हाङयुग अज्ञात
मुन्धुम जीवन दर्शन र वैचारिक कुरालाई विशिष्ठ स्थान दिएर लेख्ने कवि हुन् हाङगुग अज्ञात-सिर्जनशील अराजकताको शीर्षस्थ संस्थापक प्रवर्तक मध्ये एक उनी कविताको सिद्धहस्त साधक र कवितामा आफ्नै वैचारिकी निर्माण गर्ने कवि हुन्।पछिल्लो पटक हाङयुग अज्ञातका कविताहरु शिर्षकको कविताको किताब लिएर पाठकको अदालतमा उपस्थित भएका अज्ञातसित इ-सेवारोको निम्ति-सम्पादक विशाल नाल्बोले जीवन र कविता उप्पर रहेर गरेको कुराकानीको अंश।
सोधनी-सम्भवतःवाक्यहरुमा भेटिदैन होला जीवनको अर्थ यदि भेटियो भने?तपाई जीवनलाई कुन नाउँले अथ्र्याउँनु हुन्छ?
जवाफदेहिता-भौतिक जीवनको अर्थ गौतम बुद्धले भने झैँ स्वास-प्रस्वास बिचको क्षण हो।यसलाई अझ सरल ढङ्गले बुझ्दा जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण क्रियाकलाप नै जीवन हो।तर, मलाई लाग्छ मृत्युपछि नि मान्छेको जीवन हुन्छ,त्यो कस्तो जीवन भने ऊ स्मृति र कृतिमा बाँचिरहेको हुन्छ।बुद्ध अहिलेसम्म उसले दिएका ज्ञानहरूमा बाँचिरहेको छ,गोपालप्रसाद रिमाल बाँचिरहेको छ कवितामा,इन्द्रबहादुर राई बाँचिरहेको छ कथामा।
सोधनी-वास्तवमा जीवन बाँच्दै,बाँच्दै भोगिने रहेछ कि?वा भोग्दै भौग्दै बाँचिने रहेछ?
जवाफदेहिता-जीवन अवस्था या समयले बाँचिन्छ जस्तो लाग्छ मलाई।तेसो हुँदा बाँच्दैबाँच्दै पनि भोगिन्छ र भोग्दैभोग्दै पनि बाँचिन्छ।प्रथमतः हामीले हाम्रो चेतनालाई कुन रूपमा प्रयोग गरिराखेका हुन्छौं ? त्यसले नै बाँच्नुको आधार निर्धारण गर्छ होला । किनभने केही नभोगेर ओछ्यानमा निदाउँदा पनि हामी सपनामा कताकता पुगिरहेका हुन्छौँ, त्यो मलाई लाग्छ सपनामा पनि हामी जीवन भोगिरहेका हुन्छौं । कहिले विपनामा नपुगेको ठाउँ पुगिरहेका हुन्छौं,नभेटेका मान्छेहरू भेटिरहेका हुन्छौं। एककिसिम जीवन त सपनामा पनि बाँचिरहेका हुन्छौं भन्ने लाग्छ मलाई।
सोधनी-यदि तपाईको जीवनमा कविता नभएको भए,आफूलाई के मार्फत अभिव्यक्ति गर्नु हुन्थ्यो होला?

हाङयुग अज्ञात
जवाफदेहिता-सायद चित्रबाट गर्थें कि!भन्ने लाग्छ कहिलेकाहीँ फर्केर हेर्दा जीवनलाई।रङ्ग महङ्गो भएकोले चित्र बनाउन छोडेँ, दुई रुपियाँको डट्पेन र पाँच रुपियाँको कापी समात्न पुगेँ। कवितामै लत बस्यो।तब त कविता नै मेरो अभिव्यक्ति बनेको छ।कसैले रङ्ग सौजन्य गरिदियो भने अझै पनि चित्रमा एककिसिमको फ्युजन गर्नु सक्छु जस्तो लाग्छ।
सोधनी-कविताले समाजको सुन्दर पक्ष त जरुर देखाउँछ,तर उसले समाजको कुरुप चरित्रलाई देखाएन भने,त्यो कविता कतिको समाज उपयोगी हुन्छ?
जवाफदेहिता-समाजको कुरूप चरित्र, सामाजिक विभेद र अन्याय विरुद्ध लेखिएन भने त कविता साहित्य या कुनै पनि कला बनाउनुको तुक हुँदैन।जस्तो कतिपय समाजमा अहिले पनि बोक्सीको आरोपमा महिलाहरूले उत्पीडन भोगिरहेका छन्,त्यो अन्धविश्वासलाई चिर्ने कविता लेखेनौँ भने के काम कविको ? कवितामा होस्,नाटकमा होस् या सिनेमामा होस् ब्लाक कमेडी गर्नु हुँदैन।तब मात्रै सिर्जनाले समाजलाई समुन्नत बनाउँछ।
सोधनी-पाठक समाजमा कविता कृति (हाङ्युग अज्ञातका कविताहरु) लिएर उपस्थित हुनु हुन्छ,आफ्नै नाउँ किताबको शिर्षक राख्नुको पछाडितिरको राजनीति के हो?
जवाफदेहिता-यो राजनीतिभन्दा पनि वि.सं. २०५२ सालदेखि अहिलेसम्म मैले लेखका १०१ चुनिएका कविताहरूलाई एकै ठाउँमा समेट्ने जमर्को मात्रै गरेको हुँ । तेसो त हाङयुग नाम नै यति अप्ठ्यारो रहेछ कि धेरैजनालाई मेरो नाम उच्चारण गराउनलाई ‘दयाहाङ’को नाम लिनुपरेको छ।दयाहाङकै हाङ भन्नू अनि युग थप्नू भन्नुपरेको छ।सायद अब उहाँहरूलाई ‘हाङयुग’ भन्न सजिलै हुन्छ होला।हगि त!
सोधनी-बिचारलाई मात्र केन्द्रमा राखेर कलालाई पर छोडेर अथवा कलालाई मात्र केन्द्रमा राखेर बिचारलाई पर छोडेर कविता लेखियो भने कविताको स्केच कस्तो बनिन्छ होला?
जवाफदेहिता-तेसो त कविता जस्तोसुकै लेखे पनि हुन्छ जबसम्म त्यो कविताले पाठकलाई छुन्छ । कला प्राथमिकतामा हुनुपर्छ भन्ने मान्यता त आधुनिकतावादले अगाडि सारेको मान्यता थियो । त्यसपछि दादावाद आयो,जसले कलालाई भन्दा विचार र अभिव्यक्तिलाई स्ट्रेस दियो।उच्च कोटिका कविता या कलाका सर्तहरू के हुन् ? कहिलेकाहीँ सोचिहेर्छु।नब्बेको दशकमा प्रचलित स्लाम पोइट्रीले भित्र्याएका कविताका रियलिटी शोहरूमा वाचन गराउन लगाइएका कविताहरू नै जीवनका सत्य हुन् कि?कि चुपचाप खोल्सा र जंगलमा, गाउँ र बस्तीमा होहल्लाभन्दा पर रहेर जीवनलाई नियालेर विचारको फौदारी गर्नु कविता हो ? यो पो हो कि ! त्यो पो हो ? कुनै निष्कर्षमा पुग्ने कुरो पनि हैन रहेछ कविता।अनुमान त गर्न सकिन्छ,उत्ता त्यो डाँडा पल्लोपट्टिबाट धुवाँ उठ्यो भने हाम्रो मनमा विध्वंसको आगो आउँछ सुरुमा। तर, त्यहाँ अलैंचीको भट्टी हुनुसक्छ।फेरि चैतको समय हो भने अलैंचीको भट्टी मनमा हुँदैन।ज्योतिषी भएको भए बटुकोमा पानी राखेर मकैको गेडाले बनाएको हावाको फूल हेरेर ठ्याक्कै भन्ने थिएँ।

हाङयुग अज्ञातका कविताहरु
सोधनी-सर्जक बौद्धिक माझ भइरहेको बहस मध्ये यौटा बहस पहिचानको बहस पनि हो,तपाईको कविताहरुले यो बहसको उठान कतिको गरेको छ?लाग्छ?
जवाफदेहिता-म वारदातहरूको पक्षहीन साक्षी मात्रै हुँ ।जेजे मेरा इन्द्रियहरूले भोगे, देखे, छोएँ, सुँघे,चाखे त्यसको लिपिकरण मात्रै हुन् मेरा कविताहरू। मलाई लाग्छ पहिचानको बहसमा मेरा कविताहरू सहभागी छैनन् किनभने आफूले आफैलाई मूल्याङ्कन गर्नु भनेको आत्ममुघ्नता मात्रै हो, जो आफैमा घातक सोच हो । वैरागी काइँला, भूपाल राई र श्रवण मुकारुङका कविताहरूले नेपाली साहित्यमा साँस्कृतिक पहिचानको जग बसाएको कुरालाई चैँ म इन्कार गर्न सक्दिनँ।
सोधनी-पाठकहरुले यो भनिरहेको छैन कि,हामीलाई कविता मन पर्दैन।यहाँ त कविहरु आफै भनिरहेका छन् कि,कविताको पाठकै छैन। यो अर्थमा कविहरुले मेहेनत नगरिरहेको समय हो त यो?
जवाफदेहिता-लेखककवि भन्दा पाठकहरू अहिलेको समयमा ज्ञानीध्यानी भैसकेका छन्। किनभने ज्ञान अहिले सबैको पहुँचमा छ।उहिले भागवत गीतालाई पहेँलो कपडाले पोको पारेर गाउँमा पुराण लगाउँदै हिँड्ने जमाना पनि थियो;तर अहिले गीता,उपनिषद्,मुन्धुम लगायत विश्वभरिका ज्ञानशास्त्रहरू सबैको पहुँचभित्रै छन्, हातहातमा मोबाइल र वाइफाइ छ।तेसो र पाठकहरूको ज्ञानसामग्रीलाई ध्यान नदिदाँखेरि नै कविलेखकहरू कुखुरा चोर्न गएको स्याल खाली हात फर्के जस्ता भइरहेछ्न्।कविहरूले कल्पना र ज्ञानको फ्युजन र व्यवस्थापन गर्न जरुरी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
सोधनी-हुनु त हरेक लोकल नै ग्लोबल हो यसो भनिरहँदा वैश्विक साहित्यको हाँचमा नेपाली कविता साहित्यको स्थान कहाँ पाउनु हुन्छ?

हाङयुग अज्ञातका कविताहरु
जवाफदेहिता-नेपाली साहित्यको समयगणना भानुभक्तको रामायणबाट राज्यसत्ताले निर्धारण गरिदिएको छ जसको कारण मुन्धुम/मुन्दुम लगायत नेपाली समाजमा आदिमकालदेखि प्रचलित लोक साहित्य जो श्रुति परम्परामा थिए/छन्-ले विकसित हुने अवसर नै प्राप्त गरेन।खास असली नेपाली साहित्य त ती हुन् नि,जसलाई राज्यले पोलियो थोपा खुवाउने काम मात्रै गरिराछ। अनि हामी वैश्विक साहित्यमा नेपाली साहित्यको उपस्थिति खोज्छौँ जो आफैमा हास्यास्पद लाग्छ मलाई त । किनभने महाभारत, रामायण र पुराणहरूका कथाहरूबाट विकसित गरिएको नेपाली साहित्य त भारतीय साहित्य नै हो भनेर विश्वले बुझ्दै आएको छ।कृष्ण र राधाको बारे लेख्ने बित्तिकै त्यो साहित्य भारतीय हो भन्छन्।तेसो र काङ्सोरे जस्ता पात्रहरू बारे लेखियो भने मात्रै नेपाली साहित्यले विश्वमा आफ्नै पहिचान बनाउँछ।धेरै छ काम गर्नु।
सोधनी-कवि जीवन बाँचिरहँदा तपाईको जीवनैबाट चाँहि के के छुटेर गए होला?
जवाफदेहिता-केही पनि छुटेको छैन जस्तो लाग्छ,सबैलाई आफ्नो स्मृतिमा बोकेर हिँडिरहेको छु जस्तो लाग्छ।
सोधनी-लेखनमा सिर्जनशील अराजकताको बहसलाई अगाडि सारेर बिचारको पक्लुङ हान्दै,हान्दै मैदानमा उत्रनु भो,यति बेला यदाकता मैदान खाली भएको महशुस गर्नु त भएको छैन?

हाङयुग अज्ञात
जवाफदेहिता-हाफ टाइममा मैदान त खाली हुने भैगो नि। बाँकी खेल अब सुरु हुन्छ।पेनाल्टीमा गोल गर्नु र एघारैजनालाई डज दिएर गोल गर्नुको आनन्द नै बेगल हुन्छ।सिर्जनशील अराजकताको अभियान निरन्तर छ र यो नयाँ पुस्तासम्म विस्तारित भइसकेको छ।समय सापेक्ष हाम्रो अभियानले रूपहरू फेर्दै आए पनि सारमा सधैँ उही मुद्दा छ सामाजिक न्याय, उत्पीडितउपेक्षितहरूको पक्षमा।प्रगतिशील र अग्रगामी मोर्चामै छौँ।
सोधनी-अराजकताको मूल स्वर भनेको आफ्नो मुद्धा निर्धक्क र इमान्दारिका साथ लेख्नु थियो,अर्थात हो।यो मुद्धा लेख्ने क्रममा अरु तमाम सुन्दर बिषयहरु त लेख्नु छुटेछ,भन्ने महसूश त गर्नु भएको छैन?
जवाफदेहिता-मलाई लाग्छ जीवनमा सबै विषयहरू सुन्दर नै हुन्छ्न्।आदर्शको चाकरी गरेर सीमान्तीकृतहरूको जीवनलाई अवमूल्यन गर्नु हुँदैन, पुँजिवादको छाँयामुनि बसेर समाजका विविधतालाई मेनिपुलेट गर्नु हुँदैन भन्छु म त।हुटिट्याउँजस्तो पनि हुनुहुँदैन कविलेखकहरू।गोपालप्रसाद रिमाल, भूपि शेरचन, देवकोटा र पारिजातहरूले लेख्न नभ्याएका सुन्दर विषयहरू हामीले लेख्दै जानू छ।
सोधनी-यसचोटी तपाई(अराजक)कर्मीहरु अत्यन्तै सक्रिय देखिनु भएको छ उपेन्द्र सुब्बा दाई लगत्तै जारीः२ सिनेमा लिएर आउनु भो,राजन मुकारुङ दाई एकाडेमीमा भाषा संस्कृतिको कामलाई लिएर सक्रिय हुनु हुन्छ,तपाई स्वयःलगालक पुस्तक प्रकाशित गर्दै हुनु हुन्छ यो सक्रियता प्रतिस्पर्धात्मक हो कि?
जवाफदेहिता-प्रतिस्पर्धा आफैसँग हुनुपर्छ भन्ने मान्यता छ मेरो।एक दशक मैले पुस्तक प्रकाशन गरिनँ, यसको अर्थ यो हैन कि म नेपाली साहित्यबाट म रिङ्ग आउट भएँ ।राजन र उपेन्द्रजीले आफ्नै ढङ्गले नेपाली साहित्यकलामा काम गरिराख्नु भएको छ,म आफ्नै तरिकाले काम गरिरहेको छु।संयोग होला सायद यो, यो साल तीनैजना अत्यन्तै सक्रिय भएको देखियो। मैले भन्दा पनि उहाँहरूले राम्रो काम गरिरहनु भएको छ।
सोधनी-कविहरु नभएको भए यो पृथ्बीको सुन्दर अथवा कुरुप चित्रण कसले गथ्र्यो होला हगि दाई?
जवाफदेहिता-प्रकृतिले गर्थ्यो होला नि !हगि त। हेहे!
सोधनी-एउटै बिचारधारा सहितको लेखन शिविर चलाएर आउनु हुने तपाईको अतिप्रिय दुई दोस्तहरु उपेन्द्र सुब्बा र राजन मुकारुङ बारे दुई,दुई शब्दमा व्याख्या गर्नुहोस न,वहाँहरु कस्ता कवि लेखक हुन?

अराजक कविहरु-हाङयुग अज्ञात राजन मुकारुङ र उपेन्द्र सुब्बा
जवाफदेहिता-राजन मुकारुङ बढी राजनीति गर्छ,जरुरी पनि छ।उपेन्द्र सुब्बा सोझो पल्टिन्छ तर ऊ भन्दा बाङ्गो मान्छे नेपाली साहित्यमा भेटिनँ।
प्रकाशित मिति: ६ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया