कुवेत । नेपालमा हालै गएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कुवेतमा क्रियाशील किरात याक्थुङ चुम्लुङले आर्थिक सहयोग गरेको छ ।
कुवेतमा बसोबास गर्ने याक्थुङ लिम्बू समुदायका दाजुभाइ तथा दिदीबहिनीबाट एक साताको अवधिमा सङ्कलन गरिएको रु. १ लाख १ हजार १ सय ११ सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एकमुष्ट जम्मा गरिएको संस्थाले जनाएको छ ।
विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विपद्बाट प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनाको कामना गरेको छ ।
सहयोगबारे जानकारी दिँदै संस्थाका प्रतिनिधिले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु मानवीय तथा सामाजिक उत्तरदायित्व भएको बताए । “प्रकृतिसँग लड्ने हाम्रो क्षमता सीमित भए पनि विपत्तिमा परेकालाई साथ दिने मानवीय भावना र हाम्रो एकता असीमित छ,” उनले भने ।
प्रवासमा रहे पनि मातृभूमिप्रतिको सम्बन्ध र जिम्मेवारीलाई आत्मसात् गर्दै सहयोग गरिएको संस्थाले जनाएको छ । “संसारको जुनसुकै कुनामा रहे पनि हाम्रो मन मातृभूमि नेपालसँगै जोडिएको छ । नेपाल दुख्दा प्रवासमा रहेका हामी सबैको मन दुख्छ,” संस्थाका प्रतिनिधिले भने ।
संस्थाका अनुसार उक्त सहयोग कुनै व्यक्तिगत स्वार्थ वा प्रचार–प्रसारका लागि नभई मानवीय भावना, सामाजिक उत्तरदायित्व र स्वेच्छिक सहभागितामा गरिएको सानो प्रयास हो ।
विपद्बाट प्रभावित नेपालीको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्नु प्रवासमा रहेका नेपालीको पनि साझा जिम्मेवारी भएको किरात याक्थुङ चुम्लुङ, कुवेतले जनाएको छ ।
प्रकाशित मिति: २० भदौ २०८३, शनिबार

प्रतिक्रिया