१९ – वैशाख काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ। चैत महिनामा मात्रै १ अर्ब ६० करोड ६८ लाख ४७ हजार रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए। उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा १ अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ, भदौमा १ अर्ब ३६ करोड ४४ लाख ३९ हजार रुपैयाँ, असोजमा १ अर्ब ५२ करोड २४ लाख ९१ हजार रुपैयाँ र कात्तिकमा १ अर्ब ३० करोड ८१ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
त्यसैगरी, मङ्सिरमा १ अर्ब ३६ करोड ७४ हजार रुपैयाँ, पुसमा १ अर्ब ५८ करोड ८९ लाख २४ हजार रुपैयाँ, माघमा १ अर्ब ४७ करोड ८८ लाख ५७ हजार रुपैयाँ र फागुनमा १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ।
-रासस
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

प्रतिक्रिया