नाटकमा संलग्न एक कलाकारले शनिबार इन्स्टाग्राममा आफू अब यस प्रोजेक्टमा नरहेको घोषणा गरे र त्यसपछि सम्पर्कमै आएनन् ।

१० जेठ काठमाडौं, थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक लुसिफर राइजिङ अनिश्चितकालका लागि बन्द गरिएको छ । निर्देशक सहलेसले खुलासा गरे अनुसार राजनीतिक दबाब, संगठित धम्की र मानसिक त्रासका कारण नाटक रोक्न बाध्य पारिएको हो ।

आइतबार बसेको आकस्मिक बैठकले प्रदर्शन रोक्ने निर्णय गर्‍यो । तर यो केवल एउटा नाटक स्थगित भएको घटना होइन । यो कलाकारलाई डर देखाएर चुप लगाउने प्रयासको नयाँ उदाहरण बनेको छ ।

निर्देशक सहलेसका अनुसार केही समूहले नाटकको नाम लुसिफर शब्दलाई लिएर योजनाबद्ध विवाद सिर्जना गरे । त्यसपछि सुरु भयो दबाब, गाली, फोनबाट धम्की र थिएटरमै पुगेर गरिएको हुलदंगा शैलीको चेतावनी ।

हामीलाई सिधै भनियो । नाटक बन्द गर, होइन भने परिणाम राम्रो हुँदैन, सहलेसले भने ।

उनका अनुसार कलाकारहरूलाई व्यक्तिगत नम्बरमा फोन गरेर थर्काइयो । ज्यान मार्ने चेतावनीसम्म दिइयो । त्रास यति बढ्यो कि नाटकमा संलग्न एक कलाकारले शनिबार इन्स्टाग्राममा आफू अब यस प्रोजेक्टमा नरहेको घोषणा गरे र त्यसपछि सम्पर्कमै आएनन् ।

रंगमञ्च अहिले प्रश्न गरिरहेको छ । के अब नेपालमा कुनै शब्द प्रयोग गर्नुअघि राजनीतिक स्वीकृति चाहिन्छ ?
के कलाकारले पात्रभन्दा पहिले आफ्नो सुरक्षा सोच्नुपर्ने दिन सुरु भइसकेको हो ?
निर्माण टिमका अनुसार नयाँ कलाकार नपाइएसम्म नाटक पुनः मञ्चन हुने छैन । तर प्रश्न कलाकार फेला पार्ने मात्र होइन, डरमुक्त वातावरण फेला पार्ने पनि बनेको छ ।

एकातिर नेताहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भाषण गर्छन्, अर्कोतिर एउटा नाटकको नाम सहन नसक्ने भीड कलाकारमाथि जाइलाग्छ । रंगमञ्चलाई विचारको ठाउँ होइन, नियन्त्रणको मैदान बनाउने यो प्रवृत्तिले अब खतरनाक रूप लिन थालेको सांस्कृतिक वृत्तमा चर्चा छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com