भारतका भरिएका सिनेमा हलहरूमा मात्र महसुस गर्न सकिने एक किसिमको ऊर्जा हुन्छ- नायकको स्लो-मोशन प्रवेशमा बज्ने सिटी, गडगडाहटजस्तो सुनिने ताली, अनि कथाको मोड आउनुअघि अचानक छाउने शान्ति ।

केही समयसम्म त्यो ऊर्जा हराउँदै गएको जस्तो देखिएको थियो । स्ट्रिमिङ प्लेटफर्महरूको बढ्दो प्रभावले हलमा दर्शक घटे, ठूला बजेटका फिल्म अपेक्षाअनुसार चलेनन्, र ठूला रिलिजले पनि खासै उत्साहजनक प्रतिक्रिया पाएनन् ।

तर, त्यसपछि डिसेम्बरमा ‘धुरन्धर’ आयो । सन् २०२५ को अन्त्यसम्म आइपुग्दा यो स्पाइ थ्रिलरले केवल बक्सअफिसको शीर्ष स्थान मात्र लिएन, त्यसलाई नयाँ उचाइमा पुर्‍यायो । विश्वभर करिब १५५ मिलियन डलर कमाउँदै यो हिन्दी भाषाका सबैभन्दा सफल फिल्ममध्ये एक बन्यो ।

यसको प्रभाव सिनेमा हलमा पनि देखियो । फेब्रुअरीमा भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स अपरेटर पीभीआर इनक्सले डिसेम्बरसम्मको त्रैमासिक अवधिमा दर्शक संख्या करिब ९ प्रतिशतले बढेको जनाएको छ । ‘धुरन्धर’को रेकर्ड कमाइले कम्पनीको समग्र बक्स अफिस आम्दानी पनि गत वर्ष १३ प्रतिशतले बढाउन मद्दत गरेको थियो ।

यसको सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ रिलिज भएसँगै त्यो माहोल झन् तातिएको छ । गत साता प्रदर्शनमा आएको फिल्मले सुरुमै उच्च माग देखाएको छ ।

पाँच भाषामा अग्रिम बुकिङमार्फत मात्रै १५ लाखभन्दा बढी टिकट बिक्री भएका छन्, जुन थोरै फिल्मले मात्र पाउने खालको उत्साहको संकेत हो ।झन्डै चार घण्टा लामो यो सिक्वेल पहिलो भागभन्दा अझ ठूलो, चर्को र केही हदसम्म बढी प्रदर्शनमुखी बनेको छ । दर्शक हलमा ओइरिएका छन् । भारतभरका मल्टिप्लेक्सले बिहानैदेखि राति ढिलोसम्म दिनमा झन्डै तीन दर्जन शो सञ्चालन गरिरहेका छन् ।

फिल्म व्यापार विश्लेषक तरण आदर्श भन्छन्, ‘यो सिक्वेलले इतिहास रचिरहेको छ । यसले अघिल्ला सबै रेकर्ड तोड्दै बक्स अफिसको परिभाषा नै बदलिरहेको छ । यो साँच्चिकै गेम चेन्जर हो ।’

तीन घण्टा ३४ मिनेट लामो पहिलो ‘धुरन्धर’ ले जासुसी, गिरोहबीचको युद्ध र देशभक्तिको मिश्रण प्रस्तुत गरेको थियो । अभिनेता रणवीर सिंहले खतरनाक कराँची मिसनमा देखाएको आत्मविश्वासी जासुसको भूमिकाले फिल्मलाई मजबुत बनाएको थियो । निर्देशक आदित्य धरले भारत-पाकिस्तान सम्बन्धको तनावसँगै आकर्षक एक्सन प्रस्तुत गरेका थिए, जसले फिल्मको गति र प्रस्तुतिका लागि प्रशंसा पायो भने यसको राजनीतिक सन्देशबारे बहस पनि चुलियो ।

‘धुरन्धरः द रिभेन्ज’ ले पहिलो भागको अधुरो मोडबाट कथा अघि बढाउँदै कराँचीको आपराधिक र राजनीतिक दुनियाँभित्र भारतीय गुप्तचर निकायको लामो अभियानलाई अझ गहिराइमा लैजान्छ । पहिलो भागसँगै छायांकन गरिएको र केवल तीन महिनापछि रिलिज गरिएको झन्डै चार घण्टा लामो यो सिक्वेलमा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त र सारा अर्जुन पनि देखिएका छन् ।

प्राविधिक रूपमा निकै आकर्षक बनाइएको यो फिल्मले पहिलो भागझैँ तीव्र गति भएको एक्सन र कडा हिंसालाई शक्तिशाली, भाव बदलिरहने संगीतसँग जोडेको छ । यसको स्केल, निर्माण शैली र महत्वाकांक्षाको प्रशंसा भइरहेको छ, तर यसको राजनीतिक र वैचारिक प्रस्तुतीले केही दर्शकलाई असहज पनि बनाएको छ ।

फिल्मले दक्षिण एशियाका केही वास्तविक घटनाहरूबाट पनि प्रेरणा लिएको छ- जस्तै पाकिस्तानको ‘अपरेसन लियारी’ र भारतको नोटबन्दी । यी सन्दर्भलाई कथासँग जोडेर भू–राजनीतिक पृष्ठभूमि प्रस्तुत गरिएको छ ।

प्रारम्भिक प्रतिक्रिया भने निकै उत्साहजनक देखिएको छ । हलबाट बाहिरिने दर्शकले यसलाई ‘पैसा असूल’ भन्दै प्रतिक्रिया दिएका छन्, अर्थात् टिकटको पैसा पूर्ण रूपमा उठ्यो भन्ने भावना । लामो समयावधि पनि दर्शकका लागि बाधा नभई अनुभवकै हिस्सा बनेको देखिन्छ ।

चर्चित कलाकारको प्रतिक्रिया पनि उत्साह थप्ने खालको छ । अल्लु अर्जुनले फिल्मको ‘स्टाइलसहितको देशभक्ति’को प्रशंसा गरेका छन् भने प्रीति जिन्टाले यसलाई ‘माइन्ड ब्लोइङ’ भनेकी छन् । वरिष्ठ अभिनेता अनुपम खेरले भने यसलाई ‘उत्कृष्ट’ भन्दै ‘देशप्रति गहिरो गर्व महसुस गराउने फिल्म’ बताएका छन् ।

यता, समीक्षकले भने केही सन्तुलित दृष्टिकोण राखेका छन् । उनीहरूले फिल्मको निर्माण पक्षको प्रशंसा गर्दै यसको उद्देश्य र सन्देशमाथि प्रश्न उठाएका छन् । समीक्षकले भने फिल्मलाई केही फरक ढंगले हेरेका छन् । उनीहरूले यसको निर्माण कौशलको प्रशंसा गरे पनि उद्देश्यप्रति प्रश्न उठाएका छन् ।

एक समीक्षकका अनुसार फिल्मले कथा गहिराइभन्दा ‘आक्रामकता’ लाई बढी प्राथमिकता दिएको छ । उनका अनुसार अत्यधिक राष्ट्रवाद र शत्रु निर्माणमा केन्द्रित हुँदा जटिल भू-राजनीतिक विषयलाई ‘कालो-सेतो देशभक्तिपूर्ण नारामा सीमित’ बनाइएको छ । अर्का एक समीक्षक भन्छन्, फिल्म ‘आक्रोशले भरिएको छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट छैन ।’ अर्को प्रतिक्रिया अनुसार, पहिलो भागमा रहेको ‘प्रचारको झल्को भए पनि तीव्र कथा र प्रभावशाली संगीतले ढाकिएको’ पक्ष यहाँ त्यति प्रभावकारी छैन, त्यसैले सिक्वेल त्यति रमाइलो बन्न सकेको छैन ।

रेडिटजस्ता प्लेटफर्ममा पनि दर्शकको प्रतिक्रिया मिश्रित देखिन्छ- केही प्रशंसा, केही शंका, र फिल्म वरिपरि बनेको ‘हाइप’प्रति थकानसमेत । प्रयोगकर्ताले एकअर्कालाई ‘अपेक्षा नियन्त्रणमा राख्न’ सुझाव दिँदै, भीडभाड र भाइरल चर्चाले अनुभवलाई बढी बढाइचढाइ गरेर देखाइरहेको हुनसक्ने चेतावनी दिएका छन् । एक लोकप्रिय पोस्टमा लेखिएको छ- फिल्म ‘अन्त्यका लागि ठीकठाक त हो… तर अपेक्षाभन्दा निकै कमजोर ।’ त्यहाँ कथालाई ‘हतारमा बनाइएको’, एक्सन दृश्यहरू अनावश्यक रूपमा लामो भएको र संगीत पनि “मेल नखाने” जस्तो लागेको टिप्पणी गरिएको छ ।

अर्का एक दर्शक भने केही उदार देखिन्छन् । उनले लेखेका छन्, ‘मलाई फिल्म राम्रो लाग्यो- फेरि हेर्ने खालको त होइन, तर एकपटक हेर्न लायक चाहिँ पक्का ।’ उनका अनुसार कथा कमजोर लागे पनि लामो गोलीबारीमा पात्रहरू बाँचिरहने पक्ष अलि अविश्वसनीय भए पनि ‘अभिनय भने निकै उत्कृष्ट’ छ । तर बहस सबैभन्दा चर्किने ठाउँ राजनीति नै बनेको छ ।

धेरै प्रयोगकर्ताले सिक्वेल पहिलो भागभन्दा कम सूक्ष्म भएको बताएका छन् । एक जनाले त सिधै यसलाई ‘खुला प्रचार’ भनेका छन् । अर्का प्रयोगकर्ताका अनुसार फिल्म ‘यति खुलेर राजनीतिक’ छ कि ‘बीचको कुनै स्थान नै छैन-या त मन पराउँछौ, या त असहज महसुस हुन्छ ।’ भारतको २०१६ को नोटबन्दी (उच्च मूल्यका नोट हटाउने निर्णय) समेटिएको एक दृश्यले पनि आलोचना तानेको छ ।

केही दर्शकले यसलाई नीतिको अप्रत्यक्ष समर्थनका रूपमा हेरेका छन्- फिल्ममा नोटबन्दीलाई पाकिस्तानबाट आउने नक्कली नोट नियन्त्रण गर्ने प्रभावकारी कदमको रूपमा प्रस्तुत गरिएको छ । (तर, सरकारले पछि सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यो निर्णयले अर्थतन्त्रमा नकारात्मक असर पारेको र वृद्धि दर घटाएको उल्लेख गरेको थियो ।)

तर, आलोचना गर्नेहरूकै बीच पनि यसको प्रस्तुतिको प्रशंसा देखिन्छ । रणवीर सिंहको अभिनयले व्यापक तारिफ पाएको छ भने शाश्वत सचदेवको संगीत पनि मन पराइएको छ । एक समीक्षकले त उनको शैलीलाई परम्परागत बलिउड संगीतकारभन्दा हिप-हप निर्माता जस्तै ‘फ्रेग्मेन्ट-आधारित’ प्रयोगशील शैलीसँग तुलना गरेका छन् ।

समग्रमा हेर्दा ‘धुरन्धर’ वरिपरि बनेको उत्साह-सडकदेखि सामाजिक सञ्जालसम्म-फिल्म केवल ब्लकबस्टरमा सीमित नरही एउटा सांस्कृतिक बहसको केन्द्र बनेको देखिन्छ, जहाँ मनोरञ्जन, राजनीति र जनमानसको भावना एकआपसमा जुधिरहेका छन् ।

यसको प्रभाव अझ फराकिलो दायरामा पनि फैलिएको छ । जनवरीमा ‘द टाइम्स अफ इन्डिया’मा लेख्दै पूर्वविदेश सचिव निरुपमा रावले पहिलो फिल्मको व्यापक प्रभावबारे सावधानी अपनाउनुपर्ने संकेत गरेकी थिइन् ।

‘सायद ‘धुरन्धर’को सबैभन्दा चिन्ताजनक पक्ष पाकिस्तानबारे यसले के भन्छ भन्ने होइन, बरु भारतकै लोकतान्त्रिक प्रवृत्तिबारे यसले के संकेत गर्छ भन्ने हो । आलोचकप्रति देखिएको शत्रुतापूर्ण व्यवहार– अविश्वासी ठहर्‍याउने आरोप, उत्पीडनका अभियान- यसले राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा असहमति सहने क्षमता घट्दै गएको देखाउँछ,’ रावले लेखेकी छन्।

‘युद्ध फिल्मले सुरु गर्दैनन् । तर, जब समाजले अँध्यारो हलभित्र बसेर त्यस्ता कुरा उत्साहका साथ समर्थन गर्न सिकिसक्छ, तब युद्धलाई उचित ठहर्‍याउन सजिलो हुन्छ ।’

तर, फिल्मको प्रभाव लेख-टिप्पणीको सीमाभन्दा धेरै पर फैलिएको छ- कहिलेकाहीँ अनपेक्षित ठाउँसम्म पनि ।

लन्डनको एक बिहानको दौडमा समेत यसले चर्चा पायो । फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीका साथ हाइड पार्कमा दौडिँदै गर्दा ‘धुरन्धर’को उल्लेख गरेपछि सामाजिक सञ्जालमा चर्चा बढ्यो ।

गत साता एक्समा सार्वजनिक भएको भिडियोमा दौडिँदै गर्दा कार्नीले स्टबसँग भारतमा अचानक बढेको लोकप्रियताबारे सोधेका थिए । त्यसको जवाफमा स्टबले भने, ‘मैले ‘धुरन्धर’ हेरेको कुरा भनेपछि ठूलो चर्चा भयो ।’

उनले एएनआईसँग भने, ‘भारत जानुअघि मेरो छोराले ‘धुरन्धर’ हेर्न सुझाव दिएको थियो, र मैले हेरेँ पनि । कथामा म पनि एक हिसाबले जोडिएको थिएँ । आतंकवादविरुद्ध लड्न पाउँदा खुसी लाग्छ, र मार्च १९ मा आउने सिक्वेलको प्रतीक्षा छ ।’

यति मात्र होइन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि फेब्रुअरीमा भारत भ्रमणको अन्त्य ‘धुरन्धर’को शीर्ष गीत राखिएको भिडियो सार्वजनिक गरेर गरेका थिए ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर’ वरिपरि देखिएको उत्साहले सन् १९७५ को बलिउड क्लासिक ‘शोले’को सम्झना दिलाउँछ ।

त्यो चर्चित फिल्म मुम्बईको एउटै हलमा पाँच वर्षसम्म लगातार चलेको थियो, बक्स अफिसका सबै रेकर्ड तोडेको थियो र सांस्कृतिक रूपमा ठूलो प्रभाव पारेको थियो । आज पनि यसको संवादहरू विवाह, राजनीतिक भाषण र विज्ञापनसम्ममा उद्धृत भइरहेका छन् । तरण आदर्शका अनुसार ‘धुरन्धर’ले ठूलो पर्दाको बलिउड ब्लकबस्टरको पुनरागमन संकेत गरेको छ, जुन स्ट्रिमिङको समयमा केही ओझेलमा परेको थियो ।

उनी भन्छन्, ‘धुरन्धरले घट्दो अवस्थामा रहेका सिनेमा हलमा फेरि दर्शक फर्किएको संकेत दिएको छ । मानिसहरू फेरि टिकट किन्न थालेका छन्, ‘हाउसफुल’ बोर्डहरू फेरि देखिन थालेका छन् ।’

‘यो ठूलो बलिउड हिटको पुनर्जन्म हो । यसले फिल्म व्यवसायलाई नै नयाँ ढंगले परिवर्तन गरिरहेको छ ।’

बीबीसी वर्ल्डबाट ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com