काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अन्तर्गत अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।
फिफाको निर्णयसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त सबै अधिकार गुमाएको छ। निलम्बन अवधिभर एन्फाको प्रतिनिधित्व गर्ने राष्ट्रिय टोली तथा नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।
त्यसैगरी, एन्फा तथा यससँग सम्बन्धित सदस्य, पदाधिकारी र सरोकारवालाले फिफा र एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सञ्चालन गर्ने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणबाट समेत लाभ लिन नपाउने भएका छन्।
फिफाले आवश्यक ठानेमा आगामी फिफा कंग्रेसअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलको निर्णयमार्फत निलम्बन फुकुवा गर्न सकिने जनाएको छ।
फिफाको यस निर्णयले नेपाली फुटबलमा ठूलो प्रभाव पर्नेछ। विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता, खेलाडीको विकास र फुटबल पूर्वाधार विस्तारका कार्यक्रम प्रभावित हुने देखिएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया