१३ – बैशाख काठमाडौं – तेह्रथुमको वसन्तपुर क्षेत्रमा शनिबार कवितामय वातावरण सिर्जना भएको छ। सावायत्हाङस्थित चुम्लुङ ढुंगा अगाडि आयोजित विशेष साहित्यिक कार्यक्रममा १७ जना कविहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै गाउँ, प्रकृति र पहिचानका विषयलाई गहिराइका साथ उजागर गरेका थिए।
कार्यक्रममा लालीगुँरास नगरपालिकाका नगर प्रमुख तथा कवि अध्येता अर्जुन माबोहाङले ‘ए शहर लैजा तेरो सिंहदरबार शीर्षकको प्रभावशाली कविता वाचन गरे। उनले गाउँको मौलिकता, संस्कृति र प्राकृतिक सम्पदामाथि बढ्दो शहरीकरणले पुर्याएको असरलाई तीक्ष्ण रूपमा प्रस्तुत गर्दै गाउँप्रतिको पीडा र चिन्ता व्यक्त गरे। उनको कविताले उपस्थित दर्शक तथा श्रोताहरूलाई गहिरो भावनात्मक स्पर्श गराएको थियो।

माबोहाङको प्रस्तुतिपूर्व कविहरू सुष्मा दाहाल, विक्रम पौडेल, राजकुमार तरेवा, पुष्पा बोगटी, महेश दोस्ताज, सीता तुम्खेवा, रुमानी कुलुङ, टोलीप्रसाद राजवंशी, सन्ध्या सुब्बा, प्रवेश हाङ्स्रोङ, साङसेन पङ्धाक, गगन योक्पाङ्देन, विराट किराँती, दर्शन घिमिरे, टीका भाइ र नरेश काङमाङ राईले पनि आआफ्ना कविता वाचन गरेका थिए।
युमा सङ्ग्राहलय, सिरिजङ्गा साप्लाहिम र यवाहिम जस्ता सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूलाई पृष्ठभूमिमा राखेर प्रस्तुत गरिएका कविताहरूले स्थानीय पहिचान, भाषा, संस्कृति र प्रकृतिप्रतिको माया झल्काएका थिए।
विशेषगरी कवि प्रवेश हाङ्स्रोङले गाउँको अभाव र शहरको आकर्षणबीचको द्वन्द्वलाई मार्मिक रूपमा उतार्दै श्रोताहरूको ध्यान खिचे।
कार्यक्रमले ग्रामीण जीवनको यथार्थ, सांस्कृतिक संरक्षणको आवश्यकता र अव्यवस्थित शहरीकरणप्रति चिन्ता व्यक्त गर्दै साहित्यमार्फत समाजलाई सचेत गराउने सशक्त प्रयास गरेको आयोजकहरूले बताएका छन्।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

प्रतिक्रिया