पोइट आइडलको मञ्चमा उत्कृष्ट कविता लेखन र प्रस्तुती दिएर ख्याती कमाएका कवि हुन् सबिना बान्तवा राई।उमेर भन्दा परिपक्क कविताहरु सिर्जना गर्नु उनको लेखनको बिशेषता हो।पोइट आइडल जानु भन्दा अघि पनि उनी कवि सर्कलमा परिचित थिइन् । सम्पादक विशाल नाल्बो ।

सपना भेटिन्छ

सबै सपनाहरू घरको आँगनले
समेट्दैन,
केही सपनाहरू शहरका गल्लीहरूमा लुकेका हुन्छन्,
घुम्तीहरूमा पर्खिरहेका हुन्छन्,
यात्रामा भेटिन्छन्।

कहिलेकाहीँ सपना खोज्न,
खुट्टाहरूले ढोकाको सङ्गारलाई नाघेर बाहिर निस्कनुपर्छ,
अपरिचित बाटोमा पाइला राख्नुपर्छ,
जहाँ आँसु र हाँसो दुवै
सहयात्री बन्छन्।

सपना भेटिन्छ—
कहिले संघर्षको पसिनामा,
कहिले असफलताको चट्कारामा।

सपना भेटिन्छ—
बाटो भुल्दा,
अलमल्ल पर्दा,
कहिले हिम्मत नहार्ने ढुकढुकीमा।

सपना भेटिन्छ—
कहिले टुट्ने आशामाथि
उड्ने साहसको पखेटामा,
कहिले आँसुका धारामा
नयाँ उज्यालो खोज्ने आँखामा।

सपना भेटिन्छ—
राखमा विलीन मुटुको धड्कनमा,
जहाँ बाँकी कथा
नदीसँग बग्दै जान्छ।

सपना भेटिन्छ—
घाटमा सुतेको लाशमा,
जहाँ अधूरा इच्छाहरू
धुँवा भएर आकाश चुमिरहेका हुन्छन्।

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com