काठमाडौं । अभिनेत्री बेनिशा हमालको डेब्यू नाटक ‘सेतो धरती’को मञ्चन शुक्रबारदेखि सुरु हुँदैछ । कान्तिपुर थिएटरमा सुरु हुने मञ्चन १९ बैशाखसम्म चल्नेछ ।
साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तकमा आधारित हुने यो नाटकबाट बेनिशाले डेब्यू गर्ने भएपछि दर्शकमाझ चर्चा चुलिएको छ । यो नाटकको निर्मात्रीमा अभिनेत्री रेखा थापा पनि जोडिएकी छन् । रेखाले यसअघि कान्तिपुर थिएटरकै नाटक ‘मीरा’ बाट रंगमञ्चमा डेब्यू गरेकी थिइन् ।

बुधबार बेलुका यो नाटकको रिहर्सल मञ्चन गरिएको थियो, जहाँ बेनिशासहितका कलाकारको प्रस्तुति आकर्षक रहेको जनाइएको छ । ‘रिहर्सलमा उहाँको अभिनयमा परिपक्वता थियो । अझै निखारिँदै जाला’ कान्तिपुर थिएटरका सीइओ प्रकाश पुरीले भने । नाटकलाई सुन्दर धितालले निर्देशन गर्नेछन् । नाटकमा अभिनेत्री हमालसहित कान्तिपुर थिएटरका ३० भन्दा धेरै कलाकारले समेत अभिनय गर्दैछन् ।
यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा रेखा र पारिजातको उपन्यास ‘शिरीषको फूल’ मा जीवन लुइँटेललाई डेब्यू गराएर नाटक बनाइसकेको छ । नाटक ‘सेतो धरती’ २७ चैत शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया