३ मंसिर, काठमाडौं।मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परे ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईंलाई पक्राउ गर्न मध्यराति उनको निवास पुगेको थियो । ठूलो संख्यामा पुगेको प्रहरी टोलीलाई सुरुमा प्रसाईंका मान्छेले गेट खोल्न मानेनन् । अन्तत: प्रहरी गेटभित्र छिरेर प्रसाईंलाई पक्राउ गर्‍यो ।प्रसाईं पक्राउ परेपछि बोलेकै आधारमा सरकारले अनावश्यक रूपमा पक्राउ गरेको भन्दै सरकारको आलोचना पनि भइरहेको छ । जेनजी अगुवा सुदन गुरुङदेखि संविधानविद् भीमार्जुन आर्चायसम्मले यो गिरफ्तारीमा प्रश्न उठाएका छन् ।

सुदनले फेसबुकमा लेखेका छन्, ‘दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडेका छन् । शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन ।’यता भीमार्जुनले भने रातको समयमा प्रसाईंलाई गिरफ्तारि गरेर नागरिक शासनको ‘निकै ठूलो धब्बा’ भएको उनले उल्लेख गरेका छन् ।मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् ।

डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ। तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानुनत: बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’प्रसाईंको गिरफ्तारिमा उनीहरू जस्तै केही राजावादी समर्थकहरूले पनि आपत्ति जनाएका छन् । यसअघि यस्तै अभिव्यक्ति दिएको आरोपमा डा निकोलस भुसाल पक्राउ परेका थिए । उनले ड्रोनबाट बम खसालेर प्रहरी हेडक्वाटर नै ध्वस्त पार्न सक्नेसम्मको चेतावनी दिएका थिए ।

तर उनीहरूको पक्राउकोलाई अभिव्यक्ति स्वतन्त्रको रूपमा बुझ्न नहुने प्रहरीले बताएको छ । अभिव्यक्ति स्वतन्त्रको नाममा कानुन विपरीतको कार्य गर्ने, हिंसा भड्काउने छुट कसैलाई नभएको प्रहरीले बताएको छ ।प्रसाईं पक्राउ पर्नुको कारणमा जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति निकालेरै प्रष्ट पारेको छ।

विज्ञप्तिमा प्रसाईं आफ्नै अभिव्यक्तिका कारण पक्राउ परेको उल्लेख छ । एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई भन्छन्, ‘कानुन विपरीतको गतिविधि गर्ने, सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, मानिसलाई भड्काउने, उक्साउने किसिमका अभिव्यक्ति दिने छुट कसैलाई छैन ।’अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा भड्काउनेदेखि राष्ट्रिय सुरक्षामा आँच आउने अभिव्यक्तिका कारण उनीहरू कानुनी दायरामा आएको प्रहरीले बताएको छ ।सोमबर राति पक्राउ परेका प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रसाईंले दूतावासहरूमा बालेन शाहले बम पड्काउने योजना रहेकोदेखि प्रहरीलाई कुटाइ नपुगेकोसम्मका अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: ४ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com