काठमाडाैं | डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित रंगकर्मी पवित्र राईद्वारा निर्देशित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) अब मुन्धुम फिल्म्स युट्युब च्यानलमा हेर्न सकिने भएको छ।

यो नाटक गत असोजमा काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको थियो। माघ २ गतेदेखि युट्युबमा सार्वजनिक गरिएको यस नाटकले पूर्वी पहाडमा बसोबास गर्ने याक्थुङ लिम्बू समुदायको जीवनशैली, संस्कार, र संस्कृतिलाई सजीव ढंगले प्रस्तुत गर्दछ।

नाटकमा पवित्र मुन्धुमी स्थल मुक्कुमलुङमा निजी कम्पनीले केवलकार निर्माण गर्ने प्रयाससँगै उत्पन्न सामाजिक परिस्थितिलाई चित्रण गरिएको छ।

नाटकमा रेयर राई, दिपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा, स्मृति कलमर, उज्वल वान्तवा राई, शान्तास्वरी राईलगायतका कलाकारले अभिनय गरेका छन्। संगीत संजित थुलुङले तयार पारेका छन् भने मञ्च सजावट मणि किराती र प्रकाश व्यवस्थापन सञ्जीव योगीले गरेका छन्।

डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा १५ वटा कथाहरु समावेश छन्, जसले पूर्वी पहाडका जनजीवन र लिम्बू समुदायको सांस्कृतिक तथा सामाजिक विषयवस्तुमा आधारित कथाहरु प्रस्तुत गर्छ।

नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) अब युट्युबमा हेर्न सकिने भएकाले संस्कृति र समाजका विविध आयाम बुझ्न चाहने दर्शकहरुका लागि यो महत्वपूर्ण प्रस्तुति बन्नेछ।

प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com