चलचित्र ‘चे’ को विशेष प्रदर्शन हङकङ, सोउल (कोरिया), र दमाम (साउदी अरेबिया) मा हुने भएको छ। हङकङमा १७ अगस्त २०२५ मा याउ मा ताइ कम्युनिटी हलमा साँझ ६ बजे प्रदर्शन हुनेछ। यस्तै, सोउलमा ४ अक्टोबर २०२५ र दमाममा २७ नोभेम्बर २०२५ मा प्रदर्शनको मिति तय भएको छ। याक्थुङ मुन्चइत चोक सयङ हङकङले यो प्रदर्शनको आयोजना गर्न लागेको हो, जसको जानकारी वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको पत्रकार सम्मेलनमा दिए।
‘चे’ ले याक्थुङ समुदायको सांस्कृतिक सम्पदा र समाधिस्थलमाथि आधुनिक विकासको नाममा भइरहेको विनाश र संरक्षणको द्वन्द्वलाई चित्रण गर्छ। यो चलचित्र याक्थुङ फिल्मसको ब्यानरमा सागर केरुङद्वारा लेखन, निर्देशन र निर्माण गरिएको हो। यसले याक्थुङ समुदायमा ‘चे’ (लास) को समस्या र सांस्कृतिक सङ्कटलाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्छ।
चलचित्रले याक्थुङ सिने अवार्ड–२०८१, एफएलएफ अवार्ड–२०२४, पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८१, विशेष चलचित्र पुरस्कार–२०८१ (चलचित्र विकास बोर्ड), र निफ अवार्ड यूके–२०२५ मा उत्कृष्ट अवार्डहरू प्राप्त गरेको छ।
निर्माण टिममा छायाङ्कन युबराज राइ, सम्पादन पर्शु थलङ्, ब्याकराउण्ड म्युजिक मोनी ताम्लिङ, कला निर्देशन उदय बेघा, शृङ्गार अमृता जवेगु, गीत र संगीत सागर केरुङ र बुद्धराज लिम्बु, स्वर इन्दु फोम्बो, नोगेन लिम्बु, राजेन्द्र केरुङ, र तुलसा लिम्बुको छ। अभिनयमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, लगायतका कलाकारहरू छन्।
याक्थुङ मुन्चइत चोक सयङले लिम्बु कलाकारहरूलाई सम्मानस्वरूप सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने लगायतका अभियानहरू सञ्चालन गर्न यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको छ।
प्रकाशित मिति: ७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया