काठमाडौं, असार ३१ – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको जीवन, पहिचान र सम्मानको विषयलाई केन्द्रमा राखिएको नाटक ‘जिउँदो आकाश’ को विशेष प्रदर्शनी नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको एक थिएटर नेपालमा सम्पन्न भएको छ । चन्द्र पाण्डेको लेखन, आर के मेहताको निर्देशन तथा अनिल सुब्बाको एकल अभिनय रहेको नाटकले गरिमा नामक पात्रको जीवन यात्रा मार्फत समाज र परिवारबाट भोग्नुपरेको विभेद, अस्वीकृति तथा आत्मपहिचानको सङ्घर्षलाई मञ्चमा उतारेको छ । आफ्नै अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक बाँच्ने यात्रालाई संवेदनशील ढङ्गले प्रस्तुत गरिएको नाटकले दर्शकलाई गहिरोसँग छोएको छ ।

नाटकको विशेष आकर्षण कलाकार अनिल सुब्बाको एकल अभिनय रह्यो । उनले विभिन्न पात्रलाई फरक भाव, शैली र प्रस्तुतिमार्फत जीवन्त बनाउँदै दर्शकको प्रशंसा बटुले । विशेष प्रदर्शनीमा उपस्थित दर्शकहरूले नाटकले उठाएको विषयलाई आजको समाजका लागि आवश्यक बहसको विषय भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले यस्ता प्रस्तुतिले समावेशी समाज निर्माण र मानव अधिकारप्रति जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

२०७३ सालदेखि मञ्चन यात्रा सुरु गरेको ‘जिउँदो आकाश’ नेपालका विभिन्न सहरसँगै भारतका दिल्ली र गुवाहाटीमा पनि मञ्चन भइसकेको छ । आयोजकका अनुसार नाटक साउन १ देखि १२ गतेसम्म बुधबार बाहेक हरेक साँझ ५;३० बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १;३० बजे अतिरिक्त प्रदर्शन समेत हुनेछ ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया