धरान

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार कृति विमल गुरुङ कृति पुरस्कारकालागि उत्कृष्ट १० छनौट गरेको छ ।

पुस्तकालयमा प्राप्त भएका १०४ कृतिहरु मध्येबाट उत्कृष्ट १० कृतिहरु चयन गरिएको हो । उत्कृष्ट १० कृतिहरु मध्ये एक श्रेष्ठ कृतिलाई ताम्रपत्रसहित नगद २ लाख रुपैया पुरस्कार स्वरूप प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णवहादर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आगामी कात्तिक १९ गते धरान–१८ स्थित बुद्धचोकमा रहेको पुस्तकालयको आफ्नै भवनमा कवि विमल गुरुङको ५४ औं जन्मजयन्ती तथा ३४ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ ।

विमल गुरुङ कृति पुरस्कारका लागि छनौट भएका कृतिहरु

डायस्पोराः अवधारणा र अभ्यास (रक्ष राई), रातो नदी (जुनु राना), डोलीभर्ना (डा. चित्र माबो), सिमसारा (बसन्त बस्नेत), काचको पोखरी (टीका भाइ), नातिपुस्ताको खेल (कृष्ण बराल), मोहोर (सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा (सुरज राना), कोइलाखाद (श्याम सिंघक), र गण्डाकी प्रदेशका गुरुङ जातिका सामाजिक-सांस्कृतिक लोकनाच र लोकबाजाहरुको अध्ययन (तेज बहादुर गुरुङ) रहेका छन् ।

यसअघि विमल गुरुङ कृति पुरस्कार प्राप्त गर्ने कृतिहरुमा नरेश काङ्माङको कविता संग्रह तेप्लायु, विजय कैलाशी राईको आख्यान मित्याङ्सा, चन्द्र गुरुङको कविता संग्रह जव एउटा मान्छे हराउछ, र प्रकाश थाम्सुहाङको निबन्ध संग्रह शब्दथुम रहेका छन् ।

राष्ट्रिय कविता महोत्सवकालागि १० कविता छनौट

स्वदेश र विदेशका कविहरुबाट प्राप्त ९० कविताहरु मध्ये उत्कृष्ट १० कविता पनि छनौट गरिएको छ । छनौट भएका कविताहरुमा निम्नलिखित रहेका छन्:

  • छातिभित्र पृथ्वी (रिजन मायालु, इलाम)
  • भूपरिवेष्ठित चेतना (राजु उवरकोटी, दोलखा)
  • संग्रहालयमा थन्किएको खापसियो (दीपा मग्राती, सुनसरी)
  • पसिनाको सौन्दर्य (किशन पौडेल, हेटौडा)
  • अभिशप्त जिन्दगी (बाबुराम श्रेष्ठ, सिन्धुली)
  • रातो रङ्ग (आरती आचार्य, म्याग्दी)
  • सपनाहरुको आँखाबाट (याम मगर, रोल्पा)
  • फर्किन्छु अब देश (विनेश राई मिन्जाई, सुनसरी)
  • दिशाहीन समयको प्रेतात्मा (सून्य नयन, गोरखा)
  • देशको ठेगाना (शुचरा, खोटाङ)

उत्कृष्ट १० कविताहरु मध्ये प्रथम पुरस्कार प्राप्त गर्नेलाई प्रमाणपत्र, स्वर्णपदकसहित नगद २१ हजार रुपैया, द्धितीयलाई प्रमाणपत्र, रजतपदकसहित नगद १९ हजार रुपैया, र तृतीयलाई प्रमाणपत्र, कास्यपदकसहित नगद १८ हजार रुपैया प्रदान गरिने राष्ट्रिय कविता महोत्सव आयोजक समितिले जनाएको छ ।

काठमाण्डौबाट प्रकाशित हुने दृष्टी साप्ताहिकमा पत्रकारिता गर्दै सशक्त कविता लेख्नमा सक्रिय रहेका कवि विमल गुरुङ २०४८ सालको बैशाख २४ गते धादिङको जुकेपानीमा सवारी दुर्घटनामा परि मृत्यु भएका थिए । उनका तीन कविता संग्रहहरु एक किलो जंगलआत्मघोषणा, र शहरको प्रगाढ मौनता प्रकाशित छन् । कवि विमलको देहावसान पछि उनका पिता, ब्रिटिश गोर्खा लाहुरे बाबु पूर्णवहादर गुरुङ र परिवारले ०४९ सालमा धरानको बुद्धचोकमा जग्गा खरिद गरेर दुई तले पक्की भवन निर्माण गरी विमलको स्मृतिमा सार्वजनिक पुस्तकालय सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com