निर्देशक खतिवडाले ११ वर्षअघि यही नाटकमार्फत आफूले अभिनेताका रूपमा रङ्गमञ्चमा पाइला टेकेको बताए। त्यतिबेला नाटकको संवाद र चेतनाले आफूलाई गहिरोसँग प्रभावित गरेको स्मरण गर्दै उनले लामो रङ्गयात्रापछि यही नाटकलाई निर्देशनका रूपमा प्रस्तुत गर्न पाउँदा विशेष अनुभूति भएको बताएका छन् ।
२६- साउन काठमाडौं । ११ वर्षअघि अभिनेताका रूपमा रङ्गमञ्चमा प्रवेश गरेका सुदीप खतिवडा अहिले निर्देशकका रूपमा ‘द एज अफ डार्कनेस’ नाटक लिएर रङ्गमञ्चमा फर्किएका छन् ।
धर्मवीर भारतीद्वारा सन् १९५४ मा लिखित काव्य–नाटक ‘अन्धा–युग’को मूल चेतना र कथावस्तुमा आधारित ‘द एज अफ डार्कनेस’ महाभारतको १८ दिने युद्धपछिको विनाश, शोक, प्रतिशोध र मानवीय निराशालाई केन्द्रमा राखेर तयार गरिएको हो । नाटकमा युद्धपछि उत्पन्न नैतिक संकट, विवेकको क्षय र हिंसाको परिणामलाई प्रस्तुत गरिएको छ। धृतराष्ट्रको मोहान्धता, गान्धारीको पुत्रशोक तथा अश्वत्थामाको प्रतिशोधमार्फत युद्धमा जित्ने र हार्ने दुवै पक्ष अन्ततः पराजित हुने अवस्थालाई नाटकले देखाउन खोजेको छ ।

नाटकको नेपाली रूपान्तरण राजेन्द्र शलभले गरेका हुन् भने निर्देशन सुदीप खतिवडाको रहेको छ । निर्देशक खतिवडाले ११ वर्षअघि यही नाटकमार्फत आफूले अभिनेताका रूपमा रङ्गमञ्चमा पाइला टेकेको बताए। त्यतिबेला नाटकको संवाद र चेतनाले आफूलाई गहिरोसँग प्रभावित गरेको स्मरण गर्दै उनले लामो रङ्गयात्रापछि यही नाटकलाई निर्देशनका रूपमा प्रस्तुत गर्न पाउँदा विशेष अनुभूति भएको बताएका छन्।
ठूलो कलाकार टोलीसँग काम गरेको यो आफ्नो पहिलो अनुभव भएको उल्लेख गर्दै खतिवडाले रङ्गमञ्चमा विशाल टोलीमार्फत कथा प्रस्तुत गर्नु आफैँमा फरक अनुभव भएको बताए। उनले नाटकमा आफूले सिकेका, भोगेका र अनुभव गरेका विषयलाई समेटेको बताउँदै दर्शकको रचनात्मक प्रतिक्रियाबाट अझै सिक्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नाटकमा आरती बरुवाल, मिलन पन्त, नित्य पौडेल, अविशेक खतिवडा, विश्वजित ढकाल, इन्द्रकुमार राई, घमन शाही, सौगन श्रेष्ठ, विजय दोङ, सुजता राई, सुजित मल्ल ठकुरी, आभूषण घिमिरे, जिन्लब बोम्जन, जोहेब शाह, सामना राई, राजु श्रेष्ठ, मनुमित लेप्चा, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सबिना चौधरी, सम्पदा लकन्द्री, राजाराम गौतम, कमल रेग्मी र सुजल कोइरालालगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक खतिवडाले मण्डला थिएटर ल्याब–५ मा आफूसँग मञ्च साझा गरेका विद्यार्थी तथा निर्देशकहरूलाई स्मरण गर्दै नाटक निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

प्रतिक्रिया