पराजित पोमु
साहित्यिक आन्दोलन इतर अभियान मार्फत सीमान्तकृत बहसलाई मूलधार भनिएको बहसहरुमा स्थापित गर्नको निम्ति प्रमुख भूमिका खेल्ने वैचारिक कविहरु मध्येका एक हुन् पराजित पोमु।उनी आफ्ना कविताहरुमा पहिचान दर्शन र आध्यात्मका कुरा एकदमै मिहिन ढङ्गले गर्छन्।कविताको किताब म द्वारा मेरो निर्माण र लेप्मुहाङको ढुङगा लेखेर आफूलाई कविको रुपमा स्थापित गरेका कवि पोमु सँग इ.सेवारोको निम्ति सम्पादक विशाल नाल्बोले कविता र जीवनलाई केन्द्रमा राखेर गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गर्दछौँ।
प्रश्न.अर्थहरु खोज्दै जाँदा जीवनको अर्थ पनि त भेटिएला नि?वा नभेटिएला?यहाँसम्म बाँचेर आइपुग्दाको जीवनलाई यदि तपाईले अर्थ्याउनुपर्यो भने कसरी अर्थ्याउनुहुन्छ?
जवाफ.जीवन भोगाइका क्रममा मेरो अनुभवले यस्तो लाग्छ, जीवन खोज हो ।खोजले रहस्य जन्माए जस्तै जीवन रहस्यको पर्दा पनि हो।
प्रश्न.सायदै कविहरु जीवनलाई शब्द वा अक्षरका आँखाले हेर्छन् अक्षरमा जीवन कतिको लेख्नु भएको छ?
जवाफ.आम मान्छेको हेर्ने बुझ्ने दृष्टीकोणहरू समान उस्तै हुन्छ तर यति फरक हो कविहरू त्यसमाथि चिन्तन गर्छन र गहिरो विश्लेषण गर्छन् । अर्को जीवनका खोजहरूबाट नयाँ बिषय, विचार तथा दर्शनका सिकाई प्रकृया यावत राख्न्छन् तसर्थ कति लेख्नु भन्दा पनि के र कस्तो लेख्न सकिएको छ भन्ने कुरो मुख्य होला।

म द्वारा मेरो निर्माण
प्रश्न.वैचारिक बहस देखि पर भागेर कवितामा कलाको मात्र कुरा गर्नु कतिको न्यायोचित हुन्छ?
जवाफ.कवितालाई कलाको मात्र आँखाबाट हेरियो भने हात्ती र अन्धा मान्छेको कथा जस्तै हुन्छ। अन्धा मान्छेले हात्तीको जुन अंगलाई छुन्छ त्यही देख्छ तर यथार्थ फरक हुन्छ न्यायोचित पनि यहि हो । कविता आफैमा कला हो तथापि कला मात्रैले पनि कविता फेन्टासी या ग्ल्यामर बनेर जान्छ।
प्रश्न.वास्तममा कविता कलाको कला हो कि विचार माथिको विचार हो?
जवाफ.मेरो आफ्नो निजि बुझाइमा कविता कला र विचारको समायोजन हो। कला सादा चित्र हो भने विचार अमुर्त रंग हो ।कला र विचारको समायोजन चाहिँ सम्पूर्णता हो ।
प्रश्न.तपाई त कवितामा विचार दर्शन सिध्दान्त बेजोड रुपमा आयात हुनुपर्छ भन्ने तर्क गर्नु हुन्छ, किन?

कवि पराजित पोमु
जवाफ.कवितालाई कलामा मात्र उतार्ने काम पुरानो ढाँचा भइसक्यो, अब पनि कवितालाई उहि ढर्रामा सोच्ने हो भने हामी समयसापेक्ष कसरी विचारहरू निर्माण गर्दै अघि बढ्न सकिएला ?समयको सम्यकसँगै नयाँ विचार, दर्शनहरू प्रयोग गर्दै समाजलाई नयाँ चिन्तनको उचाई निर्माणतिर अघि लैजानु कवि लेखकको दायित्व हो साथै समाजलाई पनि नयाँ वहस सृजना गर्दै त्यतै डोर्याऊनुपर्छ जस्तो लाग्छ । पुनः तर्कले विचार र दर्शन निर्माण गर्छ भन्ने कुरामा विश्वस्त छु।
प्रश्न.साहित्यलाई समुह गुट उपगुटले साह्रै सिध्यायो भन्ने सुनिन्छ नि?यो हल्ला मात्र कि यथार्थ हो?
जवाफ.विश्व परिदृश्यलाई हेर्ने हो भने समुह, गुट उपगुटहरू नभएको देखिन्न तर यति हो हाम्रो परिप्रेक्षमा बिकृतिजन्य पाईन्छ। यस्तै कारणबाट नेपाली साहित्य समृद्धीतर्फ अघि बढ्न नसक्नुको मुख्य कारण हो।
प्रश्न.साहित्यिक पुस्तकलाई दिइने पुरस्कारबारे तपाईको धारणा के छ?
जवाफ.हामी यति व्यस्त समय दुनियामा बाँचिरहेका छौ की हामीसित प्रायः एऊटा पुस्तक पुरा पढेर सक्ने समय नै छैन।त्यसो र हामी नाम पढ्छौं, चर्चा पढ्छौं अनि त्यहि पुस्तकलाई पुरस्कार दिन्छौँ । हामी सबैको बडो गज्जबको धारणा पनि यहि हो।
प्रश्न.पुरस्कार संस्था तिर चिनजानवाद आफन्तवाद व्यापक रूपमा हावी भयो भन्छ नि विज्ञहरु, हो वा होइन?
जवाफ.साहित्य, लेखन जस्तो गरिमामय स्थानमा पनि माफियाहरूको बिगबिगी नै छ । पुस्तकहरूका राम्रो समालोचना प्रवृत्ति पनि खस्कदो छ। लेखकहरू बजारवादको पछि छन् । पुरस्कार प्राप्त गरेर सम्मान पाऊने लहडको होडमा ठुलो चाप्लुसी चाकडीवादको लस्कर छ । म सामान्य शब्दको खेलकलाई यसबारे विचरा के पत्ता हाहाहा।
प्रश्न.एकजना कविले कवितालाई लिएर साधना गर्दै गर्दा कुन कुन कुरा चाहिँ नछुटाइकन आफ्ना लेखनको लागि फलो गर्नु पर्ने हुन्छ?
जवाफ.मेरो आफ्नो निजी बुझाईमा आफूलाई मन परेका आफ्ना विधाका बुकहरू पढ्ने,लेखनको अभ्यास, आफूले लेखेका लेख कविता पुनः पठन, पुनः लेखन दोहोर्याईरहने ,बुझाईमा विश्व दृष्टीकोण राख्ने र तुलनात्मक चेत भए लेखनमा सहयोग गर्छ जस्तो लाग्छ।
प्रश्न.साहित्यिक आन्दोलन इतर विचारलाई अघि सारेर साहित्यिक र बौद्धिक समाजमा बहसको निर्माण गर्नु भयो तर आजकाल बहस तिरै एकदम न्युन देखिनु हुन्छ नि?किन होला?
जवाफ.बडो रोचक प्रश्न लाग्यो। हामीले बाँचेको समय बडो गजबको छ। उत्तरआधुनिक या प्रगतिशिल चिन्तक भनाऊदाहरू ज्योति मगरको तिघ्राको बहस गर्छन् चर्चा गर्छन्, व्यक्तिलाई बाहुबली बनाएर चर्चा र बहस गरिन्छ समाजका भुइँमा रहेका भुइँमान्छेको मुद्धालाई बिषायन्तर गरिन्छ परिणाम यस्तै उल्झनले कात्वा मिःक थेक थेक भएको हो।
प्रश्न.बौद्धिकहरुका निम्ति त सम्भवतःयो सजिलो विषय भए होला तर आममान्छेको निम्ति यो कठिन बिषय पनि हुनसक्छ?यस अर्थमा इतर अभियान भनेको के हो?
जवाफ.राज्यद्वारा सिमान्त पारिएको उत्पिडनहरूको मौलिक आवाजको ब्यालर हो।
प्रश्न.केही समय अगाडि (म द्वारा मेरो निर्माण) कविता कृति लिएर पाठक माझ उपस्थित हुनु भो कविता कृति पढेर पाठकले माया गरे कि गाली गरे?
जवाफ.लेखन क्षेत्रबाट मैले कमाएको सम्पती नै पाठकको माया हो । पाठकले गालि गर्ने आँट नै गरेनन् अफसोच लाग्छ हाहाहा।

कवि पराजित पोमु
प्रश्न.इतर अभियान यति बेला किन सुस्त र निस्क्रिय भएको होला? त्यस्तो आभाष हुँदैन र पाठकहरुलाई?
जवाफ.पाठकहरूलाई यस्तो चिन्ता लाग्नु स्वभाविक नै हो शुभचिन्तकहरूलाई शुभेच्छा छ। इतर अभियानबारे सतहमा बहस अन्तरकृया नभए पनि भित्री तप्काबाट विविध कार्य निरन्तर भईरहेकै छ। पुनः बिषय वैचारिक भएकोले पनि होला आम मानिस र पाठकसम्म चुस्त पुग्न समय त लाग्छ नै।
प्रश्न.दुःख देखि पर भागेर सुख माथि मात्र उभेर जीवनलाई नियाल्नु पर्यो भने कस्तो देखिन्छ होला नि?
जवाफ.जीवन संघर्ष हो भनेर बुझेको छु। विश्वका प्रसिद्ध सफल व्यक्तित्वको बायोग्राफी हेरेको छु । उहाँहरूको जीवन संघर्ष पढेको छु । त्यसैले दुःखको संघर्षले मात्र जीवनलाई सुख र सफलताको बाटो निर्देशन गर्छ भने बुझेको छु मलाई यिन एण्ड याङको थेउरीमाझै दुःख विनाको सुखले मात्र जीवन अपूर्ण र लङ्गडो जस्तै बनाउँछ भन्ने कुरामा विश्वास गर्छु।
प्रश्न.मानिसलाई बाँच्न प्रेम आवश्यक हुन्छ होला सायदै? जीवनमा प्रेम कति गर्नु भएको छ वा छैन?
जवाफ.तिमी आफूलाई प्रेम गर्यौ भने संसार बदल्न सक्छौ तसर्थ जीवनको अर्को नाम नै प्रेम हो।अतः संसारका सकल प्राणीहरूप्रति प्रेम गर्छु।म भित्र प्रेम जिवित छ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया