प्रकाश दिप्साली राई

‘आफ्नै मर्जीले त धर्म पनि उसले चुनेको थिएन
उसको धर्म थियो जो, उसले आमाबाउबाटै
विरासतमा पाएको थियो

आफ्ना आमाबाउ चुनोस् कसैले, यो सम्भवै कहाँ छ र
न देश उसले रोजेको थियो, न ठेगाना नै

उ त केवल नौ वर्षको थियो, उसलाई पक्रिएर किन,
साम्प्रदायिक दङ्गाले हत्या गर्यो हिजो ?’
(दङ्गा -२/रोशन परियार)

२०८२ मा मौसम र परिवेशले नयाँ भाष्य बनाएर गयो ‘चैते झरी’। २०८३ आगमनसँगै दुईचार दिन यता प्रचण्ड गर्मीको साम्राज्य । यद्यपि गत शनिबार धरानमा माथि उल्लेखित कविताहरुको गुञ्जनले ती गर्मीलाई अलग्गै राख्यो र अडियन्सहरुमाथि कविताले राज गर्यो । सन्दर्भ थियो ‘गुल्जार कविता र हामी’ ।

हिन्दी साहित्यका विख्यात कवि गुल्जारका कवितालाई प्रख्यात कवि सुदिप पाख्रीनद्वारा अनुवाद गरिएको कविता कृति ‘गुल्जार कविता’माथि परिचर्चासँगै कविता वाचन कार्यक्रमको संयोग थियो । जहाँ सात जना अग्रज /अनुज कविहरुले अनुवादित गुल्जारका कविताहरु वाचन गरेका थिए ।
‘लहलहाउँदो हरियो उसको
पहेलिएको छ दुई दिनदेखि
हावाको झोँक्काले यसो छुदा पनि काम्न थाल्छ ऊ

जुन रुखमा झुन्डिएको छ
डुबिसकेको छ त्यो आधा, बाढीको पानीमा
अझै कति बढ्ने हो पानी, थाहा छैन

त्यो एक्लो पात, रुखलाई भनिरहन्छ
नडराउ..म छु तिम्रो साथमा !
नडाराउ..म छु तिम्रो साथमा !!’
(क्लोजअप/ सविता फागो)

सिमित कविताका श्रोता, कविता सुन्न आतुर जस्ता देखिने कविताका पारखीहरू। धनकुटा, झापा, मोरङ, सुनसरीका अनेक भूभागका स्वयं कविता झैँ लाग्ने श्रोताहरू, त्यसमाथि लिजेन्ड कविहरुको गुल्जारका कविताहरुमाथिको शसक्त धारणा । जुन धारणा सुन्दा पनि कविता लेख्न थाली हालौँ झैँ हुटहुटी बनाउने खालका अनुवादक सुदिप पाख्रीन अनुवादित कविताहरुको बारेमा भनाइहरू राख्न मञ्चमा उक्लिए, तर उनले कविताका पारखीहरू माझ लेहेन्दी र पट्यार लाग्दा भाषण गरेर दर्षक दिर्घालाई दिक्क लगाएनन् । गुल्जारका कविताहरु जस्तै सटिकमा धेरै कुरा राखेर ओझेलिए। उनले सारमा ‘गुल्जारका कविताहरुले कति ठाउँमा खुसी भएको छु अनि जति आह्लादित भएको छु त्यति नै रोएको पनि छु । यो अनुवादको प्रयत्न मेरो बिलकुल गुल्जारप्रतिको आस्था , प्रेम र लगाव नै हो ।’ मात्र भन्न भ्याए । अनि त सबै एकपछि अर्को गर्दै कवितामा उर्लिए भावहरू।
‘तिम्रो चिठी आइरहँदा मलाई याद आइरहन्थ्यो
तिम्रो आवाजको सुर पनि !
तिम्रो आवाजलाई कागजमा राखेर,
मैले चाहन्थेँ कि ‘पिन’ले उनुँ,
जस्तो कि, पुतलीका पखेटा उन्छन् कोही
आफ्नो एल्बममा !
तिम्रो ‘ओइ’लाई दबाएर बोल्नु,
‘वाउ’ भन्दा ओठ गोलो भएर घुम्थ्यो !

निकै दिन भयो देखेको छैन तिमीलाई ,
न चिठी नै पाएको छु –
निकै दिन भयो साँच्चै!
तिम्रो आवाजको बाछिटामा भिजेको छैन म !’
(बाछिटा/ प्रदिप योङहाङ)

कतिपय साहित्यिक कार्यक्रमहरू पट्यारलाग्दा हुन्छन् । सुरु हुन्छ खासखुस । हुन थाल्छ छेउका साथीसङ्ग प्रसङ्गबाहिरका गफ अनि कार्यक्रम प्रस्तोताले भन्नुपर्छ-‘प्लिज सबैको ध्यान यता खिच्न चाहन्छु ।’ तर धरानको ‘होटल रत्न इन’को सभाहलमा त्यसो भएन । बरु परिचर्चाकारहरुको भनाई सुन्नलाई समेत उपस्थित कविताका प्रेमीहरू चनाखो भएको दृष्य देखियो ।

कवि इन्दु योञ्जनले सहजीकरण गरेको सो कार्यक्रममा कविताका पाठक निला तामाङ, कवि बद्री भिखारी र प्रख्यात कवि बम देवानले सो कविता कृतिमाथि परिचर्चा गरेका थिए । कवि वम देवानले धरानमा बाक्लो साहित्यिक गतिविधि भए पनि अनुवादको हिसाबले सो कार्यक्रम ऐतिहासिक भएको बताए । ‘मनको कुरा भन्नू पर्छ? गुल्जारका कविता पढ्नुस् , विद्रोह कसरी गर्नुपर्छ ? गुल्जारका कविता पढ्नुस्’, देवानले थपे ।

कविहरु समीक्षा छिलिङ, सनम तामाङ, याक्दुहाङ धिरजले पनि सो कृतिभित्रका कविताहरु वाचन गरेका थिए ।

कवि तथा समालोचक राजेश विद्रोहीको सभाध्यक्षमा सम्पन्न सो कविता कृति र कार्यक्रमको उपस्थितहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेका थिए । मेरो छेवैमा बस्ने कवि बहिनी सीमा मादेनले ‘वृक्षहरु जब सोच्न थाल्छन्’ शीर्षकको कविता देखाउँदै भनिन्, ‘सर कस्तो दामी कन्सेपको कविता?’, दङ्गा -२ कविताले आमाहरुले गहभरी आँसु जमाए, सायद अनाहकमा आन्दोलनको नाममा गुमाएका आफ्ना सन्तान सम्झेको हुनुपर्छ अनि सम्झेको हुनुपर्छ जेन जी आन्दोलनमा सहादत प्राप्त गर्ने निर्दोष ती बालबालिकाहरू। ‘कसो आजको कार्यक्रम छुटाइएन नत्र पछुतो हुन्थेछ,’ एक कविताप्रेमी भन्दै थिए । र सबैले भन्दैथिए, ‘गुल्जारका यति मीठो कविताहरु अनुवाद गरेर हामीलाई रसस्वादन गराउनुभएकोमा कवि सुदीप पाख्रीनलाई साधुवाद धन्यवाद।’
‘तिमीसँग बिछोड बाँडे, रिस, सम्झौता, एक्लोपन पनि,
सारा प्रपञ्च बाँडे, झुट पनि र सत्य पनि,
मेरा पीडा सहेकी छौ तिमीले ,
तिम्रा सारा पीडा मेरा जोर्नी हुँदै बगेका छन्

सँगै बाचेका छौँ –
सँगै मरौँ, यो कसरी सम्भव हुन सक्छ ?

दुईमध्ये एकजनाले एकदिन,
अर्कोलाई मसानघाटमा छोडेर,
एक्लै फर्कनु त छँदैछ ।
ओई,बूढीमाउ!’
(ओई बूढीमाउ/मुकुन्द प्रयास)
***

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com