काठमाडौँ । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ले मुलुकको वर्तमान अवस्थालाई चित्रण गरेको सेलिब्रेटीले बताएका छन् । सोमबार बेलुका आयोजित विशेष शोमा उनीहरूले समग्र देशको परिस्थितीलाई दर्शाएको बताएका हुन् ।

सङ्गीतकार शम्भुजीत बासकोटाले फिल्मले दिएको सन्देशलाई राष्ट्रले शिरोपर गर्नुपर्ने बताए ।

उनले भने, ‘पहाड रित्तिदैंछ । रोजगारी छैन, हरिया पहाड उजाड छन् । फिल्मले दिएको सन्देश राष्ट्रले लिनुपर्नेछ । युवालाई स्वदेश फर्कन र आफ्नो समस्यालाई सामूहिक रुपमा लडेर न्यूनीकरण गर्न प्रेरित गरिएको छ । फिल्म राम्रो बनेको छ’, सङ्गीतकार बासकोटाले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले निर्देशक घिमिरेका पहिलेका फिल्मले मनोरन्जनसँगै सन्देश बोकेको बताए । उनले भने, ‘तुलसी दाईले फिल्ममार्फत दिनभएको सन्देश प्रसंशनीय छ । अभिनयसँगै फिल्ममार्फत समग्र देशको अवस्थालाई चित्रण गरिएको छ । यो कथा पहाडको भएता पनि समग्र देश नै फिल्ममा देखिएको छ । युवालाई देश, गाउँ र पहाड फर्किन फिल्मले प्रेरित गर्छ ।’

निर्देशक तुलसी घिमिरे, अभिनेताहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रेणुनाथ योगी, पञ्चमी घिमिरे लगायतले फिल्मले पाइरहेको प्रतिक्रियाबारे जानकारी दिएका थिए । ९ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए ।

उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खोजेको कुरालाई दर्शकले राम्रोसँग बुझ्नुभएको छ, अधिकांश दर्शकले यसलाई आफ्नै कथा भन्नुभएको छ । मैले जे सन्देश दिन खोजेको थिएँ, त्यो दर्शकसम्म पुगेको छ । फिल्म हेर्न आउनु भएका दर्शक सन्तुष्ट भएर फर्किनु भएको छ ।’

बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता विषयमा आधारित फिल्मले अहिलेको समसामयिक विषयलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याएको उनीहरूले बताए ।

कार्कीले फिल्मले पाएको प्रतिक्रियाले आफूसहित टिम उत्साहित रहेको बताए । ‘यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्दा आगामी दिनमा दर्शकको भीड अझ बढ्नेमा आशावादी छु । यसले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको छ । फिल्म हेर्नेले पक्कै अन्यलाई सिफारिस गरेर फिल्म हेर्न हलसम्म पठाउनु हुनेछ’, उनले भने ।

अभिनेता बानियाँले घिमिरे जस्तो निर्देशकसँग काम गर्न पाउनु गौरवको विषय रहेको बताए । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, उमा गिरी, अरुण क्षेत्रीको पनि अभिनय छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका पहाडी क्षेत्र र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक समस्यालाई चित्रण फिल्ममा चित्रण गरिएको छ ।

निर्देशक घिमिरेले यसअघि ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि समेटेका छन् । छायांकन प्रमोद प्रधानले गरेका हुन् ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले अभिनेत्रीका रूपमा डेब्यू गरेकी छन् । जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन् ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com