काठमाडौँ – लिम्बू भाषाको नयाँ गीत ‘सिक्कुम’ को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौँस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा सार्वजनिक रूपमा गीत रेकर्ड गरिएको हो ।
गीतमा सागर केरुङको शब्द तथा सुरज मादेनको संगीत रहेको छ भने सन्जु लिम्बू र सुरज मादेनले स्वर दिएका छन् । ‘याक्थुङ फिल्मस् प्रा.लि.’ले निर्माण गरेको उक्त गीतलाई मोनी ताम्लिङले एरेन्ज गरेका हुन् ।
उक्त गीत निर्माणाधीन लिम्बू चलचित्रको प्रयोजनका लागि तयार पारिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको स्क्रिप्ट लेखन कार्यमा सक्रिय लेखक तथा निर्देशक सागर केरुङका अनुसार चलचित्रको शीर्षक भने औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ ।
निर्माण टिमका अनुसार चलचित्र वि.सं. २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साथै चलचित्रको औपचारिक घोषणा केही दिनभित्रै गरिने जानकारी पनि दिइएको छ ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया