छे । हामी ‘यहाँ’ मातृ भाषा बचाउँन लड़िरहेको छौँ । ‘उता’ नेपाली भाषाले ‘हामीलाई’ किनारीकृत गर्यो भनेर क्षेत्रीय भाषाहरू लड़िरहेका रहेछन् ( लिङ्क युट्युबमा छ, खोजेर हेर्न नछुटाउनु होला ) । जति बहस चम्किँदै गयो नेपालमा नेपाली भाषामा त्यति नैं उपनिवेशी रङ्ग चड्दै गयो त्यतिनै मनमा मेरो दार्जिलिङमा डा कुमार प्रधान अनि डा इन्द्र बहादुर राईले खिपेका नेपाली भाषाको समावेशिताको भाष्य स्पष्ट हुँदै गयो ।

नेपाली भाषाले ल्याएको एकीकरण

नेपालमा र दार्जिलिङमा नेपाली भाषाले ल्याएको एकीकरणलाई फरक एप्रोचले हेर्न पर्ने हुन्छ । नेपालले आफैंलाई एकीकृत बनाउन भाषालाई हथियारको रूपमा प्रयोग गर्यो । दार्जिलिङले आफैंलाई एकीकृत बनाउन नेपाली भाषालाई आत्म-रक्षा ( self defence) को रूपमा प्रयोग गरेको गर्यो । २०१७ को आन्दोलनलाई राजनैतिक विश्लेषकहरूले ( GTA को आर्थिक हिनामिनाबाट सत्ताले रचेको प्रायोजित) विभिन्न कोणबाट हेरे पनि, बाटोमा पुलिसको गोली खानेहरू भाषा नै बचाउँन लड़िरहेको थिएन र ? त्यस आन्दोलनमा साधारण जनताले झेलेको दुःख पहाड़मा बंगाली भाषाको मातृभाषा माथि अतिक्रमण हुने संशयले होइन र ? यसैले डा कुमार प्रधान अनि डा इन्द्र बहादुर राईको नेपाली भाषाको समावेशी भाष्यको समसामयिकता सार्वकालिक बन्न जान्छ । भाषा आफै असमावेशी/समावेशी हुँदैन । तर राजनैतिक सत्ताले कसरी भाषा/ लिपिलाई हतियारको रूपमा प्रयोग गर्छ (weaponise) राणाकालीन नेपाल एउटा उदाहरण हो । एतिहासिक ( diachronic) कॉलखण्डमा देवनागरी लिपिमा लिखित नेपाली भाषाको स्थापना र काठमाण्डौको मौलिक लिपि “रञ्जना लिपी” को ह्रास प्राकृतिक नभई शाह र राणाकालभरि चलेको दण्डनीय राजनैतिक नीतिको परिणाम थियो । राणा शासनकालमा देवनागरी लिपिलाई समर्थन गर्दै “ एक देश एक लिपि” को नीति लागू गरियो, जसले नेपालको परम्परागत लिपीको सबैभन्दा क्रूर दमन, भयाे । आधिकारिक, व्यापारिक र शैक्षिक क्षेत्रमा यसको प्रयोगमा प्रतिबन्ध लगाइयो । (नेवारी) रञ्जना लिपिमा लेखिएका सम्पति/जमिनको कागज/पूर्जा रद्द गरेर आर्थिक दबाउ दि देवनगरीलिपि स्थापना गरियो अनि लेखकहरूलाई जेल हाल्ने र पुस्तकहरू जलाउने साहित्यक दमननीति अपनाएर सांस्कृतिक र राजनीतिक केन्द्रीकरणको उद्देश्यका साथ यो लिपिलाई राज्य दमन र जबरजस्तीको राजनीति गरी विस्थापित गरियो । यसको अध्ययन ( macro-linguistic ) भित्र पर्छ, सारसंग्रहवादीहरूले बुझौं होला।

भाषाविद डा माधवप्रसाद पोखरेलले राखेका एउटा तथ्यलाई हेरौँ,

दिल्लीलाई मुसल्मानहरूले शासन केन्द्र बनाए।

उनीहरूले आफ्ना विधर्मीहरूका विरुद्ध अत्याचार गरे । त्यसको सिकार कन्नौजका गुर्जर प्रतिहार वंशी राजाहरू पनि भए । मुसल्मान शासकहरूको अत्याचार विरुद्ध राजस्थानका शासकहरूले धेरै ठूलो प्रतिरोध २ बलिदान गरे पनि अन्त्यमा तिनीहरू मुसल्मान शासकहरूद्वारा बढारिए । कन्नौजदेखि नेपालको सुर्खेत र जुम्ला हुँदै कैलास मानसरोवर क्षेत्रसम्म तीर्थ यात्रा गर्ने प्रागितिसिक बाटो प्रयोग गरेर उत्तर भारतक विस्थापित भएका शासकहरूका अनेक बगाल आफ्नो धर्मको समेत गर्न पश्चिम नेपालमा शरण लिन आए । कैलास मानसरोवर क्षेत्रको गुगे र पुराङमा शासन गर्न पुगेका त्यस्तै पाल वंशी र नाग वंशी राजाहरू नै त्यसपछिका शताब्दीमा पश्चिम नेपालको कर्णाली क्षेत्रमा समेत राज्य गर्य देवनागरी लिपिमा नेपाली भाषामा आफ्ना ऐतिहासिक अभिलेखहरू प्रयोग गर्ने तिनै राजाहरू हुन् । यसरी ११ औं १२ औं शताब्दीमा जारी भाऊ तिनै अभिलेखहरू नै नेपाली भाषाका पनि सबभन्दा पुराना अभिनेत भएकाले नेपालमा नेपाली भाषा र देवनागरी लिपिको इतिहास गाँसिएको देखिन्छ ।”

“नेपाली वर्ण व्याकरण / १२८” डा. माधवप्रसाद पोखरेल

डा. अपर्णा पोखरेल नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी, काठमाण्डौ।

मेरो अध्ययनको समयमा भेटेको अर्को तथ्य हेरौँ,

“ मार्कण्डेयमहापुराण” कहिले रचिएको भन्ने कुरामा हामी यस्तो तथ्य पाउँछौ। मार्कण्डेयमहापुराणलाई पाँच भागमा बाँड्न सकिन्छ । भाग चारको विषयमा यस्तो लेखिएको पाउँछौँ ।

. It is a poem complete in itself.

4. Chapter 80-89, the Devi-māhātmya, a pure interpolation, in which the real speaker is a rşi named Medhas, and which is only repeated by Märkandeya……..The Devi-mahatmya stands entirely by itself as a later interpolation. It is a poem complete in itself. Its subject and the character attributed to the goddess show that it is the product of a later age which developed and took pleasure in the sanguinary features of popular religion. …..The Devi-mähätmya must have originated in some place dedicated to the goddess in her terrible form. The poem has now become a text-book of the worshippers of Kālī throughout Northern India and in Bengal, especially at the great Durga-pūja festival, but it did not originate in Bengal……The question of the date of the Purina is more difficult, since all questions of chronology in Sanskrit writings are most uncertain. One definite and important date may be first noticed. Mahāmahopadhyāya Haraprasad Śästrī found a copy of the Devi-mähätmya in old Newari characters in the Royal Library in Nepal, and it is dated 998 A.D. (See his Catalogue). It may be safely inferred therefrom, that this poem must have been composed before the beginning of the 10th century at the latest. The Devi-mahātmya cannot therefore be later than the 9th century and may be considerably earlier. Since it is the latest part of the Purana, the other parts must have been composed earlier, and the question for consideration is, how much earlier? ( हेर्नु होला -Page No iv to x preface to THE MĀRKANDEYA-PURĀŅAM मार्कण्डेयमहापुराणम् SANSKRIT TEXT, ENGLISH TRANSLATION WITH NOTES AND INDEX OF VERSES English Translation According to, F. EDEN PARGITER, Edited with Sanskrit Text and various notes By Joshi K.L. Shastri, First Edition 2004, Primal Publication, New Delhi.)

यस लेख भाषा अध्ययनको निम्ती लेखिएको कारण, यहाँ भाषा बहसको निम्ति चाहिएको सामग्री मात्र माथि उल्लेखित तथ्यहरूबाट टिप्ने छौँ।

998 AD अघि

११औं अनि १२औं शताब्दी तिर नेपालको पश्चिम अञ्चलमा भर्खर देवनागरीमा अभीलेखहरू लेखिन्दै थियो भने , नेवारी लिपिमा “ Devi-mahātmya” काव्यिक रचनाको सिङ्गो लेख 998 AD अघि लेखी सकिएको रहेछ ।

हामी २१ औं शताब्दीमा नेपाली भाषामा मानकीकरणको चर्चा गर्दैछौँ। तर काठमाण्डौमा देवनागरी लिपिलाई कसरी ( foregrounding) गरियो त्यसको चर्चा गरिरहेको छैनौँ । नेपालको राजधानी काठमाण्डौ अनि वरिपरि बोलिने नेपाली भाषिकालाई नेपाली संसारको प्रतिष्ठित (prestige) भाषा कसरी बनाइयो , त्यसको चर्चा गरिरहेको छैनौँ । काठमाण्डौ भाषिका कै लेख्य रूपलाई अहिले सारा नेपाली संसारमा “ मानक भाषा अनि एकरूपता ” को नाममा एकीकृत गर्ने जून दाउपेच छ यो भारतका नेपाली भाषीहरूले चर्चा गरिरहेको छैनौँ । प्रतिष्ठित भाषा (Prestige Language) लाईसमाजमा उच्च सामाजिक, आर्थिक वा शैक्षिक स्थान भएका मानिसहरूले प्रयोग गर्ने, सम्मानित र मान्यता प्राप्त भाषाको रूपमा पमा हेरिन्छ । सामान्यतया कुनै देशको राजधानीमा राज्य सत्ता, शिक्षा। संस्थान, प्रशासन र मिडिया, पब्लिकेसन हाउस आदिम प्रयोग हुन्छ। अहिले काठमाण्डौ भाषिकालाई नै सारा नेपाली संसारमा लेख्य एकरूप दिने धेरैको (self interest) यो बुझ्न आवश्यक छ। धेरैले

भाषा/ साहित्यको जात हुँदैन, धर्म हुँदैन, लिङ्ग हुँदैन, भूगोल, सिमाना हुँदैन भन्ने जस्तो काठमाण्डौ केन्द्रित भाषिक एकीकरणको भाष्य निर्माण गर्दैछन् – त्यो केन्द्रको अवधारणा हो । यो केन्द्रको भाष्य हो , किनारमा बस्नेहरूको होइन । अनि दुइ देश कै ( नेपाल अनि भारत) को किनारमा बस्ने दार्जिलिङले बुझ्न पर्छ उसको केन्द्र ‘दिल्ली’ हो । अनि के दिल्लीले ‘ परिबर्धित देवनागरी २०२४) लाई आफू खुशी छेड़खानी‌गर्ने अनुमति दिएको छ ? । आठौँ सूचीमा अन्तर्भुक्त भाषाहरूको स्तरिकृत अनि मानाकिकृत भारतीय आर्य भाषाहरूको देवनागरी लिपिको वर्णमाला स्वइच्छाले परिवर्तित गर्ने क्षमता के भारतीय संविधानले कुनै सँस्था अनि ब्यक्ति/ व्यक्ति समूहलाई दिएको छ ? “ हेर्नुहोला (देवनागरी लिपि एवं हिंदी वर्तनीका मानकीकरण संशोधित संस्करण 2024 केंद्रीय हिंदी निदेशालय शिक्षा मन्त्रालय ( उच्चतर शिक्षा विभाग ) भारत सरकार। ( स्पष्ट व्याख्याको आवश्यता छ – पछि हेर्ने छौँ )

दार्जिलिङले भाषालाई कहिले हतियारको रूपमा प्रयोग गरेन। समकालिक (Synchronic) समयको एउटा निश्चित बिन्दुमा आधुनिक नेपाली भाषाको व्याकरण र वर्तनी कस्तो छ भनेर कुराको विश्लेषण गर्न हो भने आजको वर्णवैज्ञानिक/व्याकरणविद्हरूले नेपालको अन्य भाषाप्रतिको एप्रोच एतिहासिक ( diachronic) कालखण्डको राजतन्त्र अनि पञ्चायत कालिन आत्मा ( spirit) लाई नै पछाएको देखिन्छ । एतिहासिक ( diachronic) कालखण्डमा राजतन्त्र अनि पञ्चायतकालमा नेपाली भाषाको नारा “ एक देश एक लिपि” बनाएर नेपालको मौलिक लिपिहरूलाई विस्थापीत गर्ने कार्य भयो भने, समकालिक (Synchronic) समयमा नेपाली भाषाको नारा “ एक देश एक बर्तनी’ ( यो नारा मेरो हो) ले नेपाल राजतन्त्र ( Monarchy) देखि संवैधानिक संघीयता (constitutional federalism) सम्म आइपुग्दा पनि नेपाली भाषाले नेपालकै अन्य भाषाका शब्द हरूलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएन । अहिले पनि नेपाली भाषाले नेपालका १२२ वटा भाषाबाट आएको शब्दहरूलाई ( loan words) आगन्तुक ( देश ) को रूपमा हेर्छ। ( यसको सुक्ष्म विवेचना पछि हेर्ने छौँ)

क्रमश

प्रकाशित मिति: ८ कार्तिक २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com