४ मंसिर, काठमाडौं।नेकपा एमालेका नेता योगेश भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै सभामुख पदमुक्त भएको र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेको लगायतका घटनाको सन्दर्भमा भट्टराईले गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।मधेशमा पार्टीको छवि सुधार्नुपर्ने र नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता समेत उनले औंल्याएका छन् ।

‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छवीलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ,’ भट्टराईले विहीबार बिहान फेसबुकमा लेखेका छन्, ‘यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’मधेश प्रदेशको संसदीय फाँटमा एमालेलाई ठूलो धक्का लागेको र पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको उनको भनाइ छ । भट्टराईले मधेश प्रदेशमा पार्टीलाई पुगेको एकपछि अर्को धक्काका बारेमा गम्भीर समीक्षा हुनुपर्ने पनि बताएका छन् ।

‘प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ,’ भट्टराईले लेखेका छन्, ‘राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ? मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ ।’

प्रकाशित मिति: ५ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com