नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी चलचित्र निर्माण भइसकेका छन् ।

जेठ १४ काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३” आगामी जेठ १७ देखि १९ गतेसम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ ।
महोत्सवले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, इतिहास, लोकज्ञान तथा सामुदायिक अस्तित्वलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।


महोत्सवका निर्देशक सागर केरुङका अनुसार कार्यक्रम केवल चलचित्र प्रदर्शनमा सीमित नभई आदिवासी समुदायको सांस्कृतिक पहिचान, भाषिक पुनर्जागरण, आत्म–प्रतिनिधित्व तथा वैकल्पिक ज्ञान प्रणालीको संरक्षण र प्रवर्द्धनसँग जोडिएको अभियान हो । उनले विश्वव्यापी रूपमा आदिवासी चलचित्रलाई सभ्यता, स्मृति, प्रतिरोध र सांस्कृतिक अस्तित्वको दस्तावेजका रूपमा हेरिन थालेको बताए ।
नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी चलचित्र निर्माण भइसकेका छन् । पछिल्लो समय निर्माण भइरहेका चलचित्रहरूले मातृभाषा, भू–सम्बन्ध, पूर्वज स्मृति, लोकसंस्कृति तथा सामुदायिक जीवनलाई केन्द्रमा राख्दै आदिवासी सिनेमाको पृथक सौन्दर्यशास्त्र विकास गरिरहेको आयोजकको भनाइ छ ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायसँग सम्बन्धित कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।


कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ” तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ ।
त्यसैगरी लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, परशुराम चौधरी निर्देशित “जाइछै सौसरा”, बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् ।
वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री, छायांकन, प्रोत्साहन पुरस्कार र जुरी अवार्ड प्रदान गरिनेछ ।


आयोजकले महोत्सवलाई नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने अवसरका रूपमा लिएको जनाएको छ । साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद र सहकार्य विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।
महोत्सवको सफलताका लागि सहयोग पुर्‍याउने चलचित्रकर्मी, सञ्चारमाध्यम, साझेदार संस्था तथा सरोकारवालाप्रति आयोजकले आभार व्यक्त गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई प्रचार–प्रसार तथा सहभागिताका लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com