हङ्कङ् – लिम्बू संस्कृतिमूलक चलचित्र ‘सेमीफुङ्’ को हङ्कङमा विशेष प्रदर्शन हुने भएको छ | याक्थुङ् मुन्चइत चोक सयङ् हङ्कङ्को आयोजनामा आगामी १ फेब्रुअरी २०२६ आइतबार साँझ 6:30 बजे हङकङस्थित Yau Ma Tei Community Hall मा विशेष प्रदर्शन गरिने बताइएको छ | आइतबार चुम्लुङ्हिम हङ्कङमा जानकारी सभाको आयोजना गरि घोषणा गरिएको हो | विशेष प्रदर्शनी कार्यक्रम चलचित्रका निर्माण पक्ष र नायक नायिकाको उपस्थितिमा गरिने उक्त संस्थाका महासचिव हाङ् चेम्जोङ्ले बताए |
सेमिफुङ्फुङ (फूलको उज्यालो) एक आदिवासी लिम्बू सांस्कृतिक प्रेमकथा हो । यो चलचित्रले उपनिवेशकालीन र आधुनिक शक्तिहरूको प्रभावसँगै प्रवेश गरेका विभिन्न धार्मिक हस्तक्षेप र परम्परागत जीवनशैलीमा आएको विचलनले एक युवा लिम्बू जोडीको सम्बन्धमा कसरी गहिरो असर पार्छ भन्ने कुरालाई चित्रण गर्छ । आदिवासी लिम्बू गाउँको परिवेशमा आधारित यो कथा आधुनिक समयको बढ्दो प्रभाव र आफ्नो मौलिक संस्कृति, पहिचान तथा परम्परालाई जोगाइराख्न आदिवासी समुदायले भोग्नुपरेको संघर्षको जीवन्त प्रतिबिम्ब हो ।
याक्थुङ फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र सेमिफुङलाइ राज थापा काउचाको लेखन र रनवीर लिम्बू ‘रवि सेर्मा’ले निर्देशन गरेका हुन् | इलामको माङसेबुङ, माङमालुङ, झापा लगायत विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रमा बबिन आङदेम्बे, शेरबहादुर पतङ्वा, सागर केरुङ, बुद्दिबहादुर आङदेम्बे र संगीता लावती निर्माता रहेका छन् | बबिन आङदेम्बे, सतिका सुब्बा, संगीता लावती, चन्दा थेगिम, उदय सुब्बा कुरुम्बाङ्, त्रिभुवन लुङ्फुङ्वा, बिनोद पोमु, विजय संयक लगायतको अभिनय रहेको छ भने साङ्सेन् पन्धाक, आइत खजुम, सेसेमी से नाल्बोको गीतमा डिल्ली फोम्बो र अशोक लोहरुङ्को संगीत, देवेन चेम्जोङ्, इन्दिरा नेम्बाङ्, कल्पना मादेन, उदय बेघा र निरन्ता नेम्बाङ्को स्वर रहेको छ | बिक्रम डिसी, भोगेन्द्र याम्फु, सुमन तामाङ् र सन्देश मोथेको छायाङ्कन, अशोक मण्डलको शृंगार र अनिल महर्जनको सम्पादन रहेको छ |
सेमिफुङ्फुङले प्रेमकथाको माध्यमबाट आदिवासी लिम्बू समुदायले आजको परिवर्तनशील संसारमा भोग्नुपरेका भावनात्मक, सांस्कृतिक र आध्यात्मिक संघर्षहरूलाई गहिरो र संवेदनशील ढंगले प्रस्तुत गर्छ । यो कथा केवल दुई व्यक्तिको प्रेमकथा मात्र होइन, आफ्नो भाषा, संस्कृति, विश्वास र अस्तित्व जोगाइराख्न संघर्षरत सम्पूर्ण आदिवासी समुदायको सामूहिक पीडाको प्रतीक हो |
भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=-RpUTQpvQ6I&t=84s
प्रकाशित मिति: २० पुस २०८२, आइतबार

प्रतिक्रिया