२ – वैशाख काठमाडौँ – नयाँ वर्ष २०८३ को उल्लासमय अवसरमा एक थिएटर नेपालले आफ्नो नयाँ यात्राको सुरुवातसँगै भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरी सहरलाई कला र सिर्जनाको रंगले रंग्याएको छ । नयाँ स्थानबाट सुरु गरिएको यस कार्यक्रमले दर्शकमाझ उत्साह, ऊर्जा र सृजनशीलताको नयाँ सन्देश प्रवाह गरेको देखिएको छ ।

कार्यक्रम विविध कलात्मक प्रस्तुतिहरूले सजिएको थियो, जसमा कविता, संगीत, नाटक तथा सर्ट फिल्मले विशेष स्थान ओगटेका थिए । कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा प्रविधि राई र उनको समूहले मौलिक गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भए । संगीतसँगै दर्शकहरू पनि मन्त्रमुग्ध बनेका थिए ।

दोस्रो चरणमा समसामयिक विषयवस्तुमा आधारित सर्ट फिल्महरू प्रदर्शन गरिएका थिए । विशेषगरी निर्देशक तानसेन लामाको “क्राइ” प्रभात गुरुङको “मङ्क एन्ड रिबेल” र जीवन दाहालको “केस”ले दर्शकको ध्यान केन्द्रित मात्र गरेनन्, सोच्न बाध्य पनि बनाएका थिए । यी फिल्महरूले समाजका विविध पाटा उजागर गर्दै कला मार्फत सशक्त सन्देश दिन सफल भएको प्रतिक्रिया दर्शकबाट प्राप्त भएको थियो ।

तेस्रो चरण खुला मञ्च (ओपन माइक) को रूपमा सञ्चालन गरिएको थियो, जहाँ युवा कवि, कलाकार तथा सर्जकहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए । साथै, एक थिएटर नेपालका तेस्रो ब्याचका विद्यार्थीहरूले तयार पारेको नाटक मञ्चन गरिएको थियो, जसले दर्शकको मन जित्न सफल भएको थियो ।

कार्यक्रमको सञ्चालन प्रसिद्ध कवि, नाटक लेखक तथा एक थिएटर नेपालका सचिव गिलु रातोसले गरेका थिए । उनले आफ्नो मन्तव्यमा यस स्थानलाई सम्पूर्ण कलाकारहरूको साझा सिर्जनात्मक थलोका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै कला र संस्कृतिसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन सबैलाई खुला निमन्त्रणा दिएका थिए ।

एक थिएटर नेपालका सदस्य जयराम ढकालको अनुसार एक थिएटर नेपाल अहिले पहिले गुरुकुल रहेको स्थानमा सरेको हो, जहाँबाट नयाँ ऊर्जा, सोच र सिर्जनासहित कला गतिविधिहरूलाई अझ सशक्त रूपमा अगाडि बढाइने विश्वास लिइएको छ।

कार्यक्रममा कला प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ वर्षलाई केवल उत्सव मात्र नभई सिर्जनात्मक अभियानका रूपमा स्वागत गरिएको यस कार्यक्रमले काठमाडौँको सांस्कृतिक क्षेत्रमा सकारात्मक तरंग पैदा गरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com