काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागसहित नेपालका विभिन्न विश्वविद्यालयका विद्यार्थीले चीनको सिचुआन प्रान्तमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन्।
युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) सँगको शैक्षिक सहकार्यअन्तर्गत सेप्टेम्बर ६ देखि १२ सम्म सञ्चालन भएको कार्यक्रममा सहभागी विद्यार्थीले एआई प्रविधिले पत्रकारिता तथा सञ्चार क्षेत्रमा ल्याइरहेको परिवर्तनबारे अध्ययन गरेका थिए। कार्यक्रममा समाचार कक्षमा एआईको प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, एआईबाट सिर्जित सामग्री (एआईजिसी), दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा एआई र डिजिटल मिडियासँगै डिजिटल पूर्वाधार, डिजिटल गेम, ग्रामीण विकास, सामाजिक सञ्जाल, भर्चुअल रियालिटी तथा अन्तर्राष्ट्रिय सञ्चार लगायतका विषयसमेत समेटिएका थिए। सहभागीले एआईको प्रयोगबाट छोटो भिडियो निर्माण, स्क्रिप्ट लेखन, स्टोरीबोर्ड, दृश्य योजना तथा डिजिटल सामग्री उत्पादनको अभ्याससमेत गरेका थिए।
प्रशिक्षणका क्रममा सहभागीले चीनमा एआई तथा डिजिटल प्रविधिको व्यावहारिक प्रयोगबारे प्रत्यक्ष अवलोकन गर्ने अवसरसमेत पाए। उनीहरूले सिचुआन न्यूजनेट ग्रुप, सिचुआन टिभी, छेंग्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, एआईजिसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा रोबोट पार्क लगायतका संस्थाको भ्रमण गरेका थिए। यस्ता भ्रमणले कक्षामा सिकेको एआई, डिजिटल पूर्वाधार, सुपर कम्प्युटिङ, रोबोटिक्स तथा डिजिटल सामग्री उत्पादनसम्बन्धी विषयलाई व्यवहारसँग जोड्न सहयोग पुगेको थियो।
कार्यक्रमअन्तर्गत सहभागीले चीनको प्रविधि विकाससँगै इतिहास तथा संस्कृतिबारे पनि जानकारी लिएका थिए। Sanxingdui Museum लगायतका सांस्कृतिक तथा ऐतिहासिक स्थलको भ्रमणमार्फत चीनको प्राचीन सभ्यता, स्थानीय संस्कृति तथा आधुनिक छेंग्दु सहरको विकासलाई समेत नजिकबाट बुझ्ने अवसर पाएका थिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयसहित पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका विद्यार्थी सहभागी थिए। भ्रमणमा त्रिविबाट सात जना, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट दुई-दुई जना तथा काठमाडौँ विश्वविद्यालयबाट एक जना सहभागी थिए।
कार्यक्रमको नेतृत्व त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. ऋषिकेश दाहालले गरेका थिए। कार्यक्रममा केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियङ्का सुनारलगायत विद्यार्थी सहभागी थिए।
उपप्राध्यापक डा. दाहालले यस्ता अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यले नेपाली विद्यार्थीलाई सञ्चार तथा प्रविधिको क्षेत्रमा भइरहेको तीव्र परिवर्तन बुझ्न महत्वपूर्ण सहयोग पुग्ने बताए। उनका अनुसार एआईलाई पत्रकारिता, डिजिटल मिडिया तथा सिर्जनात्मक सामग्री उत्पादनमा कसरी प्रभावकारी र जिम्मेवार रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चीनमा प्राप्त अनुभव नेपाली विद्यार्थीका लागि उपयोगी हुने देखिएको छ।
युइएसटिसी र त्रिभुवन विश्वविद्यालयबीच सञ्चालन हुँदै आएको चीन-नेपाल युवा शैक्षिक आदानप्रदान कार्यक्रमको यो दोस्रो वर्ष हो। युइएसटिसीका प्राध्यापक चाङ स्युनले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई सरकार–सरकारको तहमा मात्र नभई जनस्तरमा समेत जोड्न विभिन्न गतिविधि हुँदै आएको बताए। आगामी दिनमा पनि प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने उनले जानकारी दिए।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले युइएसटिसीसँगको सहकार्यले निरन्तरता पाइरहेकाले आगामी वर्षमा थप विद्यार्थीले यस्ता अन्तर्राष्ट्रिय अध्ययन तथा प्रशिक्षणको अवसर पाउने बताए।
एक साताको प्रशिक्षण तथा अध्ययन भ्रमणले नेपाली विद्यार्थीलाई एआई, पत्रकारिता, डिजिटल मिडिया र अन्तरसांस्कृतिक सञ्चारका क्षेत्रमा चीनले गरिरहेको अभ्यासलाई नजिकबाट बुझ्ने अवसर दिएको छ। कक्षाकोठाको सैद्धान्तिक अध्ययनसँगै सञ्चार संस्था, प्रविधि केन्द्र, सुपर कम्प्युटिङ सेन्टर, एआईजिसी कार्यशाला तथा रोबोटिक्ससम्बन्धी संस्थाको प्रत्यक्ष अवलोकनले कार्यक्रमलाई व्यावहारिक र अनुभवमूलक बनाएको सहभागीहरूको अनुभव छ।
नेपाल र चीनबीचको प्राज्ञिक सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विद्यार्थी तथा शैक्षिक संस्थाबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदानका कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २९ भदौ २०८३, सोमबार

प्रतिक्रिया