काठमाडौं । अभिनेता राजेश हमाल पूर्वकूटनीतिज्ञका छोरा हुन् । उनी बेला-बेलामा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे धारणा राखिरहन्छन् । राष्ट्रिय मुद्दामा प्रायः मौन देखिने उनी पछिल्लो समय बोल्न थालेका छन् ।
२१ फागुनमा सम्पन्न चुनावको पूर्वसन्ध्यामा उनले भिडियो सन्देश जारी गर्दै आफ्नो धारणा राखेका थिए, जसले उनलाई निकै विवादित पनि बनायो । ‘नयाँ भनाउँदाहरू’ भन्दै उनले नयाँ दल र उम्मेदवारप्रति कटाक्ष गरेका थिए ।
पछिल्लो समय ‘बफर स्टेट’को मुद्दामा विपक्षीले सरकारको आलोचना गरिरहँदा हमालले यस समय र सन्दर्भमा आफ्नो धारणा राखेका छन् । उनले घुमाउरो ढंगले वर्तमान सरकारको परराष्ट्र नीति र अभिव्यक्ति लक्षित आफ्नो धारणा राख्न खोजेजस्तो देखिन्छ ।
उनले स्वतन्त्र राष्ट्रलाई उसका छिमेकीको आधारमा होइन, आफ्नै परराष्ट्र नीतिका आधारमा चिनिनुपर्छ भन्दै धारणा राखेका छन् । हालै बालेन शाह नेतृत्वको सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रमा बफर स्टेटको प्रसंग उल्लेख गरेको थियो ।
हमाल लेख्छन् :
‘यो कुरा तथ्यगत असम्भवता भन्दा बढी मानक वा नैतिक प्रश्न जस्तो देखिन सक्छ । तर, यदि कुनै देशलाई दिइने उपनामले उसलाई केवल उसका छिमेकीको आधारमा मात्र परिभाषित गर्छ भने, त्यसले उसको विशिष्ट पहिचानलाई सीमित, घटाइएको वा अवमूल्यन गरिएको जस्तो अनुभूति गराउन सक्छ । एक स्वतन्त्र राष्ट्रलाई उसका छिमेकीको आधारमा होइन, आफ्नै परराष्ट्र नीतिका आधारमा चिनिनुपर्छ । भौगोलिक रूपमा कुनै पनि देश छिमेकीसँग जोडिएको हुन्छ, तर त्यसले उसको पहिचान निर्धारण गर्नु हुँदैन । उदाहरणका लागि, नेपाललाई प्रायः भारत र चीन बीचको देश भनिन्छ । तर, नेपालले असंलग्नता, सन्तुलित कूटनीति, र संयुक्त राष्ट्र संघमा सक्रिय सहभागितामार्फत आफ्नो स्वतन्त्र पहिचान निर्माण गरेको छ । सिंगापुरले आफ्ना छिमेकीजस्तै मलेसिया र इन्डोनेसियासँग तुलना गरेर होइन, प्रभावकारी परराष्ट्र नीति र आर्थिक कूटनीतिमार्फत विश्वमा आफ्नो छुट्टै स्थान बनाएको छ । यसैले, कुनै राष्ट्रको साँचो पहिचान उसको भौगोलिक अवस्थाले होइन, तर उसले अन्तर्राष्ट्रिय मञ्चमा खेलेको भूमिकाले निर्धारण गर्छ ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया