‘भोलाराम ठंड से मर गएल’

तेरो धोतीभन्दा अलि मोटो
कम्बल पठाएको त थियो
सरकारले तँलाई ।

आएन तेरोमा ?

यो शक्तिशाली कवितांश कवि राकेश क्रान्तिकारी को ‘सरी सहिद’ शीर्षकको कविताबाट लिइएको हो । केही समय यता कवि राकेश क्रान्तिकारीको कविताहरु सँग छु अर्थात उनको ‘अनाम प्रेमिका’ सँग । ३९ वटा कविताहरु सम्मिलित यस सँग्रह हतार नगरी, बिस्तारै आनन्दले पढि सकियो । राकेश क्रान्तिकारीका केही कविताहरु सञ्जालहरुमा पढे यता, केही पोर्टलहरुमा कविता प्रति उनको विचार सुने यता र एकाध भेटहरुमा कविता माथिको गफगाफ भए यता देखिनै उनको सँग्रह पढ्ने इच्छा भएको थियो ।

कविहरु सत्ताका प्रतिपक्ष हुनु पर्छ भन्ने प्रकारको उनको समग्र तर्क मलाई चित्त बुझेको हो । उनको कवितामा त्यही प्रतिपक्षी स्वभाव अपेक्षा थियो । यसैले उनको सँग्रहको नाम ‘अनाम प्रमिका’ मेरो लागि अनपेक्षित रहन गयो । नाम थाहा पाएपछि सँग्रहमा अलि बढी प्रेम कविताहरु होलान् भन्ने अडकल काटेको थिएँ । तर त्यस्तो रहेनछ । समग्र कविताको केन्द्रमा आम मान्छेहरु नै छन् ।

सँग्रह पढिसकेपछि सँग्रहको बारेमा केही प्रतिक्रिया लेखौँ लाग्यो । यो समालोचना होइन । समालोचनाका आधारभूत तत्वहरु पनि यो लेखमा नपाइएला । यो केबल कविता पठन पछिको नितान्त वयैक्तिक अनुभुतिहरुमा आधारीत पाठकीय प्रतिक्रिया मात्र हो ।

सँग्रह भित्रका कुरा…

क. सरल लेखन शैली
कवितामा आएको ठेट लवज र साधारण संवादको जस्तो अनुभुति दिने उनको शैलीले कवितालाई सरल सम्प्रेष्णात्मक बनाएको छ । कविता सरल र सम्प्रेषणात्मक भन्नुको अर्थ कविताको भाव कम्जोर छ भन्ने होइन । कविताको भाव बढो शक्तिीशाली छ ।

हाम्रा जीवनका अमूल्य सपनाहरु
कोट्याई कोट्याई
कहिले ठिक नहुने घाउ बनाइराखेर हिँडेका हुन् उनीहरु ।
(कोट्याउनेहरु, पृष्ठ ५६)

यो कवितांशले उनका कविताहरुको सरलता र सरलता सँगको भव्यतालाई पुष्टि गर्दछ । ठेट अथवा साधारण बोलीचालीको लवजमा उनको अधिकांश कविताहरु छन् । जसले कविताको लेखनशैली बढो सरल र नवीन किसिमको अनुभुत गराउँदछ ।

ख.सशक्त वैचारीक संप्रेषण
उनको कविताको केन्द्रमा ठूला मुद्दाहरु छैनन् । ठूला ठूला दर्शन वा सिद्धान्तहरु छैनन् । बरु उनको कविताको केन्द्रमा त साधारण मान्छेका असाधारण दुखहरु छन् । चिन्तनहरु छन् । कविता क्लिष्ट नभएकोले पनि हुन सक्छ कवितामा वैचारिक संप्रेषण सशक्त छ । कविता संप्रेषण यस मानेमा पनि सशक्त छन् कि उनका कविताहरु कुनै पनि साधारण व्यक्तिले अनुभुत गर्न सक्छ । उनको कविताको विचार कुनै पनि स्तरका व्यक्तिले सहजै मनन गर्न सक्छ ।

एक टुक्रा जीवन त छ
तर जिउँदै छ कि मर्दैछ

हरेक लामो लाइनमा आशाका किरणहरु
बाटामा झुन्ड्याइएका पिलिक पिलिक बत्ती जस्तै
सपनाका अनुहारमा कोरिएको नङ
बिपनाको पाँसुलामा गाडिएको दाँत
कसको हो सबै थाहा छ ।

तर पनि म चुपचाप किन छु?
सबैभन्दा खतरनाक प्रश्न मैसित छ ।
(उत्तर खोजौँ, पृष्ठ ६७)

पढ्ने किताबको अक्षरमा
हाम्रै सपना टालिएका छन् कि
थापिएको छ खतरनाक एम्बुस
ध्यानपूर्वक सुन,
हाम्रा खाँटी मुटुमा
कसको चलखेल उफिँदैछ?
खाँटी दिमागमा
कसरी चलखेल हिँडदैछ ?
(चुपचाप, पृष्ठ ७३)

यसरी उनको कवितामा सशक्त वैचारिक संप्रेषण छ ।

ग.सशक्त प्रतिपक्षी
मलाई लाग्छ सत्ता त्यही समय देखि निरङ्कुश हुँदै जान्छ जब कविहरुले उनीहरुको तारिफमा कविता लेखिदिन्छ । जब सँगीतकारहरुले उनीहरुको लागि सँगीत सिर्जना गर्छन् । जब उनीहरु सुहाउँदो गीत बन्न थाल्छन् । हो, सत्ताले स्वविवेक र चेतना त्यहीँ बाट गुमाउँछ भन्ने लाग्छ । यसैले कविहरु वा कुनै पनि सर्जक सत्ताको सशक्त प्रतिपक्षी सदाबाहार बनिरहनु पर्छ भन्ने मलाई लाग्दछ ।

कवि राकेश क्रान्तिकारीका अधिकांश कविताहरुमा सशक्त प्रतिपक्षी स्वभाव पाइन्छ । सत्तालाई प्रश्नहरु छन् । सत्तालाई खबरदारीहरु छन् । कवि भारतिय मूलका नेपाली भाषि कवि हुन् तर पनि उनले लेखेका हरेक सत्ता लक्षित कविताहरु हाम्रो आफ्नो आवाज जस्तो लाग्छ । सायद सत्ताको निरङ्कुश स्वभाव एउटै भएर हुनसक्छ । सायद भुईँ मान्छे प्रतिको सत्ताको व्यवहार उस्तै भएर हुन सक्छ । जुनसुकै भुगोलका हामी भुईँ मान्छेहरु समानान्तर अनुभुतिहरु सँग बाँच्छौँ किनकी हामी प्रतिको सत्ताको व्यवहार पनि उस्तै समानान्तर छ । यसैले कुनै पनि भुगोलमा भुईँ मान्छेको लागि उम्रिएको कविता अर्को भुगोललाई पनि आफ्नो लाग्ने रहेछ । फरक भुगोलका कविले लेखेको सत्ता लक्षित कविता अर्को भुगोलको हामीलाई पनि सशक्त लागेको छ । 

तिम्रै लागि तयार छ
कालो चस्मा
यस गणतान्त्रिक शान्त माटोमा
तिम्रै लागि भनेर तयार गरिएको छ
कहिले नचुँडिने डोरी
बस्, तिमी घाँटी तयार पारेर आउनू ।
(गणतन्त्र उर्फ गनतन्त्र, पृष्ठ ५४)

   गणतन्त्रको उपयोग एउटा तहले राम्रो सँग गरिरहेको होला । लाभ उठाइरहेको होला । तर अर्को तह त्यही उपयोगीताहरुको पैँतालाले थिचिएका छन् । यो दुखद अवस्था माथि कडा व्यङ्ग्य प्रहार गरिएको यस कविता सशक्त छ । गणतन्त्र हाल सम्मकै राम्रो शासन व्यवस्था होला तर यो कम्जोरी बिहीन भने पक्कै छैन् । गणतन्त्रको तारिफै गरेर पनि कविले कविता लेख्न सक्थे तर उनले गणतन्त्र माथिनै प्रश्न गरे । यसरी कुनै एउटा व्यवस्थाको मात्रै होइन सबै व्यवस्थाका सबै गलत प्रवृत्तिको सधैँ कवि सशक्त प्रतिपक्षी हुनु पर्छ भन्ने स्वभाव कवि राकेशका कविताहरुमा पाइन्छ । 

घ. एक असफल प्रेमीको कन्फेसन
भन्नेहरुले भन्छन्, “सफल हुन र असफल हुनका लागि प्रेम कुनै प्रतियोगिता होइन । सँगै रहनु र सँगै नरहनुले प्रेममा कुनै अर्थ राख्दैन् ।” तर यी कुराहरु सायद पढ्न र सुन्न मात्र आनन्द लाग्ने कुरा हुन् । यथार्थ अनुभुतीहरु यी भनाईहरु भन्दा बिल्कुल विपरीत छ । मलाई थाहा छैन् कवि राकेश कुनै समय गहिरो प्रेममा थिए या थिएनन् ? मलाई थाहा छैन्, उनको प्रेम यात्रा कस्तो थियो ? तर सँग्रहमा भएका थारै प्रेमील कविताहरु मध्येमा पनि एकाध कविताहरुमा एक असफल प्रेमीको कन्फेसन अनुभुत हुन्छ ।

थोरै गन गन का कुरा ………………………….

कविता माथि टिप्पणी गर्नु भनेको कुनै पहाड माथि टिप्पणी गर्नु जस्तै होला । अर्थात व्यक्तिको दृष्टिकोण अनुसार टिप्पणी फरक फरक हुन जान्छ । यसैले यहाँ मेरा गनगनहरुनै यी कविताहरु माथीको अन्तिम सत्य होइनन् ।

“इतिहास” कविता औधी सामान्य लाग्यो । भाव हलुका लाग्यो ।

“गणतन्त्र” कविताको सुरुवात बढो सशक्त छ । जसरी सशक्त गरी कविताको सुरुवात भएको छ त्यसको ठिक विपरीत तरीकाले यस कविताको अन्त्य भएको छ । यस कविताको अन्तिमका पङ्क्तीले कवितालाई कम्जोर बनाएको छ ।

मलाई लाग्छ “झुट” कवितामा अन्तिम हरफ नभई दिए पनि कविता पूर्ण हुने थियो । कवितालाई विभिन्न दृष्टिकोण बाट हेर्न सकिन्थ्यो तर अन्तिम हरफले कवितालाई सिमित गरायो कि? भन्ने लाग्यो ।

“उत्तर खोजौँ ” कविता साँच्चै भव्य छ तर यस कविताको भावको भव्यतालाई यसको शिर्षक र अन्तिमका दुई पङ्क्तिले न्याय नगरेको हो कि? लाग्यो ।

यसरी “अनाम प्रेमिका” का अधिकांश कविता सशक्त हुँदाहुँदै पनि केही कविता कम्जोर महशुस भयो ।

सरी सहिद, पाँच वर्ष, नयाँ वर्ष, शिवजीहरु, ओई कान्छी, गुम्सिएर लगायतका कविताहरु मलाई औधि मनप¥यो ।

अन्तिममा, पठन अनुभुति सुखद रह्यो । कवि जी, लाई सुन्दर कृतिका लागि बधाई छ ।
धन्यवाद ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com