संस्थाका अध्यक्ष अमरदीप सुनुवारले प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै समुदायका सदस्यबीच समन्वय, सहकार्य र साझेदारी बढाउन सहयोग पुग्ने बताए। खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक एकता, अनुशासन र सामुदायिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

काठमाडौं, असोज २६। मैनावती फुटबल क्लब धनुषाले सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको छ। फाइनलमा लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपाललाई ४–२ गोलअन्तरले हराउँदै मैनावतीले च्याम्पियन बन्ने सफलता हासिल गरेको हो।

उपाधि विजेता मैनावतीले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा दोस्रो भएको लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपालले २९ हजार ५५५ रुपैयाँ प्राप्त गर्दा साब्राली सुनुवार समाज तेस्रो हुँदै १५ हजार ५५५ रुपैयाँ पुरस्कारको हकदार बन्यो। तीनवटै टोलीले ट्रफी, पदक र प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपालका भीम सुनुवार सात गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने। मैनावती फुटबल क्लबका अश्वित सुनुवार उत्कृष्ट गोलरक्षक घोषित हुँदा सोही क्लबका गुण्डास सुनुवारले उदयीमान खेलाडीको उपाधि जिते।

सुनुवार राष्ट्रसेवक समाज काठमाडौंको आयोजनामा ‘राष्ट्रसेवामा सुनुवार राष्ट्रसेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गरिएको थियो। ललितपुरको ढोलाहिटीस्थित बिनायक स्पोर्टस् कम्प्लेक्समा शनिबार सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो। प्रतियोगितामा सुनुवार खेलाडीका ३२ टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको उद्घाटन पूर्वकोसी प्रदेशका पूर्वमन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यतामा भएको थियो। प्रतियोगिताको समापनसँगै खेलकुदमार्फत समुदायबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्य विस्तार गर्ने आयोजकको उद्देश्यसमेत अघि बढाइएको छ।

आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारले प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै समुदायका सदस्यबीच समन्वय, सहकार्य र साझेदारी बढाउन सहयोग पुग्ने बताए। खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक एकता, अनुशासन र सामुदायिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

यसैबीच, उद्घाटन समारोहमा ३८ वर्षसम्म निरन्तर राष्ट्रसेवामा समर्पित भई सेवा निवृत्त भएका सुवितकुमार सुनुवारलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। आयोजकले उनको योगदानको कदर गर्दै सेवा निवृत्त जीवन सुखद, सफल र फलदायी रहोस् भन्ने कामना गरेको थियो।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com